ताजा अपडेट »

मानव जीवन र धर्म

विहीबार, ११ भदौ २०७७, २० : ३५
172 Shares

विश्व एक्काइसौं शताब्दीमा प्रवेश गरेको छ । यहाँसम्म आइपुग्दा विज्ञानले धेरै फड्को मारेको छ, मानिसले यानहरुको विकास गरेर चन्द्रमा सहितका ग्रहहरुमा भ्रमण गरेको समाचार पनि हामीले पाउने गरेका छौं । विद्यालय, क्याम्पस र विश्व विद्यालयहरुमा अङ्ग्रेजी भाषा पढाइन्छ, ज्ञान विज्ञानका कुरा पढाइन्छ । डार्विनको दर्शन पनि त्यहाँ पढाइन्छ, पृथ्वी कसरी बन्यो, मानिस कसरी बन्यो, अन्य जिवहरु कसरी बनेका थिए भन्ने कुरा पनि त्यहाँ पढाइन्छ अर्थात भौतिक जगतको बारेमा हामिले थुप्रै अध्ययन गरेका छौं । आवश्यक परेमा हामी मध्येका कैयौंले भौतिक जगतको बारेमा घण्टौ प्रवचन पनि गर्न सक्दछौं ।

जब हामी व्यवहार तिर फर्कन्छौं, सामाजिक जगतमा आइपुग्दछौं । त्यतिबेला अहिलेसम्म मानवजातिले प्राप्त गरेको ज्ञान र अनुभव, हामी विद्यालयहरुमा पढाइरहेको ज्ञान आफ्नै जीवन व्यवहारमा कार्यान्ययन गर्न सक्दैनौं । त्यतिबेला सामाजिक बन्धन र सांस्कृतिक परिवन्दले गर्दा हामिले अग्रगमनको बाटो रोज्न सक्दैनौं । एक्काइसौं शताब्दिको भौतिक जगत र सत्रौं शताब्दिको हाम्रो संस्कृती तथा सामाजिक परिवन्द बिचको अन्तरविरोध नै अहिलेको मुख्य समस्या बनेर उभिएको छ। दुनियाँ सबै जानकार छ कि स्वर्ग र नर्क, प्रेतलोक र पितृलोक, यमराज र धर्मराज , ब्रह्मा, विष्णु र महेश, ओर्लोक र परलोक, देव र दानव, भगवान र राक्षस, यी सबै काल्पनिक कुराहरु मात्र हुन । यी कुरामा कुनै सत्यता छैन भन्ने कुरा पनि मान्छेले बुझिसकेको छ, तर सामाजिक र सांस्कृतिक बन्धनहरु यति बलवान छन कि मानिस त्यहाँबाट निस्कन सक्दैन ।

यदि मानिसलाई भगवानमा साँच्चै नै विश्वास हुन्थ्यो, स्वर्ग र नर्कमा विश्वास हुन्थ्यो, पापकर्म र पुण्यकर्ममा विश्वास हुन्थ्यो भने संसारमा कहि कतै चोरी हुने थिएन, कतै डकैतिका घटना सुन्न पर्ने थिएन । बलात्कारका घटना घट्ने थिएनन्, अर्काकी छोरी श्रीमति माथी कसैले आँखा लगाउने थिएन, कसैले ढाँट, छलकपट र बेइमानी पनि गर्ने थिएन, दुधमा पानी, पेट्रोलमा मट्टीतेल, दाल चामलमा डुङ्गा मिसाउने काम पनि कसैले गर्ने थिएन । साँच्चै नै मलाई यमराजले लैजान्छ भन्ने मान्छेलाई विश्वास भएको भए भाइले भाइ मार्ने थिएन, नेताले राष्ट्रघात गर्ने थिएन । हाकिमले घुस खाने थिएन, मान्छेले मान्छे मार्ने थिएन । पण्डितले यजमान ठग्ने थिएन, अस्पतालले बिरामी ठग्ने थिएन । कार्यलयमा घुसखोरी चल्ने थिएन, चारधामका तिर्थहरुमा गएर पण्डाहरुबाट लुटिन पर्ने थिएन । आसाराम जी बलात्कारको केसमा जेल जान पर्ने थिएन ।

रामरहिमले मन्दिर भित्रै हनिप्रितसगँ रासलिला गर्न डर मानेका हुन्थे । विश्वमा धनी र गरिबबिचको यति ठुलो खाडल पनि हुने थिएन । समग्रमा भन्नुपर्दा मान्छेले मान्छेलाई शोषण, दमन, उत्पिडन, लुटपाट केही गर्ने थिएन । उसलाई विश्वास भएको भए यमराजको पासोमा परेर नर्कलोकका विभिन्न यातनाहरु (जो पुराणहरुमा उल्लेख गरिएको छ) भोग्नको लागि मानिस तयार हुने थिएन । यदि मानिसले काल्पनिक नै सही विश्वास गरेको भए मानवजाति साँच्चैको सत्ययुगमा हुन्थ्यो, जहाँ अड्डा, अदालत, सेना, पुलिस, सरकार, राज्य भन्ने कुरा केही पनि चाहिदैनथ्यो किनकी मान्छेले यमराजको त्रासले गल्ती नै गर्ने थिएन । मृत्यु पछिका यमराजको डण्डाले मानिसका मन मस्तिष्कमा डर पैदा गर्न सकेन ।

त्यसैले यसै लोकमा आचरण, नैतिकता, सदाचार, सामाजिक अस्तित्व जीवन बारेको बुझाइबाट आत्मानुशासनको चेतबाट मात्र दानविय स्वभावबाट मानिसलाई मानविय स्वभावमा राख्ने कुरा हो भने कुन राज्यको चिन्तन प्रणाली कस्तो छ भन्ने कुराले पनि त्यस देशको समाज कस्तो छ भन्ने कुराको निर्धारण हुने गर्दछ । साथै मानव चेतनाको विकास क्रममा उत्पादन प्रणालिको पनि त्यत्तिकै भुमिका रहेको छ । एउटै मानवजाती स्विजरल्याण्डको फरक छ, युरोप अमेरिकाको फरक छ, अरब मुलुकको फरक छ, नेपाल भारत पाकिस्तानको फरक छ । यो फरक हुनुको पछाडी त्यहाँको राज्य व्यवस्थाले मान्छेलाई कतातिर रुपान्तरित गर्यो । उसले नैतिक शिक्षालाई कसरी सम्प्रेषण ग¥यो, राज्यका कानूनका आधारहरु कसरी लागू गर्यो, उत्पादन प्रणालिको कसरी विकास भयो।यहि आधारमा त्यहाँको मानव समाजको चेतना बन्दै गएको साँचो हो ।

संसार भरीका भगवान बस्ने भनेर बनाइएका ठुला ठुला मन्दिरहरु, मस्जिदहरु, ठुला ठुला चर्चहरु, गुरुद्वाराहरु, गुम्बाहरु, भगवानका ठुलाठुला मुर्तिहरु सबै मानिसले नै बनाएका हुन । हाम्रो हृदयमा साच्चै नै इश्वरले बास गरेको भए हामी भित्रको दानविय प्रवृतिलाई अधिनमा राख्ने थियो र कुमार्ग या भनौं गलत बाटोमा हामिलाइ लाग्न दिने थिएन । यदि साच्चै नै इश्वर सार्वभौम, जगतब्यापी र विश्व ब्रह्माण्डका सबै घटनाक्रमहरुको सूक्ष्म जानकार भइदिएको भए विश्व ब्रह्माण्ड यति अस्तब्यस्त, यति धेरै बेथिती, भद्रगोल, हत्या, डकैती, बलात्कार र लुटपाट हुने नै थिएन । यदि साच्चै त्यस्तो भइदिएको भए इराक र अफगानिस्तानमा बमको वर्षा गराएर मानव हत्या गर्ने अमेरिका निर्मित सबै क्षेप्यास्त्रहरु पड्कने नै थिएनन । निर्मला पन्तको बलात्कार भइरहदा दयालु इश्वर टुलुटुलु हेरेर बस्ने थिएन । बलात्कारिहरु सबै नपुंशकमा परिणत हुने थिए । ‘विश्वक्रमा भगवान’ का सन्ततिहरु माया गरेकै कारण भेरीमा हात खुट्टा बाँधेर फ्याकिदिँदा इश्वरले हेरिरहन सक्ने थिएनन । केदारनाथमा भगवान भेट्न हिडेका यात्रीहरु बस पल्टेर बिचमै मर्नु पर्ने थिएन ।

अहिलेसम्मको सबै घटनक्रमको अध्ययनबाट हामी यो निष्कर्षमा पुग्दछौ कि विश्व व्रह्माण्डमा इश्वरले, अल्लाले, यसुले वा दुर्गा माताले वा भगवानले मानवजगतको सृष्टि गरेको होइन बरु त्यस्को ठिक विपरीत मानिसजस्तै पदार्थ कै गर्भबाट इश्वर, अल्ला वा यशुहरु जन्मनु भएको हो । पदार्थको सड्ने गल्ने स्वभावबाट नै जिवाणुहरुको उत्पत्ति हुन्छ भन्ने वैज्ञानिक मान्यताका आधारमा सबै प्राणीहरुको जन्म भएको हो । वहाँहरुका विचार र भावनाहरु पनि समाज विकासको क्रममा अगाडि आएका हुन । मानव जीवनको प्रारम्भमा पातमा, ढुङ्गामा आफ्ना भावनाहरु लेख्दै गर्दा कागजको विकास र प्रिन्टिङ्ग प्रेसको विकास पछि वहाँहरुका भावनाहरु ब्यवस्थित भएर आएका हुन । साँचो र सत्य यो हो कि इश्वर, यशु वा अल्लाद्वारा पदार्थ, विश्व ब्रह्माण्ड वा जिवहरुको उत्पत्ति भएको होइन कि मानिसले नै पछि भगवान र स्वर्ग नर्कको परिकल्पना गरेको हो ।

जतिबेला धर्म बारेको परिकल्पना भयो, त्यस बखत सञ्चार र यातयातको ब्यवस्था नभएकाले संसारभरिको ज्ञान प्राप्त गर्न सम्भव थिएन । सामान्य ज्ञान, अनुभव र बढी कल्पनामा आधारित भावनाहरु पुर्खाले संकलन गर्ने काम गरे । हिन्दु धर्ममा जस्तै चार वेद छन, ती सबै संकलित रचनाहरु नै हुन, पछि वेद ब्यासले कल्पना गरि लेखेका अठार पुराणहरु ब्यक्ती विशेषमा केन्द्रित रहेका छन ।(विष्णु पुराण, नारद पुराण, देवि भागवत, श्रीमद भागवत, ब्रह्मा पुराण, आदि)
पूर्खाहरुको बीचमा पनि मत एकता भएन र भिन्न भिन्न ग्रन्थहरु : हिन्दु धर्म ग्रन्थ, मुस्लिम धर्म ग्रन्थ, क्रिश्चियन धर्म ग्रन्थ, बौद्ध धर्म ग्रन्थ, सिख धर्म ग्रन्थ, जैन धर्म ग्रन्थ आदि भएको हामीले पाउँदछौ । यी ग्रन्थ बन्नुभन्दा पूर्व मानिसहरु धर्ममा विभाजित थिएनन् । किनकी मानव सृष्टिको प्रारम्भमा कुनै धर्म नै थिएन । जातजाती र धर्म समाज विकासको क्रममा विकसित भएर आएका कुराहरु हुन् ।


यी धर्म ग्रन्थ र धार्मिक संस्कारहरु हिन्दु धर्म र मुस्लिम धर्म अरुको तुलनामा पुराना भएकाले यी अलि बढी कट्टर खालका छन । हिन्दु धर्म पछिल्लो चरणमा बढी कट्टर बन्यो किनकी भारतमा औरंगजेव नाम गरेका एकजना मुस्लिम शासक सत्तामा आएपछि उनले हिन्दु धर्मावलम्बिहरुलाइ या त जनै काट्न पर्ने या त देश छाड्न पर्ने भने पछि हाम्रा पुर्खाहरु जनै बचाउनको लागि हिमाचल प्रदेश धर्मशाला हुँदै गडवालको बाटो हुम्ला जुम्ला छिरेका र त्यतैबाट पुर्व आएको इतिहास छ भने भारतमा रहेका हिन्दुहरुले आफ्नो सम्प्रदायलाई बढि संगठित गर्ने उद्देश्यले हिन्दु धर्मलाई बढी कर्मकाण्डि बनाउन पुगे । पछिल्लो चरणमा नेपाली शासकहरुले धर्मलाई समय अनुकुल परिमार्जन गर्न पर्नेमा अझ रुढिवादी र जात विशेषमा लगे र मानव मानवको बिचमा विभेद गर्न पुगे । त्यसैको परिणाम आज हिन्दु धर्म मान्नेहरु भित्रै दलित भनेर अछुतको रुपमा व्यवहार गरिएको छ जस्ले गम्भीर समस्याहरु देखापर्दै गएका छन ।

अहिले हामिले जे जति विज्ञान र दर्शनका कुरा गरे पनि तत्कालै हामिले मानिसको दिमागमा रहेको धार्मिक आस्था, परम्परा, संस्कार र संस्कृतिहरुलाई समय अनुकुल बनाइ हाल्न सक्दैनौं, त्यसैले त्यसभित्रका धेरै नकारात्मक संस्कारहरुलाइ सच्चाउँदै सबैले अपनत्व ग्रहण गर्ने बनाउन प्रयास गरिनुपर्दछ । यस बारेमा खासगरी धार्मिक गुरुहरु, यस बारेका ज्ञाताहरुले छलफल चलाउने, व्यापक मन्थन गर्ने र धर्मसभाको आयोजना गरेर समय अनुकुल बनाउने तिर प्रयास गर्दा धेरै राम्रो हुनेछ । यसको लागि सांस्कृतिक मन्त्रालयले नै आयोजनाको ब्यवस्था गरेर विषयलाई अगाडि बढाउँदा राम्रो हुनेछ ।

धर्मलाई सबैको साझा, भातृत्व, वन्धुत्व, सहभागीतामुलक, सबैले गर्भानुभुति गर्ने, एउटै मन्दिरमा सबै हिन्दुहरुले समान हैसियतमा, सबै भक्तलाई बराबरिको अधिकार दिने वातावरण बनाउँदा समाज कति सुन्दर बन्दो होला ! एउटै धर्म मान्नेहरुबिचको पर्खाल भत्काउनु पर्दछ । यस दिशातर्फ सबै सरोकारवालाहरुको ध्यान जान पर्छ कि ! मैले यसरी सोचें, सबैले यसरी नै सोच्दा कसो होला !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।