ताजा अपडेट »

गाउँको डायरी : गाउँलाई माया गर्नेहरु गाउँमै

विहीबार, ११ भदौ २०७७, १९ : ३०
104 Shares

हाँपुरे भनेपछि धेरैले चिनेजानेको ठाउँ हो । तत्कालीन राज्य पक्षबाट कमल थापा एवम् डा.प्रकाशचन्द्र लोहनी र विद्रोही माओवादीका तर्फबाट डा.बाबुराम भट्टराई एवम् कृष्णबहादुर महराले सोही स्थानमा तेस्रो चरणको शान्ति वार्ता गरेका थिए । वार्ताको सहजीकरण मानव अधिकारकर्मी पद्मरत्न तुलाधर र कानुनविद् दमननाथ ढुंगानाले सम्वत् २०६० मा गरेका हुन् । दाङको बबई गाउँपालिकामा पर्ने हाँपुरे दुबै पक्षका कारण चर्चित ठाउँ रहन पुग्यो । यो सूचना मैले तिनाउ गाउँपालिकामा ससुराली र दाङमा स्थायी घर भई प्रगतिशील लेखनमा कलम चलाउँदै आएका लेखक एवम् कवि प्रमोद धितालबाट सापटी लिएको हुँ ।

आज मैले पाल्पाको तिनाउ गाउँपालिका वडा नं. २ मा रहेको हाँपुर गाउँका बारेमा चिनारी गराउँदैछु । हाँपुरे माया र महाँपुरे कृष्ण भनेर धेरैले चिन्छन् । हाँपुर र महाँपुर गाउँ ऐना र अनुहार जस्तै हुन् । माया थापा सामाजिक अभियन्ता हुन् भने कृष्ण खड्का शिक्षक । कहिलेकहिले व्यक्तिका कारण गाउँ प्रख्यात हुने गर्दो रहेछ । गाउँबाट २५ घरधूरीमध्ये चारघर परिवार ( सिर्जना,खगीसरा,निरु र परशुराम) बसाइँ सरिसकेका छन् । १६ घरधूरीमा मगरजाति,चार घरधूरीमा क्षेत्री र एक घरपरिवार दलितजाति छन् । केरा, बेलौती, नास्पाति, अमिलो, कागती, उखुँ, लिची खेती प्रचूरमात्रामा हुने गर्छन् । गाउँका पाकापुराना ८७ वर्षीय प्रेमकुमार थापाले लिचिमात्र बेचेर वर्षमा लाख रुपैयाँ बढी कमाउँछन् । गाउँमै खरीद गर्न व्यापारीहरु पुग्दा रहेछन् । उनले यसापालिमात्र केराबाट आधा लाख र कागतीबाट ३० हजारजति आर्जन गरेका रहेछन् । करिव १५ रोपनीमा त फलफूल बर्गैचामात्रै छ ।

स्थानीय उत्पादन लिचि

सुमद्री सतहदेखि साढे सातसय मीटर उचाईमा रहेको हाँपुरको डाँडा उच्च समस्थली स्थल हो । सरर हावा चल्छ । हेर्दै मनमोहक ठाउँ । प्रेमकुमारको बगैँचामा पसेपछि धेरै जातका फलफूलका बोट देखिन्छन् । बाग्लुङ्गको थनथाप गाउँबाट उनी २०१८ सालमा यही हाँपुर गाउँमा बसाइँ सरेर आएका थिए । सुरुमा उनले आफ्नो जमीनमा सुन्तला लगाएका थिए । करिव २० वर्षवजति अति नै फल्यो तर अहिले सुन्तलाका नयाँ बोटहरु लगाएका छैनन् । उनलाई धेरैले घडीवाल बाजे भनेपछि चिन्दछन् । उनले नै सबैभन्दा पहिला सो गाउँमा घडी बाँधेका रहेछन् । गाउँमा बाटो नपुग्दा उनले कुचुप्पै फलफूल बोकेर बटौली बजार बेच्न पुग्दा रहेछन् । गाउँ सानो र जनसंख्या पनि थोरै छ । गाउँलेहरुले दशैं,तिहार,श्रीपञ्चमी,माघेसंक्रान्ति मनाउने गर्छन् । तिहारमा स्थानीय युवाहरुले देउसी भैलो खेल्छन् ।

केराखेती

यही गाउँबाट विहे भई तराई झरेकी चेली हरिकला थापाले फूल बुकीको लोकगीत र आधुनिक गीतको एल्वम निकालेकी छन् । गाउँका सातजना युवाहरु भारत धसिएका छन् कामको खोजीमा । छ जना खाडीमुलुक पसेका छन् । गाउँमा खेतीकिसानी गरेर बाह्रै महिना पुग्नेहरु एउटा हातका औंला जति पनि छैनन् । उत्पादित धान, मकै, कोदो, तोरी, जौं र गहुँले पालिन सकस छ । तत्कालीन दोभान गाविसमा रहेको महिला सञ्जाल र गाउँ विकास कार्यक्रमको आर्थिक सहयोगमा उक्त गाउँमा दिदीबहिनीहरुले बाख्रापालन थालेका थिए । व्यवसायिक बाख्रापालनतर्फ पूर्णबहादुर सार्की,नारायण घर्ती,टेककुमारी रास्कोटी र भीमकला खडका अग्रसर भएका छन् । बाख्रापालनबाट परिवार धान्न लगभग सक्ने भएका छन् अचेल उनीहरु ।

वनजंगल सफाइमा स्थानीय वन उपभोक्ता

बंदेल कुर्न कटेरा बनाएर बस्नुपर्ने बाध्यता छ । सामाजिक अभियन्ता माया थापा भन्दैथिइन्–गाउँका बाजेबज्यै अस्थायीरुपमा बनाइएका कटेरामा दिनरात पहरा दिएर धान,कोदो र मकै जोगाउने काम गर्छन् । कृषि वीमा गर्न नसक्दाको पीडा हो यो । गाउँमा सामुदायिक वन जोगाउन थालेपछि वन्यजन्तुहरु बढेको बताउँदै थिए टुंडीखेल सावउसका अध्यक्ष धनबहादुर रास्कोटीले । आफ्नो सामुदायिक वनमा कालीज, लुँइचे, राते, घोरल, बँदेल, दुम्सीहरुरुमात्र होइन मयुर नाच्ने गरेको सोही वनकी पूर्वअध्यक्ष माया थापाले सुनाइन् । स्थानीय वनमा अनेक थरिका जडीबुटीहरु छन् । स्थानीय महिलाहरु विहानै घाँस काट्न जान्छन् । दिउँसो बस्तुभाउ चराउने गर्छन् । लोकल र ब्रोईलर कुखुरापालनमा ध्यान दिन थालेका छन् ।

स्थानीय सामुदायिक वन, डढेलाे नियन्त्रण आमसभामा

कुटानी पिसानीका लागि गाउँमा नारायण घर्तीको एउटा टुकटुके मील छ । बोमकला घर्तीले किराना पसल थापेकी छन् । गाउँमा विजुलीबत्ती पुगेको छ । तीन पहारेभीर देउरालीबाट तल टंकी बनाएर गाउँमा पानी वितरण भएको छ । सिंचाइका लागि पानीको खासै स्रोत नभएको हुँदा आकासको भर नै हो भन्दैथिए प्रेमकुमार बा । गाउँमा जम्माजम्मी सय जनसंख्या होला । गाउँका सबै घरमा कर्कटपाताले छाइएका छन् । विजुलीको मीटर खरिद र वायरिङ्ग गर्दिने काम स्थानीय टुंडीखेल सामुदायिक वनले नै गरेको थियो । त्यतिमात्र होइन गाउँसम्म बाटो खन्ने,विजुली ल्याउने,पानी टंकी बनाउने,चर्पी निर्माणमा सहयोग गर्ने र स्कूल पढ्ने बालबालिकाहरुलाई छात्रवृत्ति दिने काम सामुदायिक वनले नै गरेको थाहा भयो ।

स्थानीयहरुका बस्तुभाउ

वनका पूर्वअध्यक्ष डिलबहादुर रास्कोटीका पालामा वन,वातावरण र जैविक विविधता संरक्षण सम्बन्धी हुने औपचारिक कार्यक्रमहरुमा तिनाउ सव–डिभिजन वन कार्यालय,दोभानका कार्यालय प्रमुख चन्द्रबहादुर भाटसँगै हामी पनि पुग्ने गथ्यौं । गाउँ नजिकै महाँपुर फाँट छ । यो सीमसार क्षेत्र हो । करिव १२/१३ घरका दुईसय रोपनी जति जग्गामा फैलिएको उक्त सीमसार क्षेत्रलाई कृत्रिम ताल बनाएर डुंगा सञ्चालन गर्न सक्ने हो भने हरियाली गाउँ, नुवाकोट, हाँपुर, महाँपुर क्षेत्रको पर्यटन प्रवद्र्धनमा जोड पुग्ने छ । स्थानीयहरुले रोजगार पाउने छन् । सानोतिनो चिया पसल चल्ने छ । खाजा,खाना र बस्नका लागि होमस्टे सञ्चालनमा आउन सक्ने छन् ।

महाँपुर सीमसार क्षेत्र, जहाँ कृत्रिम ताल बनाएर डुंगा चलाउन सकिन्छ

स्थानीय उत्पादनले बढवा पाउन सक्ने छ । तिनाउ सरकारले समयमै यस क्षेत्रको एकीकृत विकासमा जोड दिन सकेमा स्थानीयहरु रोजगारमुखी हुने छन् । बुटवल, नुवाकोट, ओखलढुंगा, तीनहले, हाँपुरहुँदै पुग्न सकिने यी क्षेत्रमा अहिले रहेको कच्चीमोटर बाटोचाँहि पर्यटन मार्गका रुपमा दर्ज हुने भएकै कारण छिटै ग्राभेल वा पिच हुन सक्ने सम्भवना बढेर जाने छ । खासगरी हाँपुर गाउँ कृषि पर्यटनको हब बन्ने सम्भावित स्थल हो । बसाइँ सर्ने,रोजगारीको खोजीमा भारत लगायत तेस्रो मुलुक पुग्ने युवाहरु फेरि आफ्नै गाउँमा फर्किने छन् ।

गाउँको मुहार उज्यालो बनाउन उनीहरुको उल्लेखनीय भूमिका हुने छ । गाउँलाई माया गर्नेहरु गाउँमै हुने छन् । विकास निर्माणमा आफ्ना पाखुरी बजार्ने छन् । घरपरिवारसँगै सुखका आँटोपिठो खाने छन् । आफ्नै दैलामा आफैले समृद्धि देख्न सक्नेछन् । समृद्ध तिनाउ,सुखी तिनाउबासीको सपना छिट्टै पूरा हुन सक्ने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।