ताजा अपडेट »

पर्यटकीयस्थल बन्दै कपासेभञ्ज्याङ

बुधबार, १० भदौ २०७७, १५ : ४५
20 Shares


खोटाङ । मन लोभ्याउने गन्तव्य भएपनि प्रचारप्रसार नहुँदा पर्यटकीयस्थल कपासेभञ्ज्याङमा बाह्य पर्यटकको आवागमन प्रायः शून्य बनेको छ । खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखा र भोजपुरको टेम्के मैयुङ गाउँपालिका–९ लेखर्कको सिमानामा पर्ने कपासेभञ्ज्याङमा फाट्टफुट्ट पर्यटक आउने गरे पनि यसको प्रचारप्रसार हुन नसक्दा बाह्य पर्यटकको आवागमन प्रायः शून्य बनेको हो ।

पछिल्लो समय पर्यटन प्रवद्र्धनका लागि यहाँ भौतिक संरचना निर्माण कार्यलाई तीव्रगतिमा अगाडि बढाइएको छ । कपासेभञ्ज्याङलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न खोटाङको खोटेहाङ गाउँपालिका र भोजपुरको टेम्के मैयुङ गाउँपालिकाले संयुक्त रुपमा गुरुयोजना बनाएर अगाडि बढेको छ । आवश्यक भौतिक संरचना निर्माणका लागि प्रदेश र सङ्घीय सरकारले समेत लगानी गरेका छन् । प्राकृतिक रुपमै पर्यटकीयस्थल रहेको कपासेभञ्ज्याङको समग्र विकासका लागि खोटाङका साने विश्वकर्माको नेतृत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ । ‘सेल्मे–कपासे–हलहले पर्यटन प्रवद्र्धन समिति’ नाम दिइएको उक्त समितिले अहिले भौतिक पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको पाइएको छ ।

किराँती समुदायको साकेला चाड उधौली/उभौली तथा साउने सङ्क्रान्तिको भोलिपल्ट राँके मेलासमेत लाग्ने कपासेभञ्ज्याङमा स्थानीय बासिन्दाको आफ्नै लगानीमा ८७ घरपरिवार अट्ने एकीकृत बस्ती निर्माणाधीन छ । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्ने कपासेभञ्ज्याङलाई प्रवद्र्धन गर्दै बाह्य पर्यटकसमेत भित्र्याएर आर्थिक उपार्जनको माध्यम बनाउने उद्देश्यले भौतिक पूर्वाधार निर्माणको कामलाई तीव्रगतिमा अगाडि बढाइएको स्थानीय अभियान्ता रुपेन राईले बताउनुभयो ।

बहुउद्देश्यीय पर्यटन पार्क (उद्यान) निर्माण गर्ने उद्देश्यले काम थालिएको कपासेभञ्ज्याङमा गत वर्ष पर्यटन मन्त्रालय र एक नम्बर प्रदेश सरकारबाट रु २०/२० लाख बजेट विनियोजन भएको थियो । खोटेहाङ गाउँपालिका र टेम्के मैयुङ गाउँपालिकाले गत वर्ष सडक निर्माण, खानेपानी, बजार व्यवस्थापन, खेलमैदान तथा पोखरी निर्माण लगायतमा बजेट विनियोजन गरेको थियो ।

नेपालका १६ जना राष्ट्रिय विभूतीको शालिक राख्नेगरि निर्माण शुरु गरिएको पर्यटन पार्क सि आकारको हुने पर्यटन प्रवद्र्धन समितिले जनाएको छ । स्थानीय बासिन्दाले तीनधारे समेत भनेर चिन्ने उक्त स्थानमा टेम्के मैयुङ गाउँपालिकाको लगानीमा सुम्निमा ‘पारुहाङ पार्क’समेत निर्माण भइरहेको अभियान्ता राईले बताउनुभयो । करीब तीन हजार रोपनी क्षेत्रफल ओगटेको सार्वजनिक जग्गामा अल्लो प्रशोधन केन्द्र र आलु भण्डारण गृहसमेत निर्माणाधीन अवस्थामा छ । कृषि ज्ञान केन्द्र खोटाङले समन्वयमा बहुवर्षीय योजनाअन्र्तगत प्रदेश सरकारबाट प्राप्त बजेटमार्फत आलु भण्डारण गृहको काम भइरहेको जनाइएको छ ।

गत वर्षदेखि प्रवद्र्धनको काम थालिएको उक्त ठाउँमा भोजपुरको टिटिएस सहकारी संस्थासँगको सहकार्यमा यस वर्ष करिब पन्ध्र हजार चियाको बिरुवासमेत रोपिएको छ । टिटिएस सहकारी संस्थाले निःशुल्क उपलब्ध गराएको चियाको बिरुवा स्थानीय बासिन्दाको सक्रियतामा पच्चीस रोपनी खाली जग्गामा लगाइएको हो ।

कपासेभञ्ज्यालाई नेपाल सरकारले तोकेको १०० वटा गन्तव्यमा पर्ने मुन्धुम ट्रेलसँग जोड्नेगरी गाउँपालिकाले योजना बनाइएको टेम्के मैयुङ गाउँपालिकाका अध्यक्ष ध्रुवकुमार राईले बताउनुभयो । “प्राकृतिक रुपमै पर्यटकीयस्थलको रुपमा रहेको कपासेभञ्ज्याङ बिगतदेखि नै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ”, उहाँले भन्नुभयो, “आगामी दिनमा कपासेभञ्ज्याङलाई मुन्धुम ट्रेलसँग जोडेर भोजपुरबाट सगरमाथासम्मको पदमार्ग निर्माण गर्ने योजना बनाएका छौँ ।”

कपासेभञ्ज्याङलाई प्रमुख पर्यटकीयस्थलको रुपमा विकास गर्ने योजनाका साथ आसपासको क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीयस्थलहरुको समेत प्रवद्र्धन गर्ने काम भइरहेको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताउनुभयो । “कपासेभञ्ज्याङलाई बहुउद्देश्यीय क्षेत्रका रुपमा विकास गर्ने अवधारण बनाएका छौँ”, उहाँले भन्नुभयो, “दुई वटा स्थानीय तहको मात्रै लगानीले प्रयाप्त नहुने भएकाले प्रदेश र सङ्घीय सरकारसमक्ष समेत आवश्यक बजेटको माग गरिएको छ ।”

“यहाँका प्राकृतिक सम्पदा आयस्रोतका माध्यमका रुपमा उपयोग गर्न नसकिएको अध्यक्ष प्रदीप राईले बताउनुभयो । “प्रचारप्रसार र भौतिक संरचना नहुनु यहाँका मुख्य समस्या हो”, उहाँले भन्नुभयो, “विदेशी तथा आन्तरिक पर्यटक भित्रियाउन शुरुमा त यहाँको प्रचारप्रसारमै विशेष ध्यान दिनुपर्छ ।” यहाँ पर्यटन क्षेत्रको विकास गर्न सके स्थानीयवासीको जीवनस्तर माथि उठ्न सक्ने उहाँको भनाइ छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दक्षिणपूर्वी क्षेत्रमा पर्ने पर्यटकीयस्थल कपासेभञ्ज्याङको प्रवद्र्धनमा तीनवटै तहका सरकारले चासो देखाएपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् । प्राकृतिक रुपले रमणीय कपासेभञ्ज्याङबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, तराईका विभिन्न हरियाली फाँट तथा खोटाङ र भोजपुरको सदरमुकामसमेत स्पष्ट देख्न सकिन्छ । गुराँस पार्कको नामले समेत चिनिने कपासेभञ्ज्याङमा बौद्ध धर्मावलम्बीको चैत्यहरुसमेत रहेको छ । वर्षेनी पूजाआजा गरिने तीनकन्या देवीको थान तथा पोखरीसमेत रहेको उक्त पर्यटकीयस्थलका प्राकृतिक संरचनामा क्षति नपु¥याइ स्तरोन्नति गर्ने काम भइरहेको पर्यटन प्रवद्र्धन समितिले जनाएको छ ।

दश स्थानीय तह रहेको खोटाङ जिल्लाका अन्य स्थानीय तहलेसमेत पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएका छन् । एक स्थानीय तहले अर्को स्थानीय तहमा रहेका धार्मिक तथा पर्यटकीयस्थलसँग जोड्नका लागि समन्वय गर्दै पदमार्ग तथा सडक निर्माण गरिरहेका छन् । तस्वीर उपलब्ध छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।