ताजा अपडेट »

कोरोना भाइरसः नेपालमा हुन लागेको तीनवटा खोपको परीक्षणबारे थाहा पाउनुपर्ने तीन कुरा

बुधबार, १० भदौ २०७७, १२ : ५२
6 Shares

काठमाडौं । सरकारी अधिकारीहरूले नेपालमा कोरोनाभाइरसका तीनवटा खोपहरूको चाँडै परीक्षण सुरु हुन सक्ने बताएका छन् । उनीहरूका अनुसार ती खोपहरूको परीक्षण ‘अनुसन्धानको विश्वव्यापी मापदण्डहरू’ पालना गरेर मात्र सुरु हुनेछ । नेपालमा चीन, रुस र अक्सफर्ड विश्वविद्यालयले बनाएका खोपको परीक्षण हुन लागेको हो ।

परीक्षणहरूमा सहभागी हुने स्वयम्सेवकहरूलाई पूर्ण जानकारी दिएर उनीहरूको पूर्वस्वीकृति लिइने र वैज्ञानिक ढङ्गले परीक्षण गरिने सरकारी अधिकारीको भनाइ छ । सामाजिक सञ्जालमा भने कतिपयले परीक्षणको आलोचना गरेको देखिएको छ । ती खोपको परीक्षणबारे सरकारी अधिकारीहरू र विज्ञसँग कुराकानी गर्दा थाहा भएका मुख्य तीन कुराहरू यसप्रकार छन्

१. प्रारम्भिक छलफल मात्र
हाल नेपालमा चीन, रुस र अक्सफर्ड विश्वविद्यालयले विकास गरेका खोपहरूको परीक्षणका लागि प्रारम्भिक छलफल मात्र भइरहेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीका अनुसार चिनियाँ कम्पनीले उत्पादन गरेको खोपको नेपालमा तेस्रो चरणको परीक्षणका लागि उसैले प्रस्ताव गरेको हो । परराष्ट्र मन्त्रालय हुँदै उक्त प्रस्ताव परिषद्मा आइपुगे पनि हालसम्म त्यसको जबाफ लेखिएको छैन ।

पश्चिम नेपालमा रहेको एउटा सिमेन्ट कारखानामा कार्यरत चिनियाँ र नेपाली गरी करिब ५०० मजदुरहरूमा उक्त परीक्षणको प्रस्ताव आएको उनले बताए । त्यसका लागि मजदुर इच्छुक रहे वा नरहेको बारे एउटा आवेदन फाराम भराएको भए पनि अझै थुप्रै काम गर्न बाँकी रहेको उनले बताए ।उनका अनुसार परिषद्ले इथिकल कमिटी बनाउन र परीक्षणको मापदण्ड बनाउनै बाँकी छ ।

उनले भने- हामीले स्वास्थ्य मन्त्रालयबाट अनुमति त पाएका छौँ तर अझै मापदण्ड बनाउने छलफल जारी छ । त्यस्तै रुसमा बनेको खोपको नेपालमा परीक्षण र उत्पादन दुवै कार्यका लागि उसले प्रस्ताव गरेको ज्ञवालीले बताए । उनका अनुसार सुरुमा राष्ट्रिय सभाका अध्यक्षलाई उक्त प्रस्ताव गरिएको र त्यसपछि परराष्ट्र र स्वास्थ्य मन्त्रालय हुँदै परिषद्मा आइपुगेको हो ।

ज्ञवालीले भने- प्रस्ताव आएपछि हामीले सोमवार रुसी राजदूतसँग छलफल ग¥यौँ। उहाँहरूको प्रस्तावमा परीक्षण मात्र होइन, उत्पादनको पनि कुरा छ । नेपालमा खोप उत्पादन गर्न सकिन्छ कि सकिन्न, त्यो सम्भाव्यता पनि हेर्नुपर्छ ।

उनका अनुसार रुसले १,००० जनामा परीक्षणको प्रस्ताव गरेको छ । त्यस्तै अक्फर्ड विश्वविद्यालयले चाहिँ विश्व स्वास्थ्य सङ्गठनमार्फत् नेपालमा पनि परीक्षण गर्ने चासो देखाएको हो । त्यसबारे चीन र रुसको जस्तो विस्तृत छलफल भइनसकेको ज्ञवालीले बताए ।

२. परीक्षणको खर्च उत्पादकले नै व्यहोर्ने
ज्ञवालीले नेपालमा ती खोपहरूको परीक्षण भएमा त्यसको सम्पूर्ण खर्च उत्पादकहरूले नै बेहोर्ने जानकारी दिए । उनका अनुसार नेपालमा गरिने परीक्षणमा सहभागी हुने स्वयम्सेवकले रकम पाउने वा नपाउने भन्ने अहिले नै तय भइसकेको छैन । तर त्यसका लागि विश्वव्यापी स्थापित मान्यतालाई नै पछ्याइने र त्यसै अनुसार मापदण्ड बन्ने उनले बताए ।

परीक्षणका क्रममा कुन उमेर समूहका कस्ता मानिसलाई सहभागी गराउने, उनीहरूमा कुनै स्वास्थ्य समस्या देखिए के गर्ने, क्षतिपूर्ति र बिमाको के कस्तो व्यवस्था गर्ने भन्ने विस्तृत विवरण मापदण्डमा लेखिने ज्ञवालीको भनाइ छ ।

उनले भने —सबै मापदण्डहरू संसारभरि नै एकै खालका हुन्छन् तर कतिपय कुरामा भूगोल र हावापानीले पनि फरक पार्ने हुँदा सामान्य परिवर्तन हुनसक्छ । हामी अहिले मापदण्ड बनाउने चरणमै रहेका छौँ ।

३. स्वयम्सेवकको पूर्वस्वीकृति अनिवार्य
ज्ञवालीका अनुसार परीक्षणमा सहभागी स्वयम्सेवकलाई सबै कुराको जानकारी दिएर पूर्वस्वीकृति अनिवार्य लिने व्यवस्था गरिने छ । त्यस्ता स्वयम्सेवकले परीक्षणकै बीचमा पनि छाड्न चाहेमा उनीहरूकै इच्छा अन्तिम हुने ज्ञवाली बताउँछन् । उनी भन्छन्- यस्ता परीक्षणमा खराबीभन्दा फाइदा नै धेरै हुनुपर्छ भन्ने मान्यता छ । तर कतिपयमा कुनै रियाक्सन हुन पनि सक्छ त्यस्तो अवस्थामा परीक्षण तुरुन्त रोक्नुपर्छ ।

उनले परिषद्ले केही दिनभित्रै यस्ता मापदण्डहरू बनाउने र ‘इथिकल कमिटी’ बनाउनेछ । त्यसपछि मात्र परीक्षणका लागि थप कार्यहरू गरिनेछन् । स्वास्थ्य मन्त्रालयले पनि विश्वव्यापी मान्यताको आधारमा परीक्षणमा स्वतःस्फूर्त रूपमा मात्र सहभागी गराइने स्पष्ट पारेको छ । सोमवार स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले भने- नेपालमा खोपको परीक्षण गर्नु नहुने भन्ने स्वरहरू पनि उठिरहेका छन् ।

‘यो चाहिँ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को गाइडलाइन अनुसार विश्वव्यापी मान्यताको आधारमा स्वतःस्फूर्त रूपमा अध्ययनमाररिसर्चमारट्रायलमा सामेल हुन चाहनेहरूलाई मात्रै स्वतःस्फूर्त रूपमा समावेश गरिने हुनाले यसमा भ्रम नपाल्नु हुन र भ्रम नछर्नु हुन समेत स्वास्थ्य तथा जनसङख्या मन्त्रालय अनुरोध गर्दछ ।’ उनको भनाइ छ ।

विज्ञ के भन्छन् ?
संक्रामक रोगसम्बन्धी अनुसन्धानकर्ता एवम् पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. बुद्ध बस्न्यातले गत कोरोनाभाइरसको खोप मात्रै नभई उपचार र सङ्क्रमण पहिचान तीनवटै क्षेत्रमा भइरहेका अध्ययन अनुसन्धानमा नेपालले पनि साझेदारी गर्नुपर्ने बताएका छन् ।

उनले बीबीसीको एउटा कार्यक्रममा भनेका थिए- दक्षिण एशियामा सङ्क्रमण बढिरहेको छ। यो अवस्थामा राम्रो छवि भएको विश्वविद्यालय र निकायहरूले हामीलाई सम्पर्क गर्दा हाम्रो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पनि इच्छा व्यक्त गर्नुपर्छ । ‘परिषद्को छवि राम्रो छ र त्यो सक्रिय हुन आवश्यक छ ’ उनको भनाइ छ । डा. बस्न्यातका अनुसार खोपको परीक्षण गर्दा तथ्याङ्कको सुरक्षा र बिरामीमा देखिएका नकारात्मक असरको अनुगमन गर्ने संयन्त्र आवश्यक पर्छ ।

परिषद् त्यसमा अनुभवी रहको भन्दै उनले अनुसन्धान सहभागी हुँदा संसारमै देखा परेको नयाँ भाइरससँग जुझ्न नेपालले पनि सहकार्य गरेको भन्ने सन्देश जाने बताएका थिए । हाल संसारभरि सातवटा खोप परीक्षणको तेस्रो चरणमा रहेको बताइएको छ । तीमध्ये तीनवटामा नेपाल सहभागी हुन खोज्नु सकारात्मक भएको कतिपयको भनाइ रहेको छ ।

केही व्यक्तिहरूले भने नेपालजस्ता गरिब देशहरूलाई धनी देश तथा कम्पनीहरूले खोप परीक्षणका नाममा ’गिनिपिग’ बनाउन सक्ने भन्दै सामाजिक सञ्जालबाट असहमति पनि जनाइरहेका छन् । स्रोत: बीबीसी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।