२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

मेरो स्वदेश नै मेरो विश्व हो, विपना हो
मेरो सत्य हो, एउटै खँदिलो अस्तित्व हो ।

Advertisement

महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित कविताको यो अंशले आफ्नो देशप्रतिको गौरवबोध गर्न सकिन्छ । लाखौं टोलबस्तीले सजिएको नेपालको बयान गाउँबाटै थालिएको हो । गाउँको सुन्दरता र भव्यता अक्षरमा कुँदेर सकिन्न सबै । बुटवलबाट उत्तरपश्चिमतर्फ करिव १५ किलोमिटर दूरीमा रहेको ताल,मुर्थुङ्ग र कुँडापानी गाउँहरु दोभान, नयाँबजार, घोडेबास, डोल, पासकुण्डा, बुढासटक र खुर्सानेलाई पछ्याउँदै पुग्न सकिन्छ ।

ताल गाउँकाे कालिका मन्दिर

त्यसैगरी पाल्पाको बतासे, ढुस्टुङ्ग, अंकुशेपहाडबाट ओखलढुंगा हुँदै यी गाउँहरु पुग्न सकिन्छ । पाल्पा जिल्लाको तिनाउ, वडा नं. १ भित्र पर्ने यी बस्तीहरुमा हिउँदमा सजिलै यातायातका साधनहरु पुग्छन् । स्वर्गीय डाक्टर हर्क गुरुङले भनेका थिए–बाटोले विकास दिन्छ । विकासले निकास दिन्छ । बाटोले बजार दिन्छ । बजारले हजार दिन्छ । खुर्सानेबाट उकालो लागेपछि अर्घाखाँची सिमेन्टको खानी पुगिन्छ । सोही खानीसँगै टाँसिएको गाउँ हो कुँडापानी गाउँ । त्यहाँ ४९ घरधूरी रहेका छन् । त्यसैगरी कुँडापानीको दक्षिणतर्फ रहेको गाउँ मुर्थुङ्ग हो । यहाँ ३० घरधूरी परिवार बसोबास गर्दै आएका छन् । ३५ घरधूरी ताल गाउँमा छन् । वारिपारि, तलमाथि रहेका यी गाउँबस्तीहरुका आफ्नै ऐतिहासिक परिचय छन् । एक सय १४ घरधूरीमध्ये एकघर दलित र एकघर क्षेत्री जाति बाहेक सबै मगरजातिको बसोबास रहेको पाइन्छ । करिव सातसय जनसंख्या यी गाउँहरुमा छन् ।

ताल गाउँमा रहेकाे जन आधारभूत विद्यालय

कालिका मन्दिरको अघि वर्षामास् पानी जमेर ताल पर्ने भएको हुँदा बुढापाकाहरुले ताल ताल भन्दै जाँदा गाउँकै नाम ताल रहन गएको हुन सक्ने स्थानीय शिक्षक लोकबहादुर सुनारी मगरले बताए । यही मन्दिरमा दशैंको कालरात्रिमा विशेष सांस्कृतिक मेला लाग्छ । छिमेकी गाउँहरुबाट मानिसहरु मेला भर्न आउँछन् । सालै जो, कौरा, मारुनी नाच, झ्याउँरेलाई स्थानीय बुढापाकासँगै युवायुवती र बालिबालिकाहरुले संरक्षण गर्ने अभियानमा छन् । सो बेला मन्दिरमा चार÷पाँचजना मगर पूजारीहरु जाग्राम बस्ने परम्परा छ । उनीहरुले कालरात्रिमा पिंडालु र सख्खर खण्ड खान्छन् । भोलिपख विहानै स्थानीयहरुले मन्दिरमा आफ्ना भाक्कल अनुसार भाले,बोका,राँगाहरु पूजा गरेर बली दिने चलन छ । सो पूजाआजा र बली समाप्तिपछि गाउँलेहरुले सरायँ नाचेर खुब रमाईलो गर्छन् ।

राेन्माला देवीकाे नामले चिनिने प्राचीन ढुंगा

त्यसैगरी मुर्थुङ्ग टोलमा रहेको गोखुङ्गा देउतालाई स्थानीयहरुले बैसाखे पूर्णिमा र मंसीरको न्वाँगी खानेबेलामा राँगो र कुखुरा चढाएर भव्यरुपमा पूजा गर्ने चलन छ । संस्कृतिका धनी मगरजातिका रैथाने देउता र पर्वहरुका आफ्नै विशिष्टता छन् । त्यसैगरी कुँडा भन्नाले नेपाली प्राकृत भाषामा मैलो, कालो र धमिलो भन्ने अर्थ लाग्छ । कुनै समय यहाँ धमिलो,मैला वा कालोपानी बग्ने कुवा,इँनार वा पोखरी रहेको हुन सक्ने संस्कृतिविद् राजेन्द्रकुमार आचार्यले बताए । मुर्थुङ्ग गाउँको नाम मगर भाषामा राखिएको हुन सक्ने संस्कृतिका जानकार झपेन्द्रबहादुर जीसीले बताउँदै थिए ।
यी गाउँहरुका मुख्य खेती भनेकै धान, मकै, कोदो, केराउ नै हुन् । गाउँलेहरुले पशुपालन र कृषिबाट जीविकोपार्जन गरेका छन् ।

बार्दलीसहितकाे आकर्षित घर

अम्रिसो खेतीले नून, तेल, मसला किन्न पुगेको छ । गाउँलेहरुले वर्षेनी न्यूतम १५ हजारदेखि अघिकतम ५० हजार रुपैयाँसम्मको कूचो बेच्दै आएका छन् । बाबियोको डोरी बेचेर स्थानीय महिलाहरुले पेवा बनाएका छन् । गहना किन्न घरमूलीलाई गुहार्न परेको छैन उनीहरुले । त्यहाँ छोरी÷बुहारीहरुले पेवा गराउने वा राख्ने चलन अझैसम्म जीवित नै छ । यो परम्पराले महिलाहरुलाई आर्थिक अधिकारसहित सम्पन्नताको संकेत गर्दछ । पेवा खर्चिन पाउने अधिकार सम्बन्धित छोरी÷बुहारी कै हुने गर्छ । यसमा पुरुषको सल्लाह चल्न सक्छ तर निर्देशन र खर्च गर्ने अधिकार हुँदैन । तीनै गाउँका स्थानीय युवाहरु अहिले नेपाल प्रहरी,नेपाली सेना, निजामति र शिक्षण सेवामा सक्रिय रुपमा कार्यरत छन् ।

माैरीपालनमा गाउँले

केही युवाहरु बैदेशिक रोजगारका लागि दुबई, कतार, मलेसिया र साउदी गएका तिनाउ गाउँपालिकामा सूचना तथा प्रविधि अधिकृतका रुपमा कार्यरत स्थानीय युवा तुलबहादुर घर्तीमगरले बताए । गाउँमा शिक्षाको लहर जागृत भएको छ । ताल गाउँमै २०५६ सालमा स्थापना भएको जन आधारभूत विद्यालयमा अहिले भीमबहादुर चिदी प्रधानाध्यापक छन् र विद्यार्थी पुगनपुग ८५ जना छन् । यहाँबाट उत्तीर्ण भएकाहरु निमावि र मावि तह अध्ययन गर्न ओखलढुंगामा रहेको ज्ञानोदय मावि पढ्न जान्छन् । यस गाउँका पाँच÷पाँच जना युवाहरुले स्नातकोत्तर र स्नातक गरिसकेका छन् ।
ताल,मुर्थुङ्ग र कुँडापानी पहाडी बस्तीका सुन्दर गाउँहरु हुन् ।

गाउँमा लहलहाएकाे काेदाे खेती

सुमद्री सतहदेखि करिव हजार मीटर उचाइँमा छन् । प्रायः जाडोयाम र वर्षामास् कुहिरोले ढपक्कै ढाकिने यी गाउँहरु कुहिरोबाट उघ्रिदा रहर लाग्दा देखिन्छन् । गाउँमा मिहिनेती किसानहरु छन् । मौरीपालनलाई आयआर्जनको नयाँ उपाय बनाएका छन् । ब्रोईलर कुखुरापालन थालेका छन् । लोकल कुखुरा र बाख्रापालन पुख्र्यौली काम नै भए । गाउँमा सानातिना किराना पसलहरु छन् । सिलाई–कटाई गर्ने टेलरिङ सेन्टर छ । गाउँमा लघु–जलविद्युतबाट उज्यालो छाएको छ ।
घरदैला नजिकै कच्ची बाटो पुग्यो । दैनिक बुटवल,तानसेनका लागि जीप छुट्छन् । स्थानीय उत्पादनहरुले तानसेन र बुटवलका बजार पाएका छन् । गाउँलेहरुले व्यवसायिक कृषितर्फ ध्यान दिन थालेका छन् । यहाँका गाउँहरुलाई कोदो खेतीका लागि पकेट क्षेत्र बनाउन सकिन्छ । स्थानीयहरुले कोदोको रोटी र कोदोको तेल बनाउँदै आएका छन् । गाउँमा प्याज, लसुन प्रशस्त फल्छन् । बजारबाट किनेर ल्याउनु पर्दैन ।

सप्रेकाे धानखेती

ताल गाउँभन्दा केही पर जंगलको बीचमा रोन्माला देवीको प्राचीन ढुंगा देख्न सकिन्छ । विशेष गरी गाउँलेहरुले आफ्नो मनोकामना पूरा होस् भनी वर माग्ने चलन छ । आफूले मागेको वर पूरा भएपछि भाक्कल स्वरुप गाउँलेहरुले सो देवीको ढुंगामा राँगा,कुखुरा बली चढाउने र ढुंगा रातो,पेट तातो गराउने चलन भने उस्ताकादेखि चल्दै आएको छ । मुर्थुङ्ग गाउँको किनारमा एउटा उल्लेखनीय पिल्लर आजभोलि पनि देख्न पाइन्छ । सो पिल्लरलाई स्थानीयबासिन्दाहरुले अर्गाथुन्का पिल्लर भन्छन् । एनटीसीको टावर भए नजिकै रहेको यो पित्तलको पिल्लर ढुंगाको बीचमा गाडिएको छ । पुराना गाउँलेहरुसँग सोधनी हुँदा उनीहरु भन्छन्–जमानामा यहाँ नापी टोली आइ बसेको,यही पिल्लरमा झण्डा फहराउने चलन रहेको,यहाँबाट तराईका फाँटहरु देखिने र निशाना लगाउन सजिलो हुने भएकोले पनि पिल्लर गाडिएको हुन सक्छ ।

गाउँकाे आम्दानी अम्रिसाे

यी मगरबस्तीहरुमा पहिला पहिला मामाचेली र फुपू चेलाहरुका बीच मागी विहे हुने चलन प्रशस्तै थिए । अहिले नयाँ चालचलन र संस्कारका कारण भागी विहेले उच्च प्राथमिकता पाएका छन् । यहाँ मगर संस्कृति,परम्परा र संस्कार भएपनि मगर भाषा चलन–चल्तीमा भने छैन । स्थानीयहरुले दशैं,तिहार,श्रीपञ्चमी,फागुपूर्णिमा मनाउने चलन चल्दै आएको छ । बार्दलीसहितका कलात्मक घरहरुमा मकैका झोत्ताहरु, लसुनका पोटीहरु रहर लाग्दा झुुण्डिएका पाइन्छन् । त्यसैगरी मौरीका घारहरुले घरका शोभा बढाएका छन् । गाउँ विकासका लागि परिवर्तनशील सामुदायिक संस्था र रानीढुंगा सामुदायिक वन उपभोक्ता समूह छन् ।

ताल गाउँ

स्थानीयहरुले सोही उपभोक्ता समूह मार्फत वन,वतावरण र जैविक विविधता संरक्षण गर्दै आएका छन् । ओखलढुंगा गाउँमा रहेको कृषि सहकारीमा यहाँका गाउँलेहरु आवद्ध छन् । मिलीजुली आमा समूह गठन गरेर महिला अधिकारका क्षेत्रमा स्थानीय महिलाहरु क्रियाशील छन् । गाउँघर सरसफाइ अभियान निरन्तर सञ्चालनमा छ । प्रत्येक घरमा शौचालयको उचित व्यवस्थापन छ । नौ महिनालाई खानेपानीको खासै समस्या पर्दैन । प्रदेश सरकारको सहयोगमा लिफ्टििङ्ग खानेपानी आयोजना सम्पन्नताको अन्तिम चरणमा पुगेको छ ।

कृषि,पशुपालन र पर्यटन विकासका लागि सम्भावित यी गाउँहरुमा आर्थिक क्रान्ति, सामाजिक परिवर्तन र शैक्षिक उन्ननयनका लागि नयाँ योजनाको खाँचो देखिन्छ । निर्दिशिष्ट गाउँमुखी योजना, कार्यक्रम र बलियो कार्यान्वयनका आधारहरुले नै यी गाउँहरुमा नयाँ विचार र विकासका आयामहरु थप्ने छन् ।

केराउ खेतीमा स्थानीय युवा

प्रतिकृया दिनुहोस्

Flash News

मामाघर जाँदा खोलाले बगाएका बालकको शव फेला निरन्तर वर्षा हुन थालेपछि किसान चिन्तामा प्रचण्डले चितवन–३ छाडे, गोरखा–२ बाट निर्वाचन लड्ने एमाले लुम्बिनीमा ११ जिल्लाका उम्मेद्वारको टुङ्गो, यस्तो छ नामावली पश्चिम नवलपरासीमा निर्वाचन अधिकृतको कार्यालय एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार बाढी र पहिरोले गुल्मीमा ६ घरका २० जना विस्थापित प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता राप्ती नदीको सतह उच्च, सुरक्षित स्थान जान आग्रह एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै खोलामा बगेर महिला वेपत्ता यस्त छन् उम्मेद्वारले गर्नुपर्ने स्वघोषणा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता महिला एसिया कप : पाकिस्तानद्वारा भारत पराजित ‘सम्भावना खाडीमा होइन, झाडीमा’ यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार