ताजा अपडेट »

मोफसलबाटै साङ्गीतिक क्षेत्रमा जम्दै नवगायिका पारु

मंगलबार, ०९ भदौ २०७७, १५ : २१
6 Shares

राँझा । बाँकेकी नवगायिका पारु केसी मोफसलबाटै लोकदोहरी साङ्गीतिक क्षेत्रमा जम्न सफल हुनुभएको छ । विद्यालयस्तरदेखि नै विभिन्न साङ्गीतिक प्रतियोगितामा भाग लिएर प्रतिस्पर्धीलाई सहजै पराजीत गर्न सक्ने क्षमता प्रदर्शन गर्ने पारु आफ्नो पहिलो गीत “बर्दिया राम्रो बढैया तालैले” मार्फत स्रोता दर्शकको मन जित्न सफल हुनुभएको छ ।

नेपाल टेलिभिजनको कोहलपुर प्रसारण केन्द्र र बाँके बर्दियाका विभिन्न एफएम रेडियोमार्फत उहाँले प्रत्यक्ष लोकदोहोरी गीत प्रस्तुत गरेर यस क्षेत्रका दर्शक स्रोतासामु आफ्नो कला र क्षमता प्रदर्शन गर्दै आउनुभएको छ । बर्दियाको बाँसगढी नगरपालिका­९ माछागढमा जन्मिनुभएकी गायिका केसी अहिले बाँकेको कोहलपुरमा आएर साङ्गीतिक क्षेत्रमा सङ्घर्ष गरिरहनुभएको छ । उहाँको पहिलो लोकदोहोरी एल्बम “बर्दिया राम्रो बढैया तालैले, माया राम्रो डिम्पल गालैले” बोलको गीतमा बर्दियाको प्राकृतिक सुन्दरता र पर्यटनको वयान गरिएकाले जिल्लावासीमा मात्रै नभई देशभरका स्रोता, दर्शकमाझ निकै लोकप्रिय बन्न पुगेको छ ।

उहाँ आफ्नो गीति यात्रालाई निरन्तरता दिने सोचमा हुनुहुन्छ । “अहिले कोरोना महामारीको कारण सबै कार्यक्रमहरु स्थगित भएका छन्, त्यसैले यतिबेला दसँै तिहारसम्बन्धी गीत निकाल्ने तयारी गरिरहेकी छु”, उहाँले रासससँग भन्नुभयो, “मोफसलमा बसेर साङ्गीतिक क्षेत्रमा लाग्नु धेरै चुनौतीपूर्ण कुरा हो तैपनि दर्शक स्रोताको मायाले सदैव हौसला दिने गरेको छ ।”

कोरोना महामारीका कारण औपचारिक कार्यक्रम तथा मेला महोत्सव नभएका कारण यतिबेला एफएम रेडियो र टेलिभिजनमार्फत लोकदोहोरी र कोरोनाविरुद्धको सचेतनामूलक गीत सङ्गीत प्रस्तुत गर्दै आएको उहाँले बताउनुभयो । “कोरोना महामारी फैलिएको अहिलेको विषम परिस्थितिमा पनि एफएम रेडियो र टिभीमार्फत लाइभ लोकदोहोरी गाएर दर्शक र स्रोतासामु उपस्थित हुने प्रयत्न गरिरहेकी छु”, उहाँले भन्नुभयो, “अहिलेको तीज यस्तै गरेर बित्यो, हेरौँ दसैँ तिहारमा के हुने हो ?”

साङ्गीतिक क्षेत्रमा लाग्ने सानैदेखिको इच्छाले अहिले विस्तारै सफलता पाउँदै गएको उहाँको अनुभूति रहेको छ । “सानैदेखि गीत सङ्गीतमा लागेर एउटा सफल कलाकार बन्ने मेरो सोंच हो, यो क्षेत्रमा अझ धेरै गर्न बाँकी छ”, नवगायिका केसीले भन्नुभयो, “अन्य दुई तीनवटा गीत लेखिसकेकी छु, कोरोना महामारी कम भएपछि म्यूजिक भिडियो निकाल्ने तयारीका साथ काम गरिरहेकी छु ।”

मोफसलमा बस्दा साङ्गीतिक क्षेत्रमा अवसर कम हुने भएकाले कलाकारले धेरै सङ्घर्ष गर्नुपर्ने उहाँको अनुभवले देखाएको छ । “दर्शक तथा स्रोताको मन जित्न सके मोफसलमा बसेर पनि साङ्गीतिक क्षेत्रमा जम्न सकिने आत्मबल बढेको छ । साङ्गितिक बजारका लागि मोफसललाई बिर्सनु हुँदैन”, उहाँले भन्नुभयो, “म मोफसलमै बसेर यहाँका डाँडापाखा, नदीनाला र जनताका दिनचर्याका गीत गाउँदै छु ।” प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पश्चिम नेपालका सामाजिक पक्षलाई आफूले गीतको माध्यमबाट उजागर गर्ने उहाँ बताउनुहुन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।