ताजा अपडेट »

घाटाको काम गरेर के फाइदा !

सोमबार, ०८ भदौ २०७७, १७ : ०३
20 Shares

नागरिकताको नाम सुस्मिता थापा । गाउँमा सबैले गोमा भनेर चिन्छन् । उनका छोरोले नौं कक्षामा सरकारी विद्यालय र छोरीले बोर्डिङ्गमा तीन कक्षामा पढ्दै छन् । उनकै भरोसामा छोराछोरीले पालनपोषण र शिक्षादीक्षा पाएका छन् । सासुससुराले बाँच्ने आधार भेट्टाएका छन् । गोमा, सुस्मिता पोल्ट्री एण्ड बंगुर फर्म दर्ताको अन्तिम तयारीमा छिन् । उनले आफ्नै उद्यम थालेको दुईवर्ष नाँघेर तीन टेक्यो । दुईवटा साना ठूला माछापोखरी छन् । सुरुमा ग्रास र सिल्भर जातका भुराहरु राखेकी थिइन् ।

राम्रोसँग नबढेपछि मांगुर जातको माछा पालिन् । सो जातको माछालाई चारो पुराउनै सकस भएपछि अहिले तिलापिया जातको नयाँ माछा पालेकी छिन् । यो जातको माछाले आफै भुरा पैदा गर्ने भएको हुँदा माछा उत्पादनमा राम्रो र भुरा छाडिरहनु पर्ने झन्झटबाट मुक्ति मिलेको छ । गाउँमै खुद्रा माछा बेचेरै उनले वर्षमा लाख बढी आम्दानी गर्दै आएकी छन् । प्रतिकिलो अहिले चार सय रुपैयाँमा माछा गाउँमै बिकेको छ । बंगुर छन् खोरमा ११ वटा । यसपालीदेखि बंगुरका पाठापाठी बेच्ने योजना बुनेकी छिन् । अहिले भने मासुका लागि बंगुर पाल्दै आएकी छिन् । एकपटकमा कम्तिमा ९०/९५ हजार रुपैयाँका दरले वर्षमा दुईपटक जिम्दै बंगुर बेच्दा पुननपुग दुई लाख रुपैयाँ हात लाग्दो रहेछ । जिउँदो एक धार्नी (दुई किलो आधा) मासुलाई सात सय रुपैयाँ पर्दोरहेछ । बुटवलबाट मासु व्यापारीहरु आफ्नै घरमा बंगुर किन्न आउने गोमाले बताउँदै थिइन्– बंगुरको बजार जत्ति पनि छ । बेच्ने बंगुर तयार पार्न प¥यो । नबिक्ने कुरै भएन ।

बंगुरलाई दाना दिदै गोमा

त्यतिले मात्र गोमाको मन बुझेको छैन । ब्रोइलर कुखुरा पालेकी छन् । हिउँदैमा दुई/तीन छ्याल कुखुरा पाल्छिन् । वर्षामा बाटोको कारण दाना बोकेर लैजानु पर्ने समस्या भएकाले कम कुखुरा पालेकी रहेछिन् । हिउँदमा एकपटकमा १५/१६ सय कुखुरा पाल्ने गोमाले कुखुरापालन सम्बन्धी कुनै किसिमका तालिम लिएकी भने छैनन् । ब्रोइलर कुखुराको भाउ तलमाथि भईरहने भएको हुँदा कहिलेकाँही स्वयमसेविका बन्नुपर्ने अवस्था पनि नआएको होइन उनलाई । ब्रोइलर कुखुरा बेचेर वर्षमा दुई÷तीन लाख आम्दानी हुने गोमाले बताइन् । उनको गाउँ फिर्फिरे पुग्न कच्ची मोटर बाटो छ । हिउँदमा जीपले कुखुरा,बंगुरलाई दाना सजिलै लगिदिन्छन् तर वर्षामा बाटो चिप्लो भएर जीप त के पैदल हिड्न पनि मुस्किल पर्छ ।

गाेमाकाे माछापाेखरी

एकबोरा दाना बोकेको दुईसय पचास रुपैयाँसम्म तिर्नुपरेपछि वर्षामा कम कुखुरा पाल्ने गरेको उनले बताइन् । बाटो ग्राभेल नभएकै कारण वर्षामास् गाउँमा जीप पुग्दैन अनि ज्यालामा दाना बोकाउनु परेपछि सास्ती व्यहोर्नुपर्छ । दाना महंगो परेपछि आम्दानी हुँदैन । घाटाको काम गरेर के फाइदा ? कुखुरालाई कहिलेकाँही नसोचेको रोग लाग्छ । तालिम अभावका कारण आफूलाई घरिघरि समस्या आइपर्छ । आफूलाई भ्याक्सिन लगाउन र सामान्य रोगका बारेमा त थाहा छ । कुखुरा र बंगुरपालन सम्बन्धी बेसी जान्नका लागि तालिम पाए जाती हुने थियो गोमाले भनिन् । माछापालनका लागि हेकबारी खोला र बेरुवाबाट पाइपमा पानी ल्याउनु पर्छ । जंगलमा डढेलो लागेमा पाइप सत्यनाश हुन्छ ।

माछा पाेखरीमाथि बंगुरखाेर

माछा मार्न जाल नभएर उस्तै समस्या भएको छ । तैपनि सकेजति गरेकै छु । सहयोगीहरुसँग गुहार्न मन लागेको छ । गतवर्ष उनलाई वडापालिकाको सिफारिसमा तिनाउ गाउँपालिका मार्फत २५ हजार कुखुरापालनमा सहयोग मिलाइ दिएको तिनाउ–३ की वडा सदस्य पम्फा मगरले बताइन् ।
२०५९ सालमा गणेश थापासँग सुस्मिताले लगनगाँठो गाँसेपछि २०६१ सालमा बाग्लुङ्गको रायडाँडाबाट पाल्पा तिनाउको फिर्फिरे गाउँमा बसाइँ सरी आएका थिए । करिव नौं वर्ष वैदेशिक रोजगारका लागि साउदीमा बसेका गणेशले राम्रै पैसा कमाएका थिए । ब्रेन ट्यूमर (मस्तिष्क क्यान्सर ) भएपछि उनलाई उपचारका लागि गोमाले बुटवल,भरतपुर, काठमाडौं र भारतको लखनऊसम्म पुराइन् । उपचारमा १५ लाख खर्चिन् तर गणेशलाई जीवित राख्न सकिनन् । ऋण,धन गरेर बचाउने लाख कोशिश गरिन् ।

कुखुरालाई दाना दिदै गाेमा

दुर्भाग्य, सदाका लागि भौतिक रुपमा परिवारबाट टाढा भए गणेश । उद्यम गरेर कमाएको पैसाले गणेशको उपचार गर्दा लागेको ऋण विस्तारै तिर्दैछिन् । सहारा गुमाएकी गोमाले श्रीमानको मृत्युछि आफूलाई आँटिली बनाईन् र उद्यमी पनि । छोराछोरी स्कूल जान्छन् । सासुससुरा र आफू दिनरात आफ्नै उद्यममा व्यस्त हुन्छन् । तीजनजनाले स्वरोजगार पाएका छन् । खेतीकिसानी गरेकी छन् भ्याएको समयमा । लोकल कुखुरा र घरखर्चका लागि बाख्रापालन समेत गरेकी छन् । तीन रोपानी जग्गामा माछा, कुखुरा र बंगुरपालन गरेकी गोमाले भविष्यमा आफ्नो उद्यमलाई व्यवस्थित गरी बढाउने योजना बुनेकी छन् ।

उद्यमी महिला गाेमा

सुरुमा कुखुरालाई खोर बनाउँदा करिव तीन लाख र बंगुरलाई खोर बनाउँदा डेढ लाख खर्चिन परेको र सो खर्च आम्दानीले कटाइ सकेकी गोमाले भन्दैथिइन् –आफ्नै पौरखमा उद्यमी महिला भई बाँच्न पाउँदा खुसी छु । सक्षम उद्यमी भएर उदाहरणीय बन्ने सपना बुनेकी छु । यी सबै परिवारका सुख र मृतक श्रीमानको सम्झनामा गरेकी हुँ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।