ताजा अपडेट »

पाल्पामा पिसिआर मेसिन जडानका लागि एक करोड निकासा

सोमबार, ०८ भदौ २०७७, १२ : २६

रामपुर । कोरोना भाइरस सङ्क्रमण भए नभएको परीक्षणलाई सहज बनाउन पाल्पामा पिसिआर मेसिन जडानका लागि रु एक करोड रकम निकासा भएको छ । जिल्ला अस्पताल पाल्पाले मेसिन खरिद गर्न सक्ने गरी नेपाल सरकारले आवश्यक रकम अस्पतालका नाममा निकासा गरेको छ । कोरोना सङ्क्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै परीक्षणको दायरा फराकिलो बनाउन जिल्लामा मेसिन जडानका लागि रकम निकासा भएको हो ।

कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको यही भदौ २ गते बसेको १० औँ बैठकबाट रु एक करोड निकासा भएको छ । जिल्लामै कोरोना भाइरस सङ्क्रमणको पिसिआर परीक्षण गर्ने विधि नहुँदा समस्या परेपछि सरकारसँग माग गरेर मेसिन खरिदका लागि रकम निकासा भएको पाल्पा क्षेत्र नं २ का सांसद सोमप्रसाद पाण्डेयले बताउनुभयो । सो मेसिन जडानका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा रकम आइसकेको सांसद पाण्डेयले जानकारी दिनुभयो । मेसिन जडानको प्रक्रिया पूरा गरेर छिट्टै पिसिआर परीक्षणको सेवा दिइने पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेय बताउनुहुन्छ । उहाँका अनुसार जिल्ला समन्वय समिति पाल्पाको काजीपौवामा रहेको भवनमा पिसिआर मेसिन राख्नका लागि भौतिक पूर्वाधार तयार गरिएको छ ।

जिल्लामा पिसिआर परीक्षण गर्ने विधि नहुँदा प्रादेशिक प्रयोगशाला भैरहवामा स्वाब सङ्कलन गरी पठाउने गरिएको छ । स्वाव सङ्कलन गरेर पठाए पनि समयमा नै रिपोर्ट नआउँदा लामो समयसम्म नतिजाको पर्खाइमा बस्नुपर्ने बाध्यता थियो । अब भने जिल्लामै पिसिआर परीक्षण हुने भएपछि छिट्टै नतिजा थाहा पाउन सकिन्छ । यहाँ पिसिआर मेसिन सञ्चालनमा आएपछि पाल्पासँगै गुल्मी, अर्घाखाँचीलगायत जिल्लाको स्वाब परीक्षण गर्न सहज हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।