ताजा अपडेट »

लकडाउन कार्यान्वयन र आइसोलेशनको क्षमता बढाउन नेकपा रुपन्देहीको माग

आइतबार, ०७ भदौ २०७७, १८ : २४
10 Shares

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रूपन्देही जिल्ला कमिटीले रुपन्देहीमा जारी लकडाउनलाई पूर्ण कार्यान्वयन गर्न सम्पूर्ण पार्टी पंक्तिलाई परिचालित हुन निर्देशन दिएको छ । जिल्ला कमिटी कार्यालयको आइतबार बुटवलमा बसेको बिस्तारित बैठकले जिल्ला सिसिएसीको निर्णयलाई कार्यान्वयन गर्न सम्पूर्ण पार्टी पक्तिलाई परिचालित हुन निर्देशन दिएको हो ।

कोभिड- १९ महामारी सम्बन्धी स्वास्थ्य प्रोटोकलको पालना र भौतिक दुरी कायम गरी सम्पन्न भएको बैठकमा कोरोना महामारीले जिल्लामा पारेको प्रभावको गम्भीर समीक्षा भएको नेकपा रुपन्देहीका प्रवक्ता मोहन चापागाईंले जानकारी दिए । बैठकले स्थानीय पालिकाहरूलाई समयमै क्वारेन्टाईन र आईसोलेशनको क्षमता बढाउने काम तत्काल अघि बढाउन आग्रह गर्दै सम्पूर्ण पार्टी पंक्तिलाई सहयोगात्मक भूमिका निर्वाह गर्न निर्देशित गरेको छ । त्यसैगरी बैठकले प्रदेश सरकारलाई भेन्टिलेटर, आईसियू सहितको अस्पतालमा बेडको संख्या तत्काल बढाउन आग्रह गरेको छ । बैठकले जिल्लाका विभिन्न ठाउमा देखिएका संक्रमितहरूप्रति सकारात्मक, सहयोगी र मानवीय व्यवहार गर्नु सबैको दायित्व भएको महशुस गर्दै पार्टीका सम्पूर्ण नेता कार्यकर्ता,सामाजिक संघ संस्था र टोलवासीहरूलाई आग्रह गरेको प्रवक्ता चापागाईले जानकारी दिए ।

बैठकले पार्टी केन्द्रको विवादका सम्बन्धमा महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले समाधानका लागि निष्कर्ष सहितको प्रतिवेदन बुझाएकोमा कार्यकर्तामा उत्साह देखिएको ठहर गर्दै कार्यदलप्रति धन्यवाद व्यक्त गरेको छ । बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य लिला गिरीले केन्द्रमा देखिएका सम्पूर्ण विवादहरूको समाधान महासचिव पौडेलको संयोजकत्वमा गठीत कार्यदलले अध्यक्षद्वयलाई पेश गरेको प्रतिबेदनले गरिसकेकाले कार्यकर्ताहरूलाई उत्साहका साथ काममा लाग्न आग्रह गरेका थिए । अहिलेको मुख्य कार्यभार महामारी बिरूद्वको लडाई भएको बताउँदै उनले स्थानीय, प्रदेश, संघीय सरकार, राजनैतिक पार्टीहरू तथा सामाजिक संस्थाहरू समेत हातेमालो गरेर यो लडाई जित्नु पर्ने बताए ।

पार्टी जिल्ला अध्यक्ष शिवराज सुवेदीको अध्यक्षतामा सम्पन्न बैठकमा रुपन्देही सहईन्चार्ज एकराज विक, प्रदेश कमिटी संगठन बिभाग प्रमुख भूमिश्वर ढकाल, प्रदेश कमिटी सदस्य पुरन गुरूङ, जिल्ला कमिटी सचिव निर्मल जिसीलगायतले पनि विभिन्न विषयमा धारणा राखेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।