१८ आश्विन २०७९, मंगलवार

Oct 4, 2022

फाइल फोटो : वेव

गुलरिया। नेपालको तरार्ई क्षेत्रका प्रकृतिपूजक तथा मूल बासिन्दाका रुपमा चिनिने थारुका पनि अन्य जातिका जस्तै संस्कृतिक विविधता छ । थारू जातिको सबैभन्दा ठूलो मानिएको पर्व माघे सङ्क्रान्ति (माघी) पछिको दोस्रो ठूलो पर्व हो ‘अटवारी’ । योे पर्व पुरुष तथा कतिपय महिलाले पनि निराहार व्रत बसेर तथा दर खाएर मनाउने गर्दछन् । 

Advertisement

‘अटवारी’ खुसीयालीको पर्व हो । अटवारी थारु महिलाले मनाउने ‘अष्टिम्की’ (कृष्ण जन्मअष्टमी)पछि लगत्तैको कुशे औँसीपछिको पहिलो आइतबारको दिनलाई मान्ने गर्दछन् । यस वर्ष पनि आज आइतबार यस क्षेत्रका थारुले अटवारी पर्व मनाइरहेका छन् ।  ‘अटवारी’, कुशे औँसीको पहिलो आइतबार ‘बर्का अटवारी’का रुपमा मानिन्छ भने कतिपयले भने त्यसपछिको चारसहित पाँच आइतबार ‘अटवारी’ व्रत बस्ने गर्छन् । 

थारु संस्कृति बारेमा ज्ञान राख्दै आएका थारु अगुवा रेशम थारुले कुनैै वर्ष समय अनुकुल नभए गाउँमा हैजालगायतका रोगको प्रकोप बढी देखिए वा दैवी प्रकोपका कारण समय हेरेर अटवारी पर्व मान्ने चलन पनि रहेको बताउँछन् । यसो गर्दा पाँच अटवारी व्रत बस्ने सबै आइतबार व्रत बस्न सक्दैनन् र अटवारी पनि फरकफरक मितिमा मनाउने बाध्यात्मक समस्या हुनसक्छ । 

रुपन्देही, नवलपरासी, चितवनलगायतका पूर्वका केही जिल्लामा मनाइने यो पर्वको विधि र प्रक्रिया पश्चिमका अन्य जिल्लामा भन्दा फरक छ । कपिलवस्तु, दाङ देउखुरी, बाँके, बर्दिया, कैलाली, सुर्खेत र कञ्चनपुरका थारूमा यो पर्वका विषयमा धारणा फरक फरक भए पनि विधि प्रक्रियामा भने एकरुपता पाइन्छ ।

यस पर्वसम्बन्धी किंवदन्ती 

बर्का अटवारी पर्वसम्बन्धी केही विभिन्न मिथकमध्ये महाभारत कथासँग जोडिएको सबैभन्दा विश्वासिलो मानिन्छ । थारु अगुवा वयोवृद्ध रेशम थारुका अनुसार पाँच पाण्डवमध्ये सबैभन्दा बलिया भेवाँ (भीम) थिए । जब कौरव र पाण्डवको लडाइ भयो त्यसै समय भीम रोटी पकाउँदै थिए ।

लडाइँ उत्कर्षमा पुगेपछि उनी रोटी पकाउँदा पकाउँदै तावामै छोडेर लडाइँमा हिँडे । उनले पकाउन हालेको रोटी त्यहाँ रहेका सहयोगीले उल्टाउन सकेनन् । लडाइँबाट फर्किदा उनी निकै भोकाएका थिए । तावामा छोडेर गएको एकापट्टि मात्र पाकेको रोटी खाएर पेट भरे । अटवारीमा अक्केकरे रोटी (एकापट्टि मात्र पकाएको रोटी) पकाउने चलन छ । उक्त रोटी अन्य रोटीभन्दा ठूलो हुन्छ । यसरी अक्केकरे रोटी उनै भीमलाई पुज्ने गरिन्छ भन्ने किंवदन्ती छ । 

अर्कातर्फ भीम, थारू राजा दंगीशरणलाई युद्धमा सघाएको उनी र सबैभन्दा बलियो पुरुष भीम भएकोले उनी जस्तै बलियो हुने संकल्पका साथ पुरुष उनकै पूजा गरेर अटवारी व्रत बस्ने विचार पनि जनमानसमा छ । 

‘डटकट्टन’ (दर) खाने 

अटवारी पर्व मनाउन आवश्यक सामग्री एक हप्ता अघिदेखि नै शुरु गरिन्छ । यो व्रत बसेर मनाउने पर्व भएकोले यसमा पनि ‘डटकट्टन’ (दर) खाने चलन छ । दर खानका लागि शनिबार दिनभरि माछा मार्ने र अरु तिहुन, तरकारीको जोहो गरिन्छ । माछाको सुखौरा (सुकुटी) धेरैजसो पहिल्यै तयार गरिएको हुन्छ । अटवारीमा माछाको सुखौरा विशेष मानिन्छ । तर अन्य कुनैै चीजको मासु भने हुँदैन । सागमा (पोेंइ) अनिवार्य जस्तै हुन्छ । 

भिन्डी, टोरैं, ठुसा (मास जस्तै एक प्रकारको दाल बाली, झिलिङ्गी र सिल्टुङ)लगायतका तरकारी हुन्छ । ‘डटकट्टन’ व्रत बस्ने राति भाले बास्नुभन्दा पहिले खानुपर्छ । यदि खानुभन्दा पहिले भाले बासे भने ‘डटकट्टन’ खान पाइँदैन । खाए भने ऊ व्रत बस्न पाउँदैन । उसलाई जुठो मान्ने चलन छ । 

पहिलो दिन  

बर्का अटवारीको पहिलो दिन व्रत बस्नेको खाना भान्सामा पाक्दैन । उनीहरु बिहानै नुहाएर बहरी (घरको प्रवेशद्वारको पहिलो कोठा) या आँगनमा गाईको गोबरले लिपपोत गर्छन् ।  लिपपोत गरेर ‘कोरे आगी’ (भान्सामा पहिले प्रयोेग नभएको आगो, चोखो आगो)मा रोटी पकाइन्छ । पुरानो आगो आज अपवित्र मानिन्छ । त्यसकारण गन्यारी काठ, फोर्सा काठ घोटेर निकालेको चोखो आगो प्रयोग गर्ने चलन छ । 

योे पर्वमा रोटी अनिवार्य हुन्छ । अन्य खानेकुरा भने सहायक हुन्छन् । अटवारीमा अन्डी(अनदी चापलको पिठो) र गहुँको गरी, दुई थरीको रोटी हुन्छ भने पक्की, अम्बा, केरा, तरुल, भेली मिठाई मिसाएको मोर्साको भूजा र मिठाइ पानी पनि हुन्छ । पहिलो दिन नुन, बेसार, खुर्सानी, माछा, मासु भने बर्जित हुन्छ ।

रोटी पकाएर तयार भयो भने स्नान गरी विहान लिपपोत गरेको ठाउँमा पिर्का या कुनैै काठको वस्तुमा सँगै बसेर आफ्नो प्रक्रिया अगाडि बढाउँछन् । खानुभन्दा पहिले अगयारी (अग्यारी) दिने चलन छ । निश्चित ठाउँमा गाईको गोबरले पुनःलिपेर त्यसमा आगो (फिलिङ्गो) राखिन्छ । त्यही आगोमा सर्री धूप (सल्लाको धूप), नौनी र खानका लागि तयार गरिएको बस्तु (अन्डीको रोटी, गहुँको रोटी, पक्की, काँक्रो, अम्बा, केरा, तरुल, भेली मिठाई मिसाएको मोर्साको भूजा र मिठाइपानी) अलिअलि सबै चीज एकैमा मिसाएर त्यसमा हवन गरिन्छ । यसरी आगोमा चढाउने कामलाई ‘अगयारी’ दिएको भनिन्छ ।

अग्यारी दिएर तीन पटक दायाँ र तीन पटक बाँयाबाट पानीले पर्छने (पानीको घेरो हाल्ने) चलन छ । त्यसपछि आफ्ना चेली–बेटीका लागि पहुराका रुपमा ‘अग्रासन’ छुट्याउने चलन छ । अटवारीमा दिनभरि निराहार बसेर साँझ नै पूजा गरी खाने चलन छ । योे क्रम सूर्यास्त नहुँदासम्म चल्छ । 

‘फर्हार’ 

बर्का अटवारीको दोस्रो दिनलाई ‘फर्हार’ गरिन्छ । ‘फर्हार’ नहुँदासम्म पानीसमेत नखाएर निराहार बस्नुपर्छ । ‘फर्हार’ अटवारीको अन्तिम पूजा होे । यस दिन व्रतालु बिहानैदेखि खानपिनको तयारीमा जुटेका हुन्छन् । यस दिनको खानामा खास गरेर भात, खँरिया, फुलौरी, पोंइको साग मिसाएको ठुसा, सुखौरा माछा, चिचिण्डो, घिरौला र भेन्डीलगायतका विजोर सङ्ख्यामा तरकारी बनाइएको हुन्छ । माछाको सुखौरा विशेष मानिन्छ तर मासु भने हुँदैन । ‘फर्हार’ पछि मात्रै मासु ल्याउने या खाने गरिन्छ ।

सबै पकवान तयार भएपछि ‘फर्हार’ शुरु हुन्छ । व्रतालु पहिलो दिनको जस्तै दोस्रो पनि नुहाई धुवाई गरी अग्यारी दिएर आफ्ना चेली बेटीका लागि ‘अग्रासन’ निकाल्ने गर्छन् । अग्रासन धातु वा प्लाष्टिकको भाँडामा निकालिँदैन । अग्रासन विशेषत नम्ह्रैन (मालु), कमल या केराको पातमा निकाल्ने गरिन्छ ।

अटवारी आउनुभन्दा केही दिन पहिले नै पात टिप्ने काम हुन्छ । प्रायःअग्रासन पात जोडेर बनाएको दुना टपरीमा निकालिन्छ । त्यो नभए विकल्पका रुपमा कमलको पात या केराको पात प्रयोेग भएको पनि पाइन्छ । यसरी प्रक्रियागतरुपमा सबै कार्य पूरा भइसकेका पछि मात्र व्रतालु अन्न ग्रहण गर्छन् ।
 

अग्रासन दिन जाने :

अटवारी पर्व उपवासमा खानु अगाडि हरेक ब्रतालु, ब्रतमा खाने सबै कुरा, एक टपरी वा भाँडोमा निकाली भगवानलाई चढाउँछन् र चढाइसकेपछि आफू खान्छन् । अटवारीमा भीमलाई चढाएको प्रसाद नै अग्रासन हो, जुन अग्रासन चेलीबेटीको घरमा कोशेलीका रुपमा दिन जाने चलन छ ।

अटवारी पर्वमा चेलीबेटीलाई घरमै बोलाउने चलन छैन । ब्रतालुले निकालेको ‘अग्रासन’ उनीहरुकै घरमा पुर्याउन जाने चलन छ । अग्रासन पुर्याउन प्रायःदाजुभाइ नै जाने गर्छन् । दाजुभाइ नभए अन्य सदस्य जान्छन् । चेलीबेटी पनि अग्रासन दिन आउनेलाई मानसम्मान गर्छन् । सम्मानार्थ मिठो परिकार वनाई जाँड, रक्सीसँग खुवाउने गर्छन् । अतिथि सत्कारका लागि थारु समुदायमा जाँडरक्सी ठूलो मानिन्छ ।

भातृत्वप्रेम र सद्भाव 

बर्का अटवारी पर्व तथा अग्रासनको आफ्नै महत्व छ । यसले चेलीबेटीको आफ्नै घर र लैहेर (माइती) बीचको घनिष्टता तथा दाजुभाइ, दिदीवहिनी, फूपूभतिजको घनिष्ट मायाप्रेम र सम्बन्धसँग गाँसेको हुन्छ । अटवारीको कोशेली अग्रासन दिन माइती आउँदै होलान भन्दै चेलीबेटी माइतीको बाटो हेरी कुर्दै बसेका हुन्छन् । 

चेलीबेटीले अटवारी व्रतको अग्रासनलाई भगवानको प्रसादका रुपमा आपूmले खान पाउनुपर्ने हकका रुपमा लिएका हुन्छन् । अटवारीको दोस्रो दिन माइतीबाट अग्रासन दिन आउने दाजुभाइ आउने बाटोतर्फ उनीहरु हेरिरहने गर्दछन् । उनीहरु ढिलो भएपनि साँझसम्म नै माइतीको पर्खाइमा बाटो हेरिरहेका हुन्छन् । साँझ अबेरसम्म पनि लैहेर (माइती)बाट अग्रासन दिन आएनन् भने माइतीले बिर्सिए या माया मारेकी, बाटोका आउँदै गर्दा दाजुभाइलाई केही भयो की अथवा माइतीमा केही नराम्रो घटना पो भयो की भन्ने चिन्तामा माइती सम्झी दुःखी भएर बस्दछन् । 

थारु बुद्धिजिवी तथा साहित्यकार शुसिल चौधरीले ‘अटवारी भावनासँग जोडिएको पर्व भएको बताउँछन्। “यसमा दाजुभाइ, दिदीबहिनीको माया लुटपुटिएको हुन्छ, सम्बन्ध गाँसिएको हुन्छ, उनीहरुको कृपा मिसिएको हुन्छ,” उनले भने– “अन्य कुरा जस्तो सामान्य होइन, चेलीबेटीका लागि अग्रासन महाप्रसाद हो, यो प्रसाद ग्रहणले मनलाई शान्ति र सन्तुष्टी मिल्छ, अग्रासन नपुग्दा चेलिबेटीको मनमा अशान्ति हुन्छ, के के नपुगे जस्तो भान हुन्छ ।” 

योे पर्व भातृत्वप्रेम र सद्भावको पर्वका रुपमा पनि लिने गरिन्छ । विशेषत वर्षात्को बेला खेतीपाती गर्न व्यस्त हुनुपर्ने साथै खोलानाला पानीले भरिएर आवतजावत गर्ने समस्याले लामो समयसम्म आफ्नो माइती जान नपाएका चेलीबेटी यस पर्वमा आफ्ना दाजुभाइ तथा परिवारसँग दुःखसुखका कुरा खुलेर पोख्ने पर्वका रुपमा मानिन्छ । यसरी एकै ठाउँमा बसेर सुखदुःखका कुरा र खानपिनले एकआपसमा विश्वास र आत्मियता बढाउने विश्वास रही आएको छ । 

अन्य पर्व जस्तो सबैले हरेक वर्ष मनाउन पाउने वा नपाउने भन्ने हुँदैन । यो पर्व खुसीयाली र हर्षउल्लासका लागि मनाइने चलन चल्दै आएको छ । थारु गुरुवा तथा अगुवा कालु थारुले यो पर्व मनाउँदै गरेको अवस्थामा घरमा कुनै सदस्यको मृत्यु भएमा अथवा घरमा पालिएका पशुपंक्षीको मृत्यु भएको अवस्थामा मात्र नमनाउने चलन छ । यसलाई अटवारी बिग्रिएको पनि भनिन्छ । 

अट्वारी पर्व सप्रिने अर्थात् मनाउन शुरुगर्ने दिन पनि हुने गरेको गुरुवा थारुले बताउँछन् । “अट्वारी बिग्रिएको घरमा महिलाले बच्चा जन्माइन् वा पशुपंक्षीले बच्चा जन्माए भने अटवारी सप्रिन्छ,” उनले भने– “यसलाई खुसियाली शुरु भयो, हर्ष उल्लास आयो भन्ने अर्थमा पनि बुझिन्छ ।” 

प्रदेश नं. ५ सरकारले प्रदेशमा अटवारी पर्वको उपलक्षमा आइतबार एक दिन बिदा घोषणा गरेको छ । यस प्रदेशका तराईका जिल्ला बाँके, बर्दिया, दाङ, कपिलबस्तु, रुपन्देही र नवलपरासीमा यो समुदायको बढी बसोवास रहेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा पौडि खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु दशैंमा किन घुम्ने कर्णाली ? जित सुनिश्चित नदेखेपछि प्रचण्ड चितवन छाडेर गोरखा जाने ! जेलमा भएको दङ्गामा कम्तीमा पन्ध्रको मृत्यु जुवाको खालबाट वडाध्यक्ष सहित १९ जना पक्राउ बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो कोरोना महामारीपछि पर्यटन क्षेत्रमा सुधार लुम्बिनीको बर्दियामा भ्यानको ठक्करबाट युवतीको मृत्यु दशैंमा धामीझाँक्रीद्वारा ब्रहमलुट, स्थानीय प्रशासन मौन प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता २३ असोजमा घाँटीमा मासुको हड्डी अड्किएर ४५ वर्षीय पुरुषको मृत्यु पाल्पामा पञ्चबली लिएर मन्दिर हिँडेको जिप दुर्घटना : ४ जना घाइते, २ को अवस्था गम्भिर एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड दुवईमा सम्पन्न सिट बाँडफाट टुंगो लगाउन बैठक ३ बजे बस्ने दशैंमा रुकुमका बादी बस्तीलाई छैन कुनै रौनक दशैमा यसरी बनाउनुहोस मटन ग्रेभी, चिकेन रोस्ट र पनिर ग्रेभी खोला किनारमा गाडी राखेर नुहाउन गएका बाबुछोरा बेपत्ता न्यून आय भएका परिवारका लागि सरकारले दुई हजार घर निर्माण गर्ने उत्तर कोरियाद्वारा जापानतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार पत्रकार उपचार कोषमा ६० लाख, करोड लक्ष्य