ताजा अपडेट »

गाउँको डायरी : मलाई नि लैजानुस् न श्रीमान् !

आइतबार, ०७ भदौ २०७७, १७ : ०९
73 Shares


रिङसिङ लेकलाई शीरमा सजाएर
खिस्स हाँसेको छ
घाङ्चलुङ्ग देवीको पूजा गर्दै
घिचिन गुफामा लुकेको छ
ढिकी कुट्ने ओखल जस्तै ढुंगा भएर
ओखलढुंगा !
आउ मेरो इतिहास बुझ्न
म तिमीलाई मकै, भट्ट र कोदोको जुसले स्वागत गर्ने छु
इन्सेटमा रिङसिङ, घाङ्चलुङ्ग, घिचिन र ओखलढुंगालाई साक्षी राखेर
तिमी र म अम्रिसोमा सेल्फी खिचौंला ।
(डीबी गुरुङको ओखलढुंगामा म कविताबाट)

सुन्दर, चिटिक्क र मनोरम छ पहाडी ओखलढुंगा गाउँ । समुद्री सतहदेखि करिव एक हजार एक सय मीटर उचाइँमा रहेको यो गाउँ रिङसिङ लेकको काखैमा छ । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं. १ मा पर्ने ओखलढुङ्गा पुगेपछि भू–स्वर्ग लाग्छ सबैलाई । कतै समथर, कतै पाखोबारी, भिराला, कान्लाहरु गाउँका स्वरुप हुन् । धेरैले ओखलढुंगा भन्नासाथ युगकवि सिद्धिचरण श्रेष्ठ कै प्यारो ओखलढुंगा सम्झिन्छन् । गाउँलेहरुले माहुरी पालेका छन् । मह चाखेका मात्र छैनन् बेचेर मनग्य पैसा कमाएका छन् । मौरी जस्तै मिहिनेती गाउँलेहरुले पाखोबारीमा अमृतसरि अम्रिसो लहलह झुलाएका छन् । गाउँमा अम्रिसो (कूचो, बेर्ना रुवरुप गानो) बेचेर वर्षेनी ५०/६० लाख पैसा भित्रिन्छ भन्दा झट्ट विश्वास नलाग्न सक्छ ।

ढिकी कुट्ने ओखल जस्तै ढुंगा

धान, कोदो र मकै स्थानीयका मुख्य बाली हन् । गाउँलेहरुले बाख्रापालन, कुखुरापालन र व्यसायिक तरकारी खेती गरेर गाउँको मुहार फेर्दै छन् । लघु–लजविद्युतबाट उज्यालो पाएका गाउँलेहरुले निकट भविष्यमै केन्द्रीय विद्युत लाइनबाट उज्यालो पाउँदैछन् । गाउँमै सानातिना उद्योग, कलकारखाना चल्ने छन् । गाउँकै बीचमा ढिकी कुट्ने ओखल जस्तै ढुंगा छ । त्यही भएर नै गाउँको नाम ओखलढुंगा रहन गएको हुन सक्ने बुढापाकाहरुका कुरा सापट लिएर तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरले तर्क पेश गरे । ओखलढुंगा उनकै जन्मघर हो । गाउँकै विद्यालयबाट प्रारम्भिक शिक्षा हाँसिल गरेका उनी आँटो, पिठो खाई हुर्किएर जिल्लाको राजनीतिमा सक्रिय छन् । उनै घर्तीमगर २०५४ सालको स्थानीय निर्वाचनमा हुँदाखाँदाको स्थायी मास्टरी सेवा छोडेर साविक कचल गाविसको अध्यक्ष भएका थिए ।

गाउँमा अम्रिसाे र काेदाे खेतीका साथ गाउँपालिका अध्यक्ष

ओखलढुंगामा बाटो पुगेको छ । त्यहाँबाट ढुस्टुङ्, बतासेहुँदै तानसेनसम्म र ओखलढुंगाबाट खुर्साने, दोभानहुँदै १७ किलोमीटरको दूरीमा रहेको बुटवलसम्म्म दैनिक जीप सञ्चालन हुँदै आएका छन् । त्यहाँका मान्छेहरुमात्र सहर पस्दैनन् । गाउँका अर्गानिक उत्पादनहरु सहरमा पैसासँग साटिन पुग्छन् । एक घर एक धाराको व्यवस्थापन भएपछि गाउँमा पानीको समस्या टर्ने छ । सिंचाई र गाईबाख्रालाई पानी खुवाउनका निम्ति गौबास पोखरी छ । जो रिचार्ज सेन्टरका रुपमा गाउँलेहरुले बनाएका हुन् । २०२७ सालमा स्थापना भई १२ कक्षासम्म पढाइ हुने ज्ञानोदय माध्यमिक विद्यालय गाउँमै छ । अहिले यहाँ पढ्ने तीन सय बढी विद्यार्थी छन् । हरिनारायण पौडेल विद्यालयका प्रधानाध्यापक छन् । विद्यालयमा निमावि र मावि तह पढ्न छिमेकी गाउँहरु काफलबारी, बुढीकोट, ताल, मुर्थुम र कुँडापानीबाट विद्यार्थी आउने गर्छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुवनसिंह चिदीले भने–तह अनुसारको शिक्षक दरवन्दी छैन । भौतिक संरचना सोचे जस्तो बनाउन सकिएको छैन । विद्यालयको आम्दानी बढाउन गाउँका खाली र पाखो सरकारी जमीनहरुमा अम्रिसो खेती गरिएका छन् । वर्षमा लाख बढी आम्दानी अम्रिसोबाटै हुन्छ । गाउँलेहरुको प्रयास,पहल र परिश्रमबाट नै विद्यालय सञ्चालन भएको छ । गाउँबाट तेस्रो मुलुक जानेहरु अति नै कम छन् । धेरैजसो भारततिर जाने गर्छन् । ओखलढुंगाका बासिन्दाहरु मौसमी काम गर्न अर्थात् खोटोको काम गर्नका लागि दैलेख, प्युठान र जाजरकोटसम्म पुग्ने गरेका छन् । डेढदेखि दुईसयका संख्यामा मजदूरी गर्न जानेहरुले ६ महिनामा एक करोड जति नगद रुपैयाँ गाउँमा भित्राउँदा रहेछन् । अचेल सडक र घर बनाउने काममा त्यहाँका बासिन्दाहरु बुटवल, पाल्पा, गुल्मीतिर पुगेका छन् ।

घिचिन गुफा बाहिर

गाउँमा पर्यटकीय सम्भावना बोकेका प्रशस्त ठाउँहरु छन् । प्राकृतिक एवम् ऐतिहासिक महत्व बोकेको एक हजार पाँच सय मीटर उचाइँमा अवस्थित रिङसिङ लेकमा मुगलहरुको आक्रमणबाट जोगिएर तुथाराम सेन भारतहुँदै बुटवलबाट यही लेकमा आएर बसेको र त्यसपछि उनी रिब्दिकोट, भैरवस्थानहुँदै तानसेनमा सेन राज्यको राजधानी स्थापना गर्न गएको ऐतिहासिक दस्तावेजहरुमा उल्लेख भएको पाइन्छ । यही लेक(पहाड) बाट तराईका समथर भू–भागहरु आँखैमा नाच्छन् । उत्तरतिरका हिमालहरु दन्तेलहर देखाएर नहाँसेका कहाँ हुन् र ? कचलफाँट र ओखलढुंगा जस्ता गाउँहरु काखैमा सजाएर राखेको रिङसिङ लेकलाई सम्झिएर रिङसिङ वचत तथा ऋण सहकारी सञ्चालन गरी गाउँलेहरु आर्थिक उन्नतिको यात्रामा छन् ।

घिचिन गुफा भित्र

मगर भाषामा घाङ्चलुङ्ग भन्नाले नेपालीमा अग्लो ढुंगा भन्ने अर्थ लाग्छ । यही गाउँको शिरानमा रहेको सोही घाङ्चलुङ्गलाई घाङ्चलुङ्ग देवीको रुपमा पूजा गर्ने चलन भने नयाँ होइन । गाउँमा करिव २० मीटर गहिराईको एउटा गुफा छ । त्यसलाई गाउँलेहरुले घिचिन गुफा भन्छन् । मगर भाषामा भनिएको घिचिनको नेपाली अर्थ चमेरो हुन्छ । अर्थात् त्यसलाई चमेरे गुफा भन्न सकिन्छ । आज पनि चमेरे गुफामा चमेरा उँधोमून्टो लगाएर पिङ खेलेका भेटिन्छन् । यही गुफालाई आवश्यक सरसफाइ र उचित व्यवस्थापन गरेर नयाँ पर्यटकीय गन्तव्य बनाउन सकिन्छ । रिङसिङ लेक, ओखलढुंगा, घाङ्चलुङ्ग र घिचिन गुफा जस्ता ऐतिहासिक,पौराणिक र सम्भावित पर्यटकीय स्थलहरुका संरक्षण,सम्वद्र्धन र आवश्यक प्रचार–प्रसार गर्दै पर्यटन प्रवद्र्धन गर्न सकिन्छ ।

गाउँलेहरु स्थानीय पर्वमा

त्यी स्थानहरुका महिमा र गरिमा फैलाउन सक्ने हो भने वर्षेनी हजारौंका संख्यामा आन्तरिक एवम् बाह्य पर्यटक ओखलढुंगा पुराउन सकिने छ । यसो भएमा पर्यटकहरुलाई खुवाउन बसाल्नका लागि घरबास कार्यक्रम सञ्चालन गर्न सकिन्छ । रैथाने उत्पादनहरु पकाएर पर्यटकलाई आफ्नो पाक्वकला प्रदर्शन गरी अर्थोपार्जन गर्न सकिन्छ । विभिन्न महोत्सव र पर्वहरुमा प्रदर्शन गरिने स्थानीय ठूलो नाच, सालै जो, सोरठी, मारुनी र झ्याउँरे नाचलाई पर्यटकका सामू पस्किएर आफ्नो लोप हुन थालेका सांस्कृतिक कार्यक्रमहरुलाई जगेर्ना गर्दै आम्दानीका बाटा फराकिला बनाउन सकिने छ । यसो भएमा स्थानीय युवाहरुका नृत्य,गायन तथा बाद्यबाधन कला तिखारिने अवसर पाउने छन् । सांस्कृतिक कार्यक्रमहरु पुस्तान्तरण हुने अवसर मिल्ने छ ।

ज्ञानाेदय माविका विद्यार्थीकाे पाैरख

अमृत जस्तै अम्रिसो हेर्न,माहुरी पालन, तरकारी खेती र रहर लाग्दो पशुपालन देखाउन ओखलढुंगामा पर्यटन प्रवद्र्धन गर्न जरुरी भइसकेको छ । प्रदेश सरकारले पहाडी क्षेत्रलाई हील पर्यटन केन्द्र बनाउने योजना भए अनुसार यही गाउँमा लागू गर्न सकिएमा जाती हुनेछ । गाउँमा करिव एकसय ४० घरहरु छन् । १० घर दलितजाति( एक घर सार्की, नौं घर विश्वकर्मा) र बाँकी सबै मगरजातिको बसोबास रहेको पाइन्छ । जनसंख्या लगभग सातसय पुगेको छ । स्थानीय टूर गाईड युवाहरुले आन्तरिक पर्यटकहरुलाई गाउँकै चिसोपानी र आवश्यकता अनुसार कोदोको जुस पिलाउँदै उल्लेखित पर्यटकीय गन्तव्यहरु घुमाउने छन् । फूलका माला र अबीर लगाएर गाउँकै मकै, भट्ट खुबाएर, गाउँमै स्वागत गर्नेछन् ।

रिङसिङ लेक

विदाई हुने बेला पर्यटकहरुलाई गाउँकै उत्पादन एकएक थान अम्रिसोको कूचो उपहार दिइने छ । पाएको कूचो उपहार पर्यटकले घरकी जहानलाई दिंदा खुसी हुने छिन् । ओखलढुंगाका घर, आँगन जस्तै आफ्ना घर, आँगन सफा गर्नेछिन् र कूचो ठूटो हुँदै जाँदा एकदिन भन्नेछिन्–अम्रिसोको कूचो उपहार पाइने ओखलढुंगा मलाई नि लैजानुस् न श्रीमान् !

घाङ्चलुङ अर्थात् अग्लाे ढुंगा
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।