ताजा अपडेट »

डेढ महिनादेखि दार्चुला–तिङ्कर सडक अवरुद्ध

शनिबार, ०६ भदौ २०७७, १४ : ००
2 Shares

दार्चुला । निर्माणाधीन दार्चुला–तिङ्कर सडक खण्डको ट्र्याक खुलेको ४० किलोमिटर सडकखण्ड डेढ महिनादेखि अवरुद्ध भएको छ । १२ वर्ष अघिबाट निर्माण शुरु भएको सो सडकखण्डको खलङ्गादेखि व्यास गाउँपालिकाको सुनसेरा तुसरपानीसम्म सडकको ट्र्याक खुलेको थियो तर बर्खा शुरु भएसँगै यो क्षेत्रको सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।

खलङ्गादेखि दुहुँको हिकिलासम्म मात्रै झण्डै आधा दर्जन ठाउँमा सडक अवरुद्ध भएको छ । हिकिलादेखि सुनसेरासम्म पनि सोही मात्रामा सडक अवरुद्ध भएको छ । तत्काललाई दुहुँ गाउँपालिकाको हिकिलासम्म सडक पुनः सञ्चालन गर्न पनि निकै सास्ती छ । “निर्माणाधीन सडक अवरुद्ध भएसँगै दुहँु र व्यासको जनजीवन अस्तव्यस्त बनेको छ”, दुहुँ गाउँपालिका–५ का जयदेव महराले भन्नुभयो, “पैदल हिँड्न पनि बाटो अप्ठ्यारो छ । ठाउँठाउँमा पहिरो गएको छ । ढुङ्गा खस्ने डर उत्तिकै छ ।” व्यासदेखि खलङ्गा पुग्न झन् कष्टकर छ । विगतमा भारतीय बाटो हुँदै सदरमुकामसम्म आवतजावत हुने गथ्र्यो तर यो पटक गत चैत ११ गतेदेखि लकडाउन शुरु भयो । नेपाल भारत नाका यही भदौ मसान्तसम्मका लागि सरकारले बन्द गराएको छ ।

दार्चुला–तिङ्कर सडक योजनाले अवरुद्ध सडक खुलाउन शुरु भएको जनाएको छ । योजनाका इन्जिनीयर दिनेश रैखोलाले भन्नुभयो, “व्यास र दुहुँमा खाद्यान्न लगायतका सामग्रीको अभाव भयो भनेर भनेको भन्यैैछन् । ”तिमुरपाटामा मात्रै २० मिटर बढी पर्खाल लगाउनुपर्ने छ । अहिले कार्यालयले नै स्थानीयवासीलाई काममा लगाएर जाली भराउने काम शुरु गराएको उहाँले जनाउनुभयो । हिकिलासम्मको ६÷७ ठाउँमा सडक बिग्रिएको छ । तिमुरपाटामा सडक खुलाउन सके अन्य क्षेत्रमा मेसिन लिन सकिन्छ । मेसिन पठाउन सकियो भने दुई साताभित्र ट्र्याक्टर गुड्ने गरी सडक खुलाउने प्रयास भइरहेको इन्जिनीयर रैखोला बताउनुहुन्छ । खलङ्गा खार गोकुलेश्वर सडक पनि एक महिनादेखि अवरुद्ध छ । गत साउन ५ गते आएको बाढी पहिराका कारण यो सडकखण्ड अवरुद्ध छ ।

जिल्ला सदरमुकाम खलङ्गा नजीकै रहेको धौलिगाडमा सडक मर्मत गरी एक महिनापछि सडक पुनः सञ्चालन गरिएको छ । गत साउन ४ गते राति आएको अविरल वर्षाका कारण धौलिगाडले सडकमा क्षति पु¥याएपछि सो सडक अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय बैतडी पाटनले अस्थायी रुपमा सडक खुलाउने काम गरेको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बताउनुभयो । अहिले पनि पर्खाल लगाउने काम चलिरहेको छ । सोही ठाउँमा निर्माणाधीन पुल अधुरै रहँदा बाढीले सडक बगाएको हो । मुआब्जा विवादका कारण ५ वर्षदेखि सो क्षेत्रमा पुल निर्माण हुन सकेको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।