ताजा अपडेट »

कथा : माइती

शुक्रबार, ३० साउन २०७७, १९ : १७
31 Shares

पाँच भाइकी एउटी बहिनी ताराको बिहे धुमधामसँग गरिदिए । ज्वाइँको फर्निचर उद्योग, कुटानी पिसानी मिल , गाडी व्यवसाय , ठेक्कापट्टा जस्ता थुप्रै व्यवसायहरू । जिल्ला सदरमुकामका चल्ताफूर्ता । देउसीभैलो खेल्नेहरूको, चन्दा उठाउनेहरूको, विभिन्न कार्यक्रमहरूको सौजन्यता खोज्नेहरूको निम्ति पहिलो रोजाइ र खोजाइमा पर्थे उनी ।

एउटा सामान्य किसानकी रुपवती छोरी जसका दाजुभाई इण्डियामा नोकरी गर्थे, मात्रै बिहेका कारण बिजनेश क्लासमा उक्लिइन् । माइतीतिरको आँखामा त उनी कति सम्मानित भइन् कति ! माइतीमा केरा पाक्यो, गाई ब्यायो, आँप पाक्यो भने कोसेली बोकेर आइहाल्थे भदाहाभदैनीहरू । नपठाईदिए पनि हुन्छ, पैसा भएपछि सबै चिज यहीँ पाईन्छ भनेर खबर पठाउँथिन् । तपाइँलाई नखुवाएसम्म त कसैको घाटीबाट छिर्दैन भन्थे भदाहाभदैनीहरू । दुई चार दिन बस्थे उनीहरू र फर्कदा खुल्ला दिलले लुगा र विभिन्न सामानहरूको कोसेली बोकाएर पठाउँथिन् तारा । नपुग्दो केही थिएन, श्रीमान् र परिवारबाट रोकटोक त परैको कुरा सोधखोज पनि हुने होइन ।

स्कूलमा वा साथीसँगीहरूसँग गाडीको प्रसंग आयो भने हाम्री तारा दिदीका यति वटा यस्तायस्ता गाडीहरू छन् भन्न भ्याउँथे । प्रसंग आउँदा र कहिलेकाहीँ त प्रसंग बनाएर भएपनि उनका उद्योग , व्यवसाय र कलकारखानाहरूको बयान गर्न चुक्दैनथे भदाहभदैनीहरू । उनीहरू हिउँदे र बर्खे बिदामा तारा दिदीकोमा जान मन पराउँथे मावली जानभन्दा ।

आमाबाबुकी तारा छोरी, दाजुहरूकी तारा बहिनी , भदाहाभदैनीहरूकी तारा दिदी, भाउजूहरूकी तारा नानी । तारा, तारा, तारा……….। सासु–ससुरालाई आफ्नै गाडीमा मनकामना, मुक्तिनाथ, पोखरा, पशुपति दर्शन गराए ज्वाईं राजाले । "ज्वाइँले अब दुःख गर्नुपर्दैन तपाइँहरूले भन्नुभएको छ," धक्कु लगाउँथे गाउँलेहरूसँग सासुससुराहरूले ।

ज्वाईं अत्यन्तै ब्यस्त हुन थाले । प्रत्येक बिजनेशको लागि रेखदेख गर्ने एउटा एउटा मान्छे राखे । केही दिन नै हराउन थाले घरबाट । शुरूशुरूका त फुर्सद नभएर होला भन्ने लाग्यो । तर पछि क्रमशः श्रीमानका गतिविधि शंकास्पद लाग्न थाले तारालाई । ढिला भइसकेको थियोे तारा स्पष्ट हुँदासम्म । छिट्टै आर्थिक , नैतिक र सामाजिक पतन छरपस्ट भयो । सबै सम्पत्ति लिलामीमा गयो । श्रीमान डिप्रेशनमा गइहाले । तीन बच्चाहरूलाई कसरी हुर्काउने ? धन्न बाससम्म बच्यो ।

माइतीहरूसँगको आउजाउ बन्द हुन एक वर्ष पनि लागेन ताराको । घर ब्यबहार आमाबाबुबाट दाईभाउजूहरूमा सरिसकेको थियो । दाजुभाइहरू अंशबण्डा लगाएत जग्गा किनबेचमा मालपोत कार्यालयमा पटकपटक आएको सुन्थिन्, भदाहभदैनीहरू नागरिकता बनाउन , विभिन्न परीक्षाहरूमा सामेल हुन सदरमुकाम आउँथे, तर पस्दैनथे । चरक्क मन दुख्थ्यो ताराको ।

कहिलेकाही ताराले नै फोन गर्थिन् माइतीहरूलाई । "हेर्नु न नानी यो वर्ष त तरकारीसरकारी पनि केही फलेन," सन्चोबिसन्चो सोध्नुभन्दा पहिले नै सुनाउँथे भाउजूहरू । पोहोर साल तीजको दर खाने दिनसम्म पनि पर्खि रहिन् तारा कोही आइहाल्छ कि भनेर । पुराना दिनहरू सम्झिइन् कसरी तीज आउनुभन्दा एक साता अगाडि नै भाउजूहरू आएर भान्जाभान्जीलाई बोकेर लिएर जान्थे । को लिन आउने भनेर झगडा नै हुन्थ्यो । एकपाली त माइली भाउजू बोल्दै बोलिनन् पूरै तीजभरी नै त्यो अबसर नपाएकोमा । "छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेडी" । दिउँसो तीन बजेसम्म कोही लिन आएन ।

अब कसैले माइत किन नगएको भनेर सोध्यो भने के भन्ने भनेर सोँचिरहेकी थिइन् । एउटा फोन आयो र दुई घण्टीमै काटियो । हेरिन सेभ नभएको नम्बर थियोे । कस्को होला ! माइतीहरूमध्ये कसैको हो कि ? फेरी आउला भन्ने सोचिन् । कोही लिन आउँछ कि भनेर दिनभर कुर्दा त्यतिको अधैर्य भएकी थिइनन् जति अहिले फोन कुर्दा भइन् । तर,फोन आएन । अनिश्चितताको आँधीबेहरी शान्त पार्नु नै थियो । फोन गरिन् त्यहीँ नम्बरमा ।

"हेल्लो, नानी , म भाउजू बोलेको , उ गए होला , उ गए होला भन्दाभन्दै कोही पनि गएनछ , आउन त भ्याउनुन्नथ्यो होला , म पनि घर छैन माइत आएकी छु अस्ति", एकै सासमा बोलिन् माइली भाउजू । "हो भाउजू भ्याउन्नथे", भननन्न रिंगटा लाग्यो तारालाई तर,पनि सम्हालिइन् तारा । पहिले माइली भाउजूसँग त्यति नजिक थिइनन् तारा जति अरु भाउजूहरूसँग थिइन् । झगडालु छिन् जस्तो लाग्थ्यो । तर,आज खै किन हो केही न केही बेग्लै लागीन् उनी ।

यो वर्ष कोरोनाले संसार नै तहसनहस पार्यो। तारालाई थप सास्ती भयो यो परिस्थितिले । पोहोर तीजमा माइती नगएको कारणको बाहना बनाउन निकै गार्हो भएको थियो । यो पाली कोरोनाको कारणले तीजमा माइती जान पाउन्निन तारा । त्यसो त छिमेकीहरू कसैले पनि कारण सोध्ने छैनन् । तीज नजिकीदै गर्दा मनमनै धन्यवाद दिइरहेकी छिन् कोरोनालाई ताराले ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।