ताजा अपडेट »

गाईबाट भ्याइनभ्याई

मंगलबार, २० साउन २०७७, १८ : २९
14 Shares

अस्मिता थापा सबेरै उठ्छिन् । गाईवस्तुको स्याहार सुसार गर्छिन् । कुँडोफाँडो र दूध दुहेर सक्दा उज्यालो भूइँमा खस्छ । दैनिक साँझ र विहान गरी ६५ लिटर दूध बेच्छिन् । एक लिटर दूधको ५५ देखि ५७ रुपैयाँसम्म पर्दोरहेछ फ्याट अनुसार । सामान्यरुपमा औंलामा जोड घटाउ गर्दा पनि सरदर महिनाको एक लाख रुपैयाँ पर्दोरहेछ दूधको । आफ्नै घरमा अस्मिताले दूध संकलन केन्द्र समेत राखेकी छिन् । जम्मा गरेको दूध सालझण्डीको तीनधारे पु¥याउँछन् ।

अस्मिताले गाईका लागि दानापानी, घाँस र ओखतीमा खर्च गरेर पनि महिनामा पचास हजार चोख्खो बच्नेकुरा हाँस्दै बताइन् । उनको हाँसो अर्गानिक खालको थियो । मिहिनेतको हाँसो सुन्दा पनि मज्जा आउँदो रहेछ । अहिले उनको गोठमा १० वटा माउ र दुईवटा कोरली गाई छन् । सातवटा माउ गाईले दैनिक दूध दिदै आएका छन् । उनका गोठमा भएका गाईहरुमध्ये एउटा गाईले बढीमा १७ लिटरसम्म दूघ दिदैं आएको सुनाईन । करीव एक बिघा आफ्नै कच्ची जग्गामा नेपिएर, मलाटो, जुनेलो र बाजरा जातका घाँसहरु लगाएकी छन् । हेफर नामक संस्थाले दिएको बहुवर्षीय नेपिएर घाँसले उनलाई केही राहत मिलेको छ ।

तरपनि तराईका खलाहरुमा वर्षातका समयमा पानी जम्ने भएका हुँदा घाँसहरु मर्ने गरेको दुखेसो सुनाईन । हिउँदमा त ठीकै हुने तर वर्षामास घाँसको समस्या बढी देखिने रहेछ । आफूले गाईपालनका लागि प्रतिवर्ष ५० हजार बढी रुपैयाँको पराल खरिद गर्नुपर्ने अवस्था रहेको बताइन् । यसपाली भने झन् एक लाख रुपैयाँ कै पराल किनेकी सुनाईन् । २०७० सालदेखि नै उनले गाईपालन गर्दै आएकी छन् । अहिले उनको गोठमा जर्सी र होलिस्टीक जातका गाईहरु छन् । सुरुमा उनले निर्धन बैंकबाट ५० हजार कर्जा लिइन् । सो कर्जाबाट प्राप्त पैसाले गोठ बनाईन् । सुरुआती समयमा उनले दुईवटा जर्सी पालेकी थिइन् । त्यतिबेला एउटा जर्सीगाईको मोल ३५ हजार रुपैयाँ र एउटा गाईले ८ लिटरसम्म दूध दिन्थ्यो रे !

प्रायजसो गाईमा थुनेलोको समस्या हुने गर्छ । त्यसका लागि आफूहरुले घरेलु ओखतीको प्रयोग गर्दै आएता पनि गाईमा देखिने अन्य प्रकारका जटिल समस्याहरुबाट पार पाउन भेटेनरी डाक्टरहरुलाई गुहार्ने अस्मिताले बताइन् । साथै उनले आफ्ना सबै गाईका बीमा समेत गरेकी छन् । आफू बस्ने गाउँमा दुई वर्ष देखि पानीको अति नै समस्या पर्न थालेको, हाते चापाकल सुक्दै गएको अनि गाईगोठ सफा गर्न र गाईलाई पानी खुवाउन समेत धौधौ हुँदै गएको दुखेसो सुनाउँदै गरेकी अस्मितालाई छेउमै बसेकी कञ्चन गाउँपालिका उपाध्यक्ष गोमा तरामूले स्यालो ट्यूबेल जोड्नका लागि सुझाउँदै थिइन् ।

ब्यक्तिगत वा समूहमा मिलेर गाड्न सकिने उक्त ट्यूबेललाई ढाईलाख पर्ने कुरा उपाध्यक्षले सुनाईन् । आफ्नो पालिकाले पशुपालक किसानहरुलाई सोको व्यवस्थापन गरेको समेत बताइन् । साथै अस्मितालाई उपाध्यक्ष गोमाले भनिन् –कृषि मीटर पनि जोड्नुस । सस्तो पर्छ । अस्मिताको मिलन गाईफर्मलाई कञ्चन गाउँपालिकाले भकारो सुधारका लागि दुईवर्ष अघि २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको रहेछ । गतवर्ष घाँस काट्ने मेसीन समेत दिएको रहेछ । पेट्रोलबाट चल्ने उक्त घाँस काट्ने मेसीनले एकघण्टामा दिनभर दुईजनाले हसियाँले काट्ने घाँस काट्न सक्दो रहेछ । एक घण्टामा एक लिटर पेट्रोल खर्च भएपनि सो मेसीन सहयोग पाएपछि आफूहरुले दिनभर घाँस काट्न नपरेको अस्मिताले बताइन् ।

कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण क्षेत्रीका अनुसार आफ्नो गाउँपालिकामा एकसय १० गाईफर्महरु दर्ता भइसकेका छन् । पाँचवटा गाई भएपछि फर्मका रुपमा दर्ता गर्ने चलन रहेछ । उनले भने–कञ्चन गाउँपालिकाले पशुपालकहरुलाई सक्दो सहयोग गरिराखेको छ । दूधमा अनुदान दिएको छ, गोठसुधारमा लगानी गरेको छ । आवश्यक सामग्रीहरु सहयोग गरेको छ ।
विहान चारघण्टा, दिउँसो एक घण्टा र साँझ तीन घण्टा गरी दैनिक आठ घण्टा गाईपालनमा नै समय र श्रम खर्चिएका अस्मिताका परिवार गाईपालनबाट सन्तुष्ट देखिन्थे । खुसीका साथ परिवारलाई हाँकेकी छन् अस्मिताले । गाईपालनबाट बचेको पैसाले नयाँ पक्की घर बनाउँदा केही पैसा थपिन् ।

छोराछोरीहरुलाई शिक्षादीक्षा र घरपरिवारको लालनपालन र घर खर्चमा लगाइन् । कञ्चन गाउँपालिकाको वडा नंं १ कुचेरा गाउँमा स्थायी बसोबास गर्दै आएका उनीहरुको पहाड घर भने गुल्मीको ठूलो लुम्पेक हो । कक्षा पाँचसम्म पढेकी अस्मितालाई अहिले भने गाईपालनबाट भ्याइनभ्याइ छ । अस्मिताको गाईपालनलाई पछिल्लो पटक श्रीमान दुर्गाबहादुरले भरपूर सहयोग गर्दै आएका छन् । फर्निचरमा मजदूरी गर्ने आफ्ना श्रमिान दुर्गाबहादुरलाई आफ्नै उद्यममा समाहित गरेकी छिन् । दुबैजना हाँसीखुसी गाईपालनमा लागेका छन् ।

अस्मिता र दुर्गाबहादुरको विहे २०५३ सालमा भएको थियो । विहे हुँदा अस्मिता १६ र दुर्गाबहादुर १७ वर्षका अर्थात् दुबै अल्लारे किशोर अवस्थाका थिए । अहिले उनीहरुका छोरीले स्नातक र छोरोले १२ पढ्दैछन् । अस्मिताको भविष्यको योजना भनेकै आफ्नो मिलन गाईफर्ममा गाईको संख्या बढाउने र थप गोठ सुधार गरी आम्दानीको बाटो फराकिलो बनाउने हो । चिलिङ्ग मेसीन राख्ने सुदूर भविष्यको सपना छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।