ताजा अपडेट »

पाल्पाकाे ऐतिहासिक भगवती जात्रा काेराेनाका कारण स्थगित

शनिबार, १७ साउन २०७७, १३ : ४२
6 Shares

तानसेन । कोभिड–१९ महामारीका कारण पाल्पाको प्रख्यात ऐतिहासिक भगवती तथा रणउजेश्वरी जात्रा यो वर्ष स्थगित भएको छ । जिल्ला प्रशासन कार्यालय र तानसेन नगरपालिकाको निर्यणानुसार यस वर्ष जात्रा ननिकाल्ने निर्णय भएको भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले जानकारी दिए ।

विजयोत्सवका रुपमा मनाइने भगवती जात्रा हेर्न विभिन्न जिल्लाबाट आउने गर्छन् । जात्रामा मानिसको ठूलो भीड लाग्ने भएकाले निरन्तर मनाउँदै आएको जात्रा यस पटक स्थगित गरिएको अध्यक्ष उदयको भनाइ छ । कर्णेल उजिरसिंह थापाले विसं १८७२ मा निर्माण थालनी गरी विसं १८७६ मा तीनतले मन्दिर पूरा गरेका थिए । तिनै थापा नेतृत्वको फौजले विसं १८७२ वैशाख ७ गते जीतगढीमा अङ्ग्रेजलाई परास्त गरेको थियो । युद्धमा निस्कनुअघि उनले विजय भएमा ठूलो मन्दिर बनाई खटजात्रा शुभारम्भ गर्ने भगवतीसँग भाकल गरेका थिए । आफ्नो भाकल पूरा भएपछि उनले तानसेनमा भगवतीको मन्दिर बनाएका हुन् ।

राष्ट्रियता, वीरता, धीरता, रणकौशलको इतिहास पनि यस रथयात्रासँग गाँसिएको छ । विसं १८७७ देखि निरन्तर कृष्ण जन्माष्टमीको भोलिपल्ट भगवतीको जात्रा निकालिँदै आएको छ । यसैगरी, पाल्पामा निकालिने गाईजात्रा, रोपाइँ जात्रा, बाघ जात्रा, नारायण जात्रा, गणेश जात्रा, कृष्ण जात्रालगायत जात्रा तथा पर्व यो वर्ष नगरिने भएको छ । जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, तानसेन नगरपालिका, विश्व हिन्दू महासङ्घ, विभिन्न गुठी सङ्घ संस्थाहरु र सरोकारवालाको बैठकले कोरोनाको जोखिमका कारण जात्राहरु नगर्ने निर्णय गरेको छ ।

कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै जिल्लामा यस वर्ष जात्रा तथा महोत्सव नगर्ने निर्णय भएको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।