ताजा अपडेट »

हतियार र सुनचाँदी फ्याँकेर भागेको घटना शङ्कास्पद

विहीबार, १५ साउन २०७७, १४ : ०४
6 Shares

काठमाडौँ । राजधानीको मुख्य क्षेत्र कमलादीमा प्रहरीकै अगाडि हातहतियार र सुनचाँदी फ्याँकेर भागेको घटना शङ्कास्पद देखिएको छ । मङ्गलबार प्रहरीकै अगाडि काठमाडौँको कमलादीमा त्यसरी सामान फ्याँक्ने व्यक्तिको अझै पहिचान हुनसकेको छैन । जाँच गर्ने क्रममा काठमाडौँको कमलादीमा बा ६ च ५५१९ नं को स्कारपियो गाडी रोक्न खोज्दा नरोकी गति बढाएपछि प्रहरीले पिछा गरेको महानगरीय प्रहरी परिसरले पत्रकार सम्मेलन नै गरेर जानकारी गराएको थियो ।

त्यसपछि बाटामै कपडाको झोला फ्याँकेर गाडी भागेको थियो । प्रहरीले पिछा गरे पनि गाडी कता गयो भनेर पत्ता लगाउन सकेको छैन । घटनाको अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरिएको छ । अझै केही व्यक्तिलाई नियन्त्रणमा लिन बाँकी रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । अनुसन्धानकै घेरामा रहेकाले अहिले नै घटना यसकारण भएको हो भनेर भन्न नसकिने प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । उहाँले छानबिन समिति गठन गरिएकाले प्रतिवेदन आएपछि यकिन भन्न सकिने बताउनुभयो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख पोखरेलका अनुसार गाडीको भने पहिचान भइसकेको छ । उनीहरुले फ्याँकेको झोला हेर्दा दुई थान म्याग्जिनसहित पेस्तोल र एक किलोका आठ थान, २५० ग्रामका २६ थान र ५०० ग्रामको एक थान धातु प्रहरीले बरामद गरेको थियो । उक्त धातु धेरै चाँदी र केही सुन रहेको जनाइएको छ । महानगरीय प्रहरी कार्यालय स्रोतका अनुसार उक्त घटनामा प्रहरीको पनि संलग्नताको आशङ्कामा त्यसतर्फ अनुसन्धान अघि बढाइएको छ ।

उक्त घटनाको छानबिनका लागि महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । दोस्रो दिनमै त्यस समितिको संयोजक परिवर्तन गरी महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक सुशील यादवलाई जिम्मेवारी दिइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।