ताजा अपडेट »

सिर्जनशील सुमित्रा

मंगलबार, १३ साउन २०७७, १० : ५८
68 Shares

आफ्नै जीवनको सारथि हो कला

विएफए पढ्ने बेला विहे भयो । एमएफए गर्दा बच्चा काखमा थियो तर पढ्ने हुटहुटीले छाडेन । बच्चालाई पिठ्यूँमा बोकेर पढाईमा अघि बढिरहिन् । उनको पढाई ललितकला सम्बन्धी थियो । सामान्यतया ललितकलामा चित्रकला,मूर्तिकला,लोककला,हस्तकला, शिल्पकला, वास्तुकला र अन्य सिर्जनात्मक कला पर्दछन् ।जन्मघर गुल्मीको ठूलो लुम्पेक । अहिलेको कालीगण्डकी गाउँपालिका । कान्छा दाइले भात पकाउन अर्थात् भान्से बनाउन काठमाडौं लगेका थिए कान्छी बहिनीलाई । उनै कान्छी बहिनी थिइन् सुमित्रा राना । बुटवल बहुमुखी क्याम्पसमा आईए प्रथम वर्ष पढ्दै थिइन् त्यतिबेला । रहरलेभन्दा पनि बाध्यताले राजधानी हान्निएकी थिइन् । दाइले काठमाडौंको नक्सा कोरेर दिने अनि सुमित्रा क्याम्पस वा अरु जहाँकही जाँदा सोही नक्सा हेरेर बाटो पत्ता लगाउने गर्थिन रे सुरुसुरुमा !

नक्सामा बाटो पहिल्याउने सुमित्राले आफ्नो भविष्यको बाटो चित्रकलामा भेटिन् । मास्टर्स अप्m फाइन आर्टस्को चित्रकलातर्फ प्रथम श्रेणीमा उत्तीर्ण भइन् । अहिले चित्रकारितामा उनको सिर्जनशीलताले निरन्तरता पाइरहेको छ ।२०७२ सालको बैसाख १२ गते भूकम्प जाँदा उनी काठमाडौंमा नै थिइन् छोरोसँग । भूकम्पले उनलाई बुटवलतिर ल्याइपु¥यायो त्यसपछि । बुटवलको दीप बोर्डिङ्ग स्कूलमा ललितकला विषयमा शिक्षक हुनु अघि काठमाडौंका बाल गणेश,ग्लोवल पब्लिक र हिमालयन माविमा चित्रकला विषयमा अध्यापन गर्थिन् ।कलामा बाँच्नुको मज्जा बेग्लै हुने सुनाइरहेकी थिइन् । कहिलेकाँही त खाना खान समेत भुसुक्कै बिर्सिने सुमित्राका चित्रकलाले बजार खोजीरहेका छन् ।

प्रशस्त चित्रहरु बनाउनै भ्याएकी छैनन् उनले । दिउँसोभरि स्कूलमै ठिक्क छ । विहान साँझको समयले उनलाई चित्रकारितामा व्यवसायिक तथा उद्यमी बनाउन सकिरहेको छैन । डेरामा उनले आजसम्म बनाएका चित्रहरु सजाएर राख्न भ्याएकी छैनन् । यदि बुटवलमा आर्ट ग्यालेरी हुन्थ्यो भने स्थानीय कलाकारहरुले आफ्ना चित्रकला प्रदर्शन गर्ने र बिक्री गर्ने गतिलो थलो बन्न सक्ने सुमित्राको तर्क छ ।कला सिर्जना हो । सिर्जनाको अर्को विम्व सुमित्रा हुन् । सुमित्राले बनाएका चित्रकला घोरिएर हेरिरहन मन लाग्छ । उनका चित्रमा गहिरो सन्देश र संवेदना छन् । अर्मूत चित्रहरुले जीवनलाई हरेक कोणबाट खोजीरहेका हुन्छन् । उनका चित्रमा ऐतिहासिक एवम् पुरातात्विक कुराहरुमात्र होइनन् वर्तमान भोगाईका दासत्वहरु समेत प्रष्टै झल्किन्छन् । सुमित्राका चित्रकारितालाई बुझ्न धैर्यता र लगनशीलताको खाँचो पर्छ । हतारको यात्राले कलालाई कहाँ बुझ्न सकिन्छ र ?

क्लासिक ग्यालेरी,काठमाडौंले छ जना महिला कलाकारहरुको प्रतिभालाई षटकोणमार्फत प्रस्तुती गरेको थियो । उनीसँगै सरिता डंगोल,सुष्मा शाक्य,जस्मीन राजभण्डारी,शौरङ्गा दर्शनधारी,सत्यशीला कसजू थिए । उमेरले सुमित्रा अरुभन्दा कान्छी थिइन् तर चित्रकलामा भने अब्बल । सुमित्राका चित्रहरु आजपनि क्लासिक ग्यालेरीमा सुरक्षित छन् ।ललितकलामा अध्ययन गरेर आएका गोविन्द चौधरी,यमबहादुर थापा र अनुभवले खारिएका होनाहार कलाकारहरु रुपन्देही क्षेत्रमा नभएका होइनन् तर महिला चित्रकारमा पढेलेखेका उनी मात्र छिन् । अहिले उनी नेपाल कमर्शियल आर्टिष्ट संघ,रुपन्देहीकी कोषाध्यक्ष समेत हुन् । सोही संस्थामार्फत उनकै अगुवाईमा बुटवलमा सञ्चालित औद्योगिक प्रदर्शनीमा दर्शकहरुका फेस पेन्टिङ्ग गरेर ५० हजार आम्दानी गरिन् तर सो संकलित पूरै रकम उनले आफ्नो संस्था रुपन्देही आर्टिष्ट संघलाई दिइन्

त्यतिमात्र होइन उनले आफूले पढाउने विद्यालयमा गतवर्ष चित्रकला प्रदर्शनी समेत गरिन् । जहाँ उनका विद्यार्थीले आफ्ना ५७ वटा चित्रहरु प्रदर्शनका लागि राखेका थिए । सोमध्ये ३५ वटा चित्रहरु न्यूनतम छ सय रुपैयाँदेखि अधिकतम एक हजार एक सय रुपैयाँसम्ममा बिक्री भएको सुमित्राले सुनाई रहँदा उनको अनुहार उज्यालो देखिन्थ्यो । उनले भन्दैथिइन्–कलाको मूल्य कहाँ छैन र ? तर सीप,जाँगर र धैर्यता चाहिन्छ । कलालाई उद्यमशीलतासँग जोडेर लैजानु आजको आवश्यकता हो ।
सुमित्राले महिला चित्रकला,युवा चित्रकला कार्यशाला, प्रथम दक्षिण एसियाली चित्रकला क्याम्प र दोस्रो अन्तर्राष्ट्रिय वाटरकलर महोत्सवमा समेत संलग्नता जनाइ सकेकी छन् । त्यतिमात्र होइन उनले नाफाद्वारा आयोजित नेपाल चित्रकला प्रदर्शनी ( सन् २००३ देखि २०१९ सम्म) मा सहभागी भइएकी छन् । त्यसैगरी सोलो आर्ट प्रदर्शनी,गु्रप आर्ट प्रदर्शनी,महिला चित्रकला प्रदर्शनीमा सार्थक सहभागी भइसकेकी छन् । यिनै कार्यशाला र प्रदर्शनीहरुले उनका प्रतिभाहरुलाई मौलाउने अवसर प्रदान गर्दै आएका छन् ।

रामकृष्ण गजुरेलद्वारा सिर्जित भूकम्पको पीडा नामक कवितासंग्रह नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको छ । जुन पुस्तकको कभर उनै सुमित्राले बनाएकी हुन् । त्यसैगरी कविवर रामचन्द्र भट्टराईद्वारा लिखित इतिहासको डालीमा मेरो साहित्य सोपान नामक पुस्तकमा समेत उनले कभर डिजाइन गरेकी छन् । यसले पनि साहित्यसँगै उनको जीवन्त चित्रकारिताको झलक प्रस्तुत गर्दछ ।
अन्तर विद्यालय र अन्तर जिल्लास्तरीय चित्रकला प्रतियोतिामा सुमित्रा प्रथम भएकी थिइन् । त्यो समय सन् १९९८ को हो । पछिल्लो पटक उनले नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय,सिंहदरवारबाट ललितकला विधामा प्रदेश नं. ५ को तर्फबाट ललितकला प्रतिभा पुरस्कार २०७६ प्राप्त गरेकी छन् । त्यसैगरी उनले ललितकला युवा प्रतिभा पुरस्कार २०७३ र केशव दवाडी ललितकला प्रतिभा पुरस्कार २०७६ लगायतका दर्जनौं महत्वपूर्ण पुरस्कार सम्मान प्राप्त गरिसकेकी छन् ।


सुमित्राका चित्रहरु देश÷परदेशका धेरै प्रदर्शनीहरुमा राखिएका मात्र होइनन बिक्री समेत भएका छन् । भविष्यमा चित्रकलामा नै पूर्णरुपमा लाग्ने संकल्प गरेकी सुमित्राले आफ्नै चित्रकला उद्यम गरी उद्यमी बन्ने रहर समेत पालेकी छन् । आफै स्वरोजगार भई अरुलाई समेत आफ्नो आर्ट उद्यममा रोजगार दिने सपना उनेकी छिन् । त्यसका लागि बहराईनमा भएका श्रीमान लिलबहादुर सुत्पराईसँग उनको छलफल भइरहेको छ । श्रीमान र श्रीमती मिलेर चिटिक्कको घर बनाउने,त्यही घरमा चित्रकला सिर्जना गर्ने , आफै उद्यमी बनेर आफूले प्राप्त गरेका पुरस्कार र सम्मानहरुको उचित मर्यादा राख्ने अठोट बोकेकी सुमित्राले भन्दैथिइन्– देशकै नमूना चित्रकार बनेर चित्रकारिताबाट समेत उद्यमी बन्न सकिन्छ, स्वरोजार बन्न सकिन्छ र अरुलाई समेत रोजगार दिन सकिन्छ भन्ने सकारात्मक सन्देश दिने मेरो अभियान छ । प्राचीन मिश्राबासीहरुले कला,मृत्युपछिको जीवन भनेका थिए तर सिर्जनशील सुमित्राले आफ्नो कलालाई आफ्नै जीवनको यात्रा ठानेकी छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।