ताजा अपडेट »

सारसको रोजाईमा लुम्बिनी, स्थानीयद्वारा संरक्षण प्रयास (फोटो फिचर)

सोमबार, १२ साउन २०७७, १९ : १६
26 Shares

भैरहवा । प्रेम र शान्तीको प्रतिक मानिएको लोपोन्मुख पंक्षी सारसको लागी लुम्बिनी सबैभन्दा ठूलो बासस्थान तथा प्रजनन् क्षेत्रको रुपमा परिचित हुदै गएको छ । पृथ्वीमा रहेका सबै भन्दा प्राचीन चराहरु मध्ये एक मानिने सारसको लागि लुम्बिनी क्षेत्रका स्थानीयहरुको सचेतना, लुम्बिनी विकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिकाको सक्रियता तथा स्थानीय क्लबहरुको सहकार्यमा लुम्बिनी सारसहरुको प्रिय बासस्थान मात्र नभई प्रजनन्को लागि पनि उत्तम ठहरेको छ ।

आफुलाई सुरक्षित ठानेका सारसहरु अहिले लुम्बिनी वरिपरि ढुक्क भएर आफ्ना सन्तान वृद्धिमा लागेका छन् । लुम्बिनी तथा यस आसपासका सिमसार क्षेत्रहरुमा अहिले सारसहरुले अण्डा दिने, ओथारो बस्ने लगायतका क्रियाकलाप गरि रहेका छन् । लुम्बिनी वरिपरि धान रोपाई सकिएकोले यस क्षेत्रमा मानवीय चहलपहल कम भएको छ । यसैले यो समय सारसलाई अण्डा दिने उपयुक्त समय हो । प्रजनन् समयमा जोडीमा बस्ने सारसले एक प्रजनन् अवधिमा दुई वटासम्म अण्डा पार्ने गर्दछन् । वर्षा ऋतुको समयमा करिब ३० देखी ३२ दिनको ओथारो बसाइपछि सारसले चल्ला कोरल्ने गर्दछ । चल्ला ५ देखि ६ महिनासम्म माउसँग नै बस्छन् । यो अवधिमा चल्लालाई खान सिकाउने काममा सारसको जोडीले सहयोग गर्छन् । सारसको बच्चा दैनिक १ ईन्चको दरले हुर्कने गरेको लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयको भनाई छ ।

एक बर्षको हाराहारीमा सबै सारसहरु बच्चासहित एकै स्थानमा भेला हुने गर्दछन् । त्यस पश्चात सारसको झुण्डमा सहभागी भई आजीवन जोडी बनाई बस्दछन् । माउ सारसले एक पटक अण्डा पारेको स्थानमा नै अण्डा दिन रुचाउने भएकोले सकेसम्म त्यहीँ ठाउमा अण्डा पार्न आउने गर्दछन् । रोचक कुरा के छ भने ओथारो बसेको समयमा भाले सारसले टाढाबाट आहारा खोजेर ल्याउने गर्दछ । आफ्नो बच्चा अण्डाबाट निस्के पछि आहारा खोज्न टाढा जान नपरोस भन्ने सोचाईले उसले नजिकको आहारा टिप्दैन । सामान्यतः गंगटो, भ्याकुता, माछा र केही विशेष घाँसका जराहरु सारसका मनपर्दो आहारा भएको भिक्षु मेत्तयको भनाई छ ।

प्रजनन् समयमा पनि जोडीमा रहेको सारस नाचेर प्रजनन् ब्यवहार प्रर्दशन गर्ने गर्दछन् । उनिहरु चरणवद्ध रुपमा नाच्ने गरेको र बच्चा अलि हुर्केपछि त्यो नृत्य उसलाई पनि सिकाउने गर्दछन् । लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा गाउँपालिका तथा मर्चवारसम्म पनि सारसहरुको प्रजनन् रोजाईमा पर्ने गरेको छ । लुम्बिनी वरिपरि अहिले १ सय ५० जोडी भन्दा बढी सारस रहेको संरक्षणकर्मिहरु बताउछन् । लोपोन्मुख मानिएको र नेपालको रुपन्देही र कपिलवस्तुको केही क्षेत्रमा पाईने चराको संरक्षणमा अहिले स्थानीयहरुको साथै लुम्बिनी विकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिका पनि जुटेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाले सारसलाई नगर पंक्षी घोषणा गरि यसको संरक्षणमा जुटेको छ ।

विकास कोषभित्र सारसका लागि उपयुक्त स्थान छुट्याइएको छ । विश्व शान्ति स्तूपा रहेको उत्तरतर्फको भागलाई सारस संरक्षण क्षेत्र तोकिएको हो । यहाँ कैयौँ जोडी सारस भेटिन्छन् । सारसको संरक्षण गरी पर्यटनसँग जोड्ने प्रयास भइरहेको कोषले जनाएको छ । पर्यटकको बसाइ अवधि लम्ब्याउन सारस क्षेत्र शान्ति स्तुपा परिसरमा दुई किलोमिटर पैदलमार्ग र अध्ययन गर्न चाहनेहरुलाई वातावरणीय सिकाइ केन्द्र निर्माण गर्ने कोषको योजना रहेको छ ।

चराविद्का अनुसार विश्वमा पाइने १५ प्रजातीका सारसहरू मध्ये नेपालमा चार प्रजातीका छन् । यहाँ लक्ष्मण सारस, कर्याङ-कुरुङ सारस, कालो टाउके सारस र सारस पाइन्छन् । अन्र्तराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूचीमा संवेदनशील प्रजातीमा राखिएका कालो टाउके सारस र सारस विश्वमै दुर्लभ पन्छी पनि मानिन्छन् । सारस नेपालको पश्चिम तराईमा वर्षभरि पाइने रैथाने पन्छी हो । यस अघि सारसको अण्डा, र मासुको अवैध सिकार हुने गरेको भए पनि अहिले भने केही नियन्त्रण भएको छ । अहिले स्थानियहरु नै यसको संरक्षणमा जुटेको संरक्षणकर्मि धर्मेन्द्र पाल बताउछन् ।

लुम्बिनीमा सारससँगै कोइली, भद्राई, कालो चिबे, मधुमक्षी, विभिन्न प्रजातिका बकुल्ला, भुडीफोर, घोगीफोर, लोभिपापी भुडिफोर, कालोगण्ड, हरिहाँस, बिजुलगैरे, सानो जलेवा, लगायतका २ सय २२ प्रजातिका चरा बस्छन् । लुम्बिनी वरिपरि नै सारस लगायतका चरा अवलोकन गर्ने गरि यसलाई पर्या–पर्यटनको रुपमा बिकास गर्ने गरि अगाडी बढ्नु पर्ने लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयको भनाई छ । सारसको संरक्षणसँगै लुम्बिनी क्षेत्र गौतम बुद्धका अनुयायीहरुको लागि मात्र नभई चराविद्हरुको अध्ययन केन्द्र, चरा अवलोकन गर्नेहरुका लागि पनि उत्तम गन्तब्यको सम्भावना बढेको छ ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा