ताजा अपडेट »

लघुकथा : क्रान्तिकारी बिहे

आइतबार, ११ साउन २०७७, १९ : २६
22 Shares

मानसिक हस्पिटलको कुरुवा कक्षमा बालकृष्ण, नरहरी र ढाकाराम रात कटाईरहेका छन् । छिमेकी आजाद अर्थात गणेश प्रसाद उपाध्याय आजादको छोरा सुवासचन्द्रलाई कुरेर । बि. एस्सी. को अन्तिम बर्षतिर केही मानसिक समस्याहरू देखापरेका उनलाई, अनि एम. एस्सी. भर्ना भएपछि त मानसिक हस्पिटलमा नै भर्ना हुनुपर्यो । आजाद धेरै दिन हस्पिटल बसेका हुनाले उनलाई आज रातिको पालो दिनको लागि यी छिमेकीहरू आएका हुन् ।

आजाद बनारसमा पढ्न गएको बेलामा कम्युनिस्ट विचारधाराका साथीहरूको संगतमा परे र त्यही बिचार अंगाल्ने सोचे र आफ्नो नाममा आजाद पनि त्यतिबेला नै थपेका हुन् उनले । त्यसबाट जीवनमा कहिल्यै पनि छुटकारा पाउन सकेनन् । छोराको नाम पनि भारतीय क्रान्तिकारी नेता सुवासचन्द्रको नाम राखिदिए ।

गाउँछिमेकलाई त यी ढोगी हुन् भन्ने थाहा थियोे तर जिल्लातिरका सबैले उनलाई एक सच्चा क्रान्तिकारीको रूपमा चिनेका थिए । कोहीकोही छिमेकी त उनकै कारणले प्रतिद्वन्दी पार्टीमा लागेका थिए । मार्क्स, लेनिन, माओहरूले भनेका महत्त्वपूर्ण वाणीहरू कुनकुन किताबको कतिकती पेजमा छ सजिलै भन्न सक्थे उनी । प्रेम र बिबाह सम्बन्धमा माक्र्सवादी बिचार तथा परिवार, निजी सम्पत्ति र राज्य सम्बन्धमा ऐङ्गेल्सको दृष्टिकोणू बिषयको क्लास लिन त उनलाई जिल्ला बाहिर पनि खटाउँथ्यो पार्टीले ।

'ढोँगी बुढो, छोरालाई पागल बनाई छाड्यो ।' बालकृष्णले कुरा निकाले,'खुरुक्क त्यही केटीसँग बिहे गर्न दिएको भए अहिले यो बेहाल हुने नै थिएन'। सबैलाई थाहा थियोे प्लस टु पढ्दाखेरी नै सुवासको सँगै पढ्ने केटीसँग गहिरो माया बस्यो, उसले बिहे गर्न खोज्यो तर बाहुले कुनै हालतमा पनि अनुमति दिएनन् । त्यसपछि पनि २, ३ वटी केटीसँग बिहे गर्न खोज्यो रे । सक्छस् दिदीहरूको बिहेको पनि खर्च उठा, सक्दैनस् भने कमसेकम आफ्नो पढाई खर्च त उठाउनै पर्छ नत्र हुन्न भन्थे रे ।

'भन्न त प्रतिक्रियावादी पार्टीको मान्छेकि छोरी हुँदै हुन्न भन्थे र, तर पुरै गाँठवाला खोजेका बुढाले' नरहरिले थपे, 'हो त अर्को पार्टीकोसँग बिहे नगराईदिने भए । छोरीको पनि गरिदिन्नथे होला, कान्छी छोरीको बिहे मन्दिरबाट गरिदिए, टन्न धनी परेछ, दाईजो पनि टन्नै दिए' ।

ढाकारामले सहमति जनाउँदै भने, 'हो त ,जेठी छोरीको बिहे भाषण गराएर गरिदिए तर पछी सुटुक्क केही दाईजो दिए ।' 'बिचरा बहिनी उमाको बिहे चाहिँ पूरै भाषण गरेर , हात मिलाएर अनि ताली बजाएर गरिदियो । सुक्को खर्च गरेन, बिहेमा खाना सम्म पनि ख्वाएको होइन ।' दुस्ख प्रकट गर्दै बालकृष्णले भनेपछी उसको घर बिग्रीयो । सहयोग गर्छन् कि भनेर ठूलो आसा गरी रे , तर वास्तै गरेनन् रे । अहिले बजारमा टङ्की राखेर केटाकेटी पालिरहेकी छे । क्रान्तिकारी बिहे रे ! वाफ रे ! त्यो भाषण सुन्दा त मलाई जिरीङ्ग भएको थियो ।

हामी देश, क्रान्ति, परिवर्तन र पार्टीको निम्ति एकअर्कोलाई साथ दिनको निम्ति बिहे गरेको …रे ! आजकल सम्झदाँ हाँसो उठ्छ, अझ उमालाई के लाग्दो हो सम्झँदा ..!

तीनैजना उसको बिहेमा थिए । उमाको सँगसँगैको उमेरका हुन् , दुस्ख माने मनमनै उमाको बर्तमान अबस्थाप्रति । तीनैजना सहमत भए । धेरैजसो नौटंकी, ढोँगी क्रान्तिकारीहरू बहिनीको सुख्खा क्रान्तिकारी बिहे, छोरीको देख्दा क्रान्तिकारी तर पछी गोप्यमा ठिक्कैको दाईजो दिने, तर छोराको बिहेमा सबैको खर्च उठाउने रणनीति अपनाउने गर्छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।