ताजा अपडेट »

खुमाका खुबी

शुक्रबार, ०९ साउन २०७७, २० : ५७
60 Shares

सीपले सिर्जनशील बनाउँछ र जीविकोपार्जनमा सहयोग पुर्याउँछ । ज्ञान,सीप र अवधारणालाई व्यवहारिक बनाउन सकिएमा जीवन जिउन लायक हुने गर्छ । सीप हुनेले श्रम गर्छ र पसिना बगाउँछ । पसिनाको संगीतमा जीवनको यथार्थता लुकेको हुन्छ ।उनी थप्छिन् –जीवन शौभाग्य हो । जीवनको सुन्दरता कलामा हुने गर्छ । सीपमा कला र जाँगर थपेपछि जीवन सुखमय हुने गर्छ । यो उनको व्यवहारिक सिकाई हो । उनले आफ्नो ज्ञानलाई सीपमा रुपान्तरण गरिन् र व्यवहारिक रुपमा हजारौंका जीवनमा गरिखाने कला थपिन् । र, त आज सबैको प्रिय पात्र बनेकी छन् खुमा बुढा थापा मगर ।

माइतीघर बर्दियाको गेरुवा गाउँपालिका । विहे भएको २०६८ सालतिर बुटवलमा । बर्दिया हुँदादेखि नै सोही जिल्लाको घरेलु कार्यालय र रेयूकाई नेपालको सहयोगमा फेब्रिक पेन्टिङ्ग सम्बन्धी तालिम दिएर धेरै दिदीबहिनीहरुलाई रोजगारमुखी बनाएको अनुभव छ उनीसँग । उनले टेबुलपोष,तन्ना र पर्दाहरुमा पेन्टिङ्ग गरेर जीवनको रङ् भरिन् । त्यसपछि उनी २०६३ तिर देशको केन्द्रीय राजधानी हान्निन् । त्यहाँ उनले १५/२० दिन लगाएर क्रिष्टल मेटलबाट बन्ने शौभाग्यका सामग्रीहरु बनाउने तालिम लिइन् । त्यो तालिम नै उनका लागि आज गरिखाने बाटोमात्र होइन, जीवनको नयाँ आयाम बनेको छ ।

२०६५ सालबाट उनले सुदूरपश्चिमको डोटीदेखि पूर्वको मनमोहन पोलिटेक्निकल इन्स्टिच्यूटसम्म सीटीईभीटी र सामुदायिक विकासका लागि सहकार्य–नेपालको सहयोगमा मुख्य प्रशिक्षक भई क्रिष्टल मेटलका शौभाग्य सामग्री बनाउने तालिम दिदै आएकी छन् । सो सीपमूलक तालिम, उनले हालसम्म हजारौंलाई दिईसकेकी छन् । धेरैले आफ्नै उद्यम सञ्चालन गरी जीविकोपार्जनको मुख्य पेसा समेत बनाएका छन् । तालिममा उनले क्रिष्टल मेटलबाट मोती माला,पोते,झुम्का,टप,नेक्लेस,चन्द्रहार, रानीहार,काँटा,नागबेली र मिक्स माला बनाउने सीप सिकाउँदै आएकी छन् ।

त्यतिमात्र होइन उनीसँग बाँसका फोटो फ्रेम,ग्लास पेन्टिङ्ग,पेनकेस बनाउने गतिलो सीप छन् । उनले अचार,जाम,डल्ले साबुन,झोल साबुन लगायतका सामग्री बनाउन सजिलै सक्छिन् । ती सीप र क्षमताले उनलाई नयाँ परिचय दिएको पाउन सकिन्छ । पाक्कलामा समेत उनको विशेष दक्षता छ ।उनले आफ्नो ज्ञान,सीप र क्षमतालाई व्यवहारिक रुपले प्रमुख प्रशिक्षकका रुपमा प्रयोग गर्दै आएकी छन् । बुटवलमा रहेको पुष्प सहकारीमा उनले पहिलो पटक क्रिष्टल मेटलका मोतीमाला बनाउने तालिम दिएकी थिइन् ।

तालिम लिएका दिदीबहिनीहरुले बुटवलमा सञ्चालित औद्योगिक मेलाहरुमा क्रिष्टलका माला बनाएर हजारौं रुपैयाँ आम्दानी गरेको कुरा सुन्दा आफूलाई आनन्द लागेको खुमाले बताइन् । उनले बुटवल र तिलोत्तमा क्षेत्रमा रहेका एकता सहकारी,पथप्रदर्शक सहकारी,सिर्जनशील आमा समूह,नेपाल मगर महिला संघ,बुटवलका दिदीबहिनीहरुलाई आफूले जानेका सीप सिकाइन । त्यो सीपले धेरै दिदीबहिनीहरुलाई आफ्नो खुट्टामा उभ्याएको छ । रोजगारमुखी बनाएको छ । सिर्जनशील भई जीविकोपार्जन गर्न सिकाएको छ ।

खुमाले भनिन्–एउटा सामान्य मोतीको माला बनाउन दुईघण्टा लाग्ने गर्छ । त्यसका लागि सियो,धागो,कैची,लाइटर,मोती र पोतेको आवश्यकता पर्छ । सामान्य मोतीको माला बनाउन दुई÷तीन सय रुपैयाँ खर्च लाग्ने गर्छ भने त्यो मालाले बजार मूल्य पाँच सयसम्म पाउन सक्छ । मोतीको मालाको मूल्य बस्तु अनुसार फरक फरक हुने गर्छ ।

चीनको छेन्दु टेक्साइल कलेजमा आयोजित चौथो द बेल्ट एण्ड रोडको अन्तर्राष्ट्रिय कला एवम् संस्कृति सम्बन्धी सप्ताहब्यापी (सन् २०१८ को नोभेम्बर २७ देखि डिसेम्बर ६ तारेखसम्म ) तालिममा प्रमुख प्रशिक्षकको हैसियतले उनी चीन पुगेकी थिइन् । त्यहाँ उनले क्रिष्टल मेटलका शौभाग्य सामग्री बनाउने तालिम दिएकी थिइन् । नेपालमा महिलाहरुलाई मात्र तालिम दिएको अनुभव बटुलेकी खुमाले चीनमा पुरुषहरुलाई समेत शौभाग्य सामग्री बनाउने तालिममा प्रशिक्षार्थीका रुपमा पाउँदा समानताको अनुभव गरिन् । चीनमा महिला पुरुष दुबैले तालिममा सहभागिता जनाएका थिए ।

वीपी कोइराला भारत–नेपाल प्रतिष्ठान, नेपाली राजदूताबास नयाँदिल्लीको आर्थिक सहयोगमा सामुदायिक विकासका लागि सहकार्य,नेपालको आयोजनामा प्रवासी नेपाली महिलाहरुका लागि १० दिने पोते,मोती,क्रिष्टलका मालाहरु बनाउने सीपमूलक तालिम दिन प्रमुख प्रशिक्षकको हैसियतमा सन् २०१८ को जनवरी १७ देखि २६ सम्म भारतको राजधानी नयाँदिल्लीमा खुमा गएकी थिइन् ।

स्नातकसम्मको अध्ययन गरेकी खुमाका अनेक खुबीहरुको बयान गरी साध्य छैन । सीपले उनलाई आफ्नै पौरखमा बाँच्न सिकाएको छ । नौलो परिचय दिएको छ । वर्षेनी उनले ढाई/तीन लाखसम्म तालिम दिएर नै आम्दानी गर्दै आएकी छन् । सामुदायिक विकासका लागि सहकार्य,नेपालमा उनी अहिले उपाध्यक्ष र खुश्बु ट्रेनिङ प्रालिको सञ्चालक एवम् प्रमुख प्रशिक्षकका रुपमा क्रियाशील छिन् ।जीवनमा आफूले सिकेका ज्ञान र सीपलाई प्रमुख प्रशिक्षकका रुपमा देशका कुनाकाप्चादेखि परदेशसम्म पोखेकी छन् । खुमाको अन्तिम इच्छा भने कै आफै उद्यमी भई रोजगारको बाटो फराकिलो पार्नु हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।