ताजा अपडेट »

श्रावण : प्रकृतिसँगै नारीलाई हरियाली बनाउने महिना

शुक्रबार, ०२ साउन २०७७, २० : २३
12 Shares

विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) को महामारी बीच श्रावण महिनाको आगमन भएको छ । श्रावण अर्थात् हरियालीको महिना । जहाँ प्रकृतिसँगै नारीहरु पनि हरियालीसँग रमाउन चाहान्छन् । नेपाली पात्रो अनुसार वैशाखबाट सुरु हुने प्रत्येक नव वर्षको चौथो महिना हो श्रावण महिना । यो अंग्रेजी क्यालेन्डरको जुलाई महिनाको मध्यदेखि अगस्त महिनाको मध्यसम्म पर्ने गर्दछ । वर्षका अरु महिनामा भन्दा श्रावण महिनामा छुट्टै मौलिक विशेषता पाइन्छ । यस महिनामा पर्ने अविरल पानीको रिमझीम र हरेक वातावरणको रौनक छुट्टै महत्वपूर्ण देखिन्छ । पूर्वीय दर्शनमा आधारित समयचक्रको विभाजन अनुसार वर्षाऋतुको प्रथम महिना हो श्रावण । आशुतोष भगवान शिव यस महिनाका विशिष्ट आराध्य देवता मानिन्छन् । नेपाली जनजीवनमा पूर्ण उत्साहका साथ यस महिनाभरी विभिन्न धार्मिक , सामाजिक र सांस्कृतिक उत्सवहरु सम्पन्न हुने गर्दछन् । विशेष गरी हिन्दू नारीले साउन महिनाको महत्व समाजमा झल्काउँदै आएका छन् ।

हिन्दू धर्म मान्ने महिलाहरू मात्र नभएर सबै धर्म संस्कृतिका महिलाहरूले यो महिनालाई महत्वका साथ लिएको पाइन्छ । श्रावण भगवान् शिवको विशेष पूजा–आजा गरिने महिना हो । महिलाहरू यो महिनाभरि व्रत लिने, शुद्ध आहार–विहार अँगाल्ने तथा शिवजीको मन्दिर दर्शन गर्ने आदि काम गर्छन् । यस महिनामा पुरुषहरु पनि मदिरा , माशाहारी जस्ता भोजनहरु सेवन नगरी चोखो बसेर व्रत बस्ने चलन पनि चल्दै आएको देखिन्छ । यस महिनामा प्रायजसो धेरैले साहकारी र सादकीपूर्ण जीवनशैली निर्वाह गर्दछन् । यी यस्ता थुप्रै मौलिक विशेषता बोकेको छ श्रावण महिनाले । साउन महिनाको पहिलो दिन साउने सक्रान्ति, यस महिनाको सुरुमा नेपालका प्राय सबै वर्गका धर्म,जनजातिका सबै वर्गका धर्मावलम्बीहरुले साझा रुपमा मनाउदै आएको पर्व मानिन्छ साउने सक्रान्ति ।

पहाडी भेगको कुरा गर्दा धेरै जसो पहाडी जनताले साउने संक्रान्तिमा माछा–मासुको व्यवस्था गरि मिठो मसिनो तुल्याई घर परिवारका सबै सदस्य इष्टमित्र जम्मा भई रमाइलो गरि यो पर्व मनाउने पुरानो प्रचलन छ । कृषिप्रधान देश नेपालमा ‘मानो रोपी मूरी उब्जाउने’भन्ने कथन अनुसार असार महिनाभर गरेको खेतीपातस्को कामबाट थकित किसानले हिलो–महिलो पखालेर घर परिवार र आफन्तका साथमा रमाइलो गरि भोज खाने चलन रहेको छ । तर,हिजोआज भने शिवशिक्तको महिना साउन हो भन्ने प्रचार–प्रसार बढेको पाइन्छ । साउने सक्रान्तिका दिन कतिपयले भने मााशाहारी छोडी अन्य साहाकारी परिकारहरु बनाई खाने चलन छ ।

साउने संक्रान्तिका दिन नेपाली समुदायमा कुरिलो , पानिसरो , काग भरालो जस्ता औषधिय वनस्पतिहरु अगुल्टो बालेर बेलुका घरको आँगनबाट लुतोको रुपमा फ्याँकी आफ्नै विभिन्न मातृभाषा अनुसार सक्रान्ति जाउ, मक्रान्ति आउ अथवा अनिकाल जाउ, सहकाल आउ जस्ता विभिन्न माध्यमबाट यसलाई मनाउने चलन छ । विभिन्न समुदायमा आ–आफ्नै रितिरिवाज परम्पराअनुसार मनाइने यो पर्व किराँती समुदायमा भने प्रकृतिको पूजा ,पूर्खाको सम्झना –सम्मान , विगत र वर्तमानको समिक्षा गर्ने तथा भविस्यको योजना बनाउने पर्वका रुपमा पनि मनाउदै आएको पाउछौ । यसरी दुख र पिडालाई पर्वको रुपमा धपाएर सहकालको आकांक्षा राख्ने प्रचलन चलिआएको छ । साउन महिना सुरुभए लगत्तै देशका विभिन्न धार्मिक स्थलहरुमा दर्शन गर्न आउने विभिन्न धर्मलम्वीहरुको घुइँचो पनि साउन महिनामा उत्तिकै देखिन्छ ।

वर्षायाममा पर्ने साउन महिनामा लगातार झरी परिरहनु यसको प्राकृतिक नियम हो । यसरी लगातार वर्षा भइरहँदा वनजङ्गल , पाखा पखेरामा भएका बोट–बिरुवाहरु चैत्र बैशाखमा पलाएका पालुवाका पहेला रङ्गहरु विकसित भई हरियो रङ्गमा परिवर्तित हुनपुग्छन् । यो प्रसङ्ग नेपाली मुलुकका महिलाले मनाउने तीज पर्वसँग मिल्दोजुल्दो देखिन्छ । यसरी प्रकृतिसँग प्रत्यक्ष तादत्म्यता राख्न यस महिनामा विशेषतःमहिलाहरूले हरियो लुगा ,हरियो चुरा–पोते र मेहेन्दीमा सजिएर आफ्नो जीवनमा पनि प्रकृतिको सुगन्ध भित्राउने प्रयास गरेको पाइन्छ । वर्षभरिका मनका विकारहरुलाई प्रकृतिले फालेर नवजीवन प्राप्त गरेझैं प्रेम र प्रणयको भावनालाई पुनः नवीकरण गर्ने महिना हो साउन महिना । त्यसैले पनि साउन महिनालाई हिन्दु महिलाहरुले विशेष पर्वका रूपमा मनाउँदै आएको हुनुपर्छ । यस अवधिमा महिलाहरुले आफ्नो पतिको सु–स्वास्थ्य र दिर्घायुको लागि शिवजीको भक्ति आरधना गरि व्रत बस्ने र हातमा हरियो चुरा , मेहेन्दी लगाई बस्दा दिर्घकालसम्म दाम्पत्य सुखको आनन्द लिन पाई आयु वृद्धि भई पतिको जीवन रक्षा हुने विश्वास गरिन्छ ।

साउनमा शिवालयमा जाने हरेक महिला आफूले लगाउने हरियोलाई भगवान शिवजीको मनपर्ने रङ्सँग जोडेर बुझ्ने गर्छन् । साउनमा हरियो रङ प्रकृतिसँगको सामीप्यताले गर्दा पनि मान्छे खुशी भएर लगाउन चाहन्छन् । हरियाली हेर्दा आँखालाई पनि राम्रो, खाँदा स्वास्थ्यलाई पनि राम्रो, लगाउँदा पनि राम्रो, मनलाई आनन्दित बनाउने गुण हुन्छ ।

आम जनमानसमा जब प्रकृतिले यस समयमा चारै दिशामा हरियो तन्ना ओछ्याझैं अनुभूती हुन्छ प्रकृतिको यो विचित्र अदभूत छटा देखेर मन पुलकित भई नाच्न थाल्दछ । वनवाटिकामा चराचुरुङ्गिले प्रणयका गीत गाउन थाल्छन् र आफूभित्र भएका उमङ्ग र यौवनलाई उजागर गर्ने गर्दछ्न् । यस महिनामा विभिन्न स्थानहरुमा पिङहरु राखी सबै जम्मा हुने खेल्ने रमाइलो गर्ने पनि गरिन्छ । दिदीबहिनीहरु समुह समुहमा जम्मा भई आफ्ना मनका शुसेलीहरु विभिन्न माध्यमबाट व्यक्त गर्न थाल्छ्न् , पिङमा मच्चिदै गाउँदै गरेका महिलाको झुण्डलाई नियाल्दा यस अवसरमा साच्चिकै प्रकृति र मानवजीवन बीचको अद्भूत आत्मीयतालाई नजिकैबाट अनुभूति गर्न सकिन्छ ।श्रावण महिना प्रकृतिसँगै महिलाका लागि मात्रै विशेष रुपमा रुपमा वर्णन गरिएपनि किसान,व्यवसायी,व्यापारी, लगाएत सम्पूर्णका लागि विशेष महिना हो । किसानहरु खेती लगाएर थकान मेट्दै खुशीयालीमा हुन्छन् । व्यवासायी,व्यापारी,उद्योगी असार मसान्तको हिसाब मिलानबाट केहि राहत अनुभव गर्दछन् । त्यसैगरी देशकै आर्थिक वर्षको पनि सुरुवात हो श्रावण महिना । तसर्थ श्रावणको महत्व प्राकृतिक,धार्मिकसँगै,सामाजिक र आर्थिक गतिविधिका दृष्टिकोणले पनि निकै महत्वपूर्ण रहेको छ ।

https://www.globalaawaj.com/archives/44518
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।