ताजा अपडेट »

प्याब्सनद्वारा लकडाउन अवधिको पारिश्रमिक दिने निर्णय, पठन–पाठन सुरु गरिने

सोमबार, २९ असार २०७७, २० : १४
18 Shares
सोमबार, २९ असार २०७७
18 Shares


बुटवल । रूपन्देहीका संस्थागत विद्यालयहरुले आफ्ना शिक्षकहरुलाई लकडाउन अवधिभरको पारिश्रमिक दिने निर्णय गरेका छन् । बैशाख महिनादेखि तलब नपाएका शिक्षकहरुलाई पहिलो चरणमा आंशिक रुपमा तलब दिइने भएको छ । मासिक तलबमानको कम्तिमा २५ प्रतिशत नघट्ने गरी पारिश्रमिक उपलब्ध गराउने निर्णय उनीहरूले गरेका हुन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ‘प्याब्सन’ रुपन्देहीको सोमबार भएको भेलाले शिक्षकहरुलाई आंशिक तलब दिने निर्णय गरेको अध्यक्ष लेखनाथ पौडेलले जानकारी दिए ।

लकडाउनका कारण चैत महिनादेखि विद्यालय बन्द भएपछि तलब नपाएका शिक्षकहरुको आर्थिक स्थितिलाई ध्यानमा राखी हाललाई राहतस्वरूप २५ प्रतिशतभन्दा कम नहुने गरी तलब उपलब्ध गराउने निर्णय गरिएको अध्यक्ष पौडेलले बताए। बाँकी तलबबारे आगामी अवस्था र सरकारको निर्णयअनुसार पछि गरिने पनि उनले बताए । “लामो समयदेखिको लकडाउनले शुल्क उठाउन नपाएका कारण निजी विद्यालयहरु आफै आर्थिक संकटमा भए पनि शिक्षक कर्मचारीहरुको स्थिति झन् नाजुक बनेकाले राहतस्वरुप तलबमानको कम्तिमा २५ प्रतिशत नघट्ने गरी पारिश्रमिक उपलब्ध गराउन सम्बन्धित विद्यालय व्यवस्थापनलाई अनुरोध गर्दछौं” अध्यक्ष पौडेलको भने।

भेलाको निर्णयबारे सबै सदस्य विद्यालयका व्यवस्थापन समितिलाई पत्राचार गरिने प्याब्सनका सचिव लक्ष्मण ज्ञवालीले बताए। आफ्नो विद्यालयको आर्थिक अवस्था हेरी सो भन्दा बढी पारिश्रमिक दिन सकिने पनि भेलाले निर्णय गरेको सचिव ज्ञवालीको भनाइ छ । कार्यदलको सिफारिसपछि राहत स्वरुप तलब दिने निर्णय महामारी नियन्त्रणका लागि भन्दै गरिएको बन्दाबन्दी ‘लकडाउन’ का कारण बन्द भएका विद्यालयमा पठनपाठन नियमित गराउन सरोकार पक्षसँग नियमित वार्ता र संवादको पहल गर्न भन्दै प्याब्सन रुपन्देहीले “समस्या समाधान कार्यदल” गठन गरेको थियो । सोही कार्यदलले शिक्षक कर्मचारीको आर्थिक अवस्थाका बारेमा जानकारी लिएको थियो ।

सोही आधारमा कार्यदलले प्याब्सनलाई सुझाव दिएको र भेला मार्फत निर्णय गराइएको थियो । कार्यदलको सुझावकै आधारमा पठन पाठनको व्यवस्था मिलाउने र शिक्षक कर्मचारीहरुलाई तत्काललाई पारिश्रमिकको २५ प्रतिशत रकम दिने निर्णय गरिएको कार्यदलका सदस्य हरि ज्ञवालीले जानकारी दिए ।संस्थागत विद्यालयका शिक्षकहरु गत चैत महिनादेखि तलब नपाएको भन्दै आन्दोलित हुँदै आएका थिए । रूपन्देही जिल्लामा प्याब्सन आवद्ध दुई सय ४२ विद्यालयहरुमा करिब सात हजार शिक्षक–कर्मचारी रहेका छन् ।

सुरक्षा प्रबन्धसहित पठन पाठन गराउने तयारी
यसैबीच प्याब्सनले सुरक्षा प्रबन्धसहित नियमित पठन पाठन सुरु गर्ने तयारी गरेको छ । स्वास्थ्य क्षेत्रका विज्ञहरुसहित कार्यदले सदस्य विद्यालयहरुको अवस्थाका बारेमा अध्यय्न गरेपछि बालबालिकाको सुरक्षा प्रवन्धका साथ नियमित पठनपाठन शुरु गर्न सकिने अवस्था तयार हुदै गएको निश्कर्षमा पुगिएको वरिष्ठ उपाध्यक्ष अनन्तराम शर्माले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।