ताजा अपडेट »

रोकिएन वेलहिया नाकामा आवागमन, आउने भन्दा जाने बढी

आइतबार, १४ असार २०७७, २० : ११
10 Shares

भैरहवा । नेपालमा अहिले कोभिड–१९ संक्रमित भएकाको संख्या १२ हजार नाघेको छ । संक्रमित मध्ये अधिकांश रोजगारका लागि भारत गएर फर्किएकाहरुछन् । लकडाउनकै अवधिमा नेपालका विभिन्न वैध र अवैध बाटो हुँदै नेपालीहरु घर फर्किएका थिए । यसरी भारतबाट देश फर्किनेको संख्या बढेसँगै कोरोना संक्रमितको संख्या पनि बढेको हो ।

कोरोना संक्रमितको दर दैनिक रुपमा बढ्दै गइरहेका बेला नेपाल भारत सीमानाकामा आवागमन बाक्लिँदै गएको छ । रुपन्देहीको बेलहिया नाकाबाट मात्रै दैनिक रुपमा सयौको संख्यामा नेपालीहरु भित्रि रहेका छन् । यसअघि नेपाल आउनेहरुलाई भारतमै क्वारेन्टाइनमा राखी १४ दिन अवधि पूरा गरि आरडिटी परीक्षणपछि मात्रै भित्र्याउने गरिएको थियो । अहिले भने घर फर्किएका नेपालीहरु भारततर्फ क्वारेन्टाईनमा बस्नु पर्दैन । भारतमा उनिहरुको कुनै पनि स्वास्थ्य परीक्षण हुँदैन । नेपालीहरु सोझै बेलहिया आइपुग्छन् र त्यहाँबाट उनिहरुलाई भैरहवामा रहेको प्रतिमान निमा स्मृति प्रतिष्ठामा रहेको होल्डिङ्ग एरियामा ल्याई घर पठाउने गरिएको छ ।

गएको शुक्रबार मात्रै भारतबाट बेलहिया नाकाहुँदै ४ सय २३ जना नेपाली घर फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उपलब्ध गराएको तथ्यांक अनुसार लकडाउनका अवधिमा बेलहिया नाकाबाट २३ हजार ८ सय ९५ जना नेपाली घर फर्केका छन् । संख्या वैध रुपमा बेलहिया नाका प्रयोग गर्नेको मात्र हो । बिभिन्न नाकाबाट लुकिछिपी नेपाल प्रवेश गर्ने नेपालीहरुका संख्या यो तथ्यांकमा उल्लेख छैन ।

भारतमा पहिला भन्दा अहिले धेरै सहज रुपमा यातायातका साधन सञ्चालन भएपछि नेपालीहरु घर फर्किनेको संख्या नघटेको हो । भारतको मुम्बईबाट सुनवल फर्किदै गरेका सागर केसीले अहिले रेल, बस लगायतका सार्वजनिक यातायातका साधन सञ्चालनमा रहेकोले यात्रा सहज भएको बताए ।

बेलहिया आइपुगेका नेपालीलाई होल्डिङ्ग एरियामा ल्याएर त्यहाँबाट सम्बन्धित पालिकामा पठाउने गरिएको छ । यसरी पठाउँदा उनिहरु आफ्नै खर्चमा घर जान चाहेको खण्डमा विभिन्न भाडाका सवारीमा पठाउने गरिएको छ । सुरक्षित रुपमा भारतबाट आउनेलाइ उनिहरुको गन्तब्यसम्म पुर्याउने गरेको चालक छोटेलाल यादवको भनाई छ । पहिलेको तुलनामा नेपालीहरुको आगमन धेरै कम रहेको हुँदा केही सहज भने हुने गरेको रुपन्देही प्रहरी प्रवक्ता खडक् बहादुर खत्रीको भनाई छ ।

नेपाल आउने भन्दा भारत जाने बढी
लकडाउनका अवधिमा असारको १२ गतेसम्म भारतका बिभिन्न स्थानमा काम गर्ने २३ हजार ८ सय ९५ जना नेपालीहरु वैध रुपमा नेपाल प्रवेश गरेका छन् । यसरी प्रवेश गर्नेहरु नेपालका बिभिन्न ५४ जिल्लाका रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खडक् बहादुर खत्रीले बताए । बेलहिया नाकाबाट नेपाल आउने भन्दा नेपालबाट भारत जानेको संख्या बढी रहेका छ ।

२३ हजार नेपालीहरु नेपाल आउँदा २८ हजार ५६ जना भारतीय फिर्ता भएका छन् । यसरी फिर्ता हुनेमा अधिकांश मजदुरहरु रहेका छन् । नेपालका बिभिन्न ईट्टा भट्टामा काम गर्ने मजदुर, निर्माण पेशामा आवद्ध मजदुर देखी नेपालमै बसेर जिविकोपार्जनको अन्य काम गरि रहेका प्राय भारतीय मजदुरहरु भारत फिर्ता गई सकेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।