ताजा अपडेट »

बालश्रम र चूनौती

शुक्रबार, ३० जेठ २०७७, १६ : ३६
73 Shares

नेपालमा बालबालिकालाई श्रमको प्रमुख श्रोत मानिन्छ । औपचारिक र अनौपचारिक क्षेत्र दुबैमा बालबालिकालाई विभिन्न काममा लगाउनुलाई सामान्य मानिदै आएको पाइन्छ । पारिवारिक श्रोतको रुपमा बालबालिकाले पशुपालन, कृषि, दाउरा संकलन, पानीको व्यवस्था जस्ता कार्यहरुमा संलग्न रहनु परम्परा र आवस्यकता बनिसकेको छ । परिवारसँगै बसेर गरिने यस्ता कार्यहरुलाई पारिवारिक कर्तब्य र जिम्मेवारीको अनुभव गर्ने अवसरको रुपमा हेरिन्छ । आफ्नै परिवारमा बसेर परिवार र आफ्नो लागि गरिने कार्य बाहेक परिवारको आर्थिक हितको लागि वा अरुको करकापमा परेर वा परम्पराको नाममा कलिला बालबालिकाहरु श्रम गर्न समेत बाध्य छन् ।

परिवारको सदस्यको रुपमा पारिवारिक कार्यमा संलग्न रहने बालबालिकालाई समेत देखाएर एनजिओं र आइएनजिओले नेपालमा बालश्रमिकहरु धेरै भएको देखाएपनि यस्तो कार्य गर्नेलाई बाल श्रमिकको रुपमा ब्याख्या गर्न मिल्दैन । पारिवारिक वातावरणमा रहेर परिवारका सदस्यको रुपमा कार्य गर्दा बालबालिकालाई अनुशासित हुन्, पारिवारिक कर्तब्य र जिम्मेवारी बुझ्न र सामाजिकिकरणमा सहयोग पुग्दछ ।तर, यिनै बालबालिकालाई आर्थिक दृष्टिले बाहिर काममा लगाइन्छ भने त्यसलाई बाल श्रम शोषण भन्नु पर्दछ । बालबालिकालाई पारिवारिक वातावरण र अवसर बाट बन्चित गरेर होेटल, कारखाना, निर्माण क्षेत्र, घरेलु नोकर वा अन्य यस्तै काममा लगाउँदा उसका जन्मसिद्ध बाल अधिकारहरुको हनन् हुन पुग्दछ । सानैदेखि श्रम गर्न बाध्य पाँरिदा बालबालिकाको शारीरिक र मानसिक विकासमा प्रतिकूल असर पुग्दछ । खेलकूद, स्वस्थ जीवनयापन, शिक्षा र ब्यक्तित्व विकासमा बालश्रमले प्रतिकूल असर पुग्दछ, जसले गर्दा भाविस्यमा बालबालिकाको जीवन कष्टपूर्ण हुन्छ र देशले असक्षम जनशक्ति प्राप्त गर्दछ ।

कानूनतः१८ वर्ष मुनिको ब्यक्तिलाई बालक मानिएको छ र बालकलाई श्रममा लगााउन रोक लगाइएको छ । बालश्रम (निषेध र नियन्त्रण गर्ने) ऐन, २०५६ ले बालकहरुको हकाधिकार सुनिश्चित गर्दैे कलिलो उमेरका बालकलाई काममा लगाउन नहुने भन्दै १४ बर्ष उमेर नपुगेका बालकलाई जुनसुकै काममा लगाउन (घरेलु काम) निषेध गर्नुका अतिरिक्त ऐनको दफा ३ को उपदफा (२) ले खतरनाक काममा लगाउन नहुने भनी कानूनी व्यवस्था गरेबाट जुनसुकै बालश्रमलाई पनि निषेधित गरेको पाईन्छ । तर बाल श्रमको अनौपचारिक क्षेत्रमा ७–८ बर्षको उमेरदेखि नै घरेलु नोकर वा दासको रुपमा काम गर्न बाध्य बनाइएका अवोध बालवालिकाहरुको हकमा उल्लेखित (प्रचलित) कानूनी प्रावधान मौन रहेको छ ।

यसरी अनौपचारिक क्षेत्रका विभिन्न साना होटल तथा रेष्टुरेण्टहरुमा भाँडा बर्तन माज्ने, सफा गर्ने काममा, बस, मिनी बस आदि यातायातका साधनहरुमा खलासी र टिकट काट्ने काममा, ईट्टा भट्टाहरुमा र प्रायः घरघरमा भाडा माज्ने घरेलु नोकरचाकरको रुपमा १४ बर्ष मुनिका बालकहरु व्यापकरुपमा काममा लगाइएको, बालवालिकाहरु ७–८ बर्षको उमेरदेखि आमा बाबुको संरक्षकत्वबाट बिमुख गराई घरेलु नोकर वा दासको रुपमा कथित साहु महाजन वा अर्काको घरमा निकृष्ट बाल श्रमका लागि वाध्य गराएको देखिन्छ ।

नेपालले २०१६ सम्म निकृष्ट प्रकारको बालश्रमको अन्त्य गर्ने लक्ष्य राखेको थियो भने नेपाल सरकारले सन् २०२० सम्म मुलुकबाट सवै प्रकारका बालश्रम उन्मूलन गर्ने लक्ष्य लिएको थियोे । देशमा गरिबी लक्ष्य अनुसार घट्न नसक्दा र चेतनाको कमीले गर्दा बाल श्रमिकहरुको संख्या घट्न सकेको पाइँदैन । अझ वर्तमान समयमा त कोरोनाको महामारीले गर्दा परिवारका वयस्कहरुले रोजगारी गुमाएको र परिवारमा आर्थिक समस्या बढिरहेको कारणले गर्दा अब बालबालिकाहरु पढाइ छोडेर श्रम बेच्न हिड्नुपर्ने बाध्यता उत्पन्न हुने संकेतहरु देखा परिसकेका छन् । यो अवस्थाले बालश्रम उन्मूलन गर्ने योजनामा धक्का पुगेको मात्र छैन बाला अधिकारको रक्षा गर्नमा चूनौती पनि थपिएको छ ।

बाल श्रम सभ्य समाजको लागि कलंक हो र मानव विकासको प्रमुख तगारो हो । बालबालिकालाई भविस्यको योग्य र जिम्मेवार नागरिक बनाउनको लागि पारिवारिक सहभागिताका कार्यहरु बाहेक सबै किसिमका बालश्रमको जतिसक्दो छिटो अन्त्य हुनु पर्दछ । बालश्रम गरिवीको उपज भएकोले नीतीगत र कानूनी व्यवस्था गर्दैमा हाम्रो जस्तो परम्परागत रुढीवादी गरिवी, अशिक्षित, अज्ञानता भएको स्थितिमा पठनपाठनको सुविधा आदि उपलव्ध नहुने यावत कारणहरुले गर्दा संबिधान, ऐन र बाल अधिकार महासन्धिको व्यवस्थाले मात्र बालश्रम निर्मूल हुन सक्दैन, यसलाई निर्मूल गर्न शिक्षा र गरिवी निवारणका कार्यक्रमहरु सञ्चालन गर्नु पर्दछ।

जबसम्म प्रजननदर र गरिबी उच्च रहिरहन्छ, तबसम्म बाल श्रमिकहरु जन्मिरहन्छ । त्यसैले परिवार नियोजन कार्यक्रम, महिला साक्षरता तथा रोजगारी कार्यक्रम सञ्चालन गरेर प्रजनन दर घटाउने र पारिवारिक विपन्नता घटाउने कार्यक्रमहरु सञ्चालन गर्नु पर्दछ । अभिभावक सक्षम र सचेत भए भने बाल श्रम अन्त्य गर्न धेरै समय लाग्नेछैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।