ताजा अपडेट »

‘कोरोना संक्रमणको भयावह अवस्था छैन’

शुक्रबार, ३० जेठ २०७७, १६ : ५०
12 Shares

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट नेपाल पनि अछुतो रहन सकेन । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन आह्वान गरे पनि मुलुकमा दैनिक संक्रमितको सङ्ख्या भने बढ्दै गएको छ । विशष गरे रोजगारका लागि भारत गएका नेपालीहरु घर फर्किने क्रम बढेपछि संक्रमण रोकथाम थप चुनौतीपूर्ण बन्दै गएको हो । यसैगरी अर्घाखाँची जिल्लामा पनि संक्रमितहरु देखा परेका छन् । यसै विषयमा रहेर प्रदेश ५ प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेसँग ग्लोबल आवाजका लागि सुरज घिमिरेले गरेको कुराकानी:

विश्वव्यापी फैलिएको कोरोना महामारीको प्रभाव अघाखाँचीमा पनि परिरहेको बेला, प्रदेश सांसदको हैसियतले तपाईको तर्फबाट के-कस्ता पहल कदमी गर्नु भएको छ ?
- विश्वजगतमा महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितहरु नेपालमा दिन–प्रतिदिन बढिरहेका छन् । अर्घाखाँचीमा पनि संक्रमितहरु भेटिएका छन् । तर, अर्घाखाँचीमा भयावह अवस्था आउँला जस्तो मलाई लाग्दैन् । किनकी अहिलेसम्म समुदायमा कोरोना भाइसको संक्रमण भएको छैन् । भारतबाट आएका दाजुभाई तथा दिदी बहिनीहरुमा मात्र यसको संक्रमण देखिएको हो । संक्रमितहरुलाई आईसोलेसनमा राखेर उपचार गरिएको छ । भारत तथा अन्य ठाउँबाट आएकाहरु सबैलाई क्वारेन्टाईनमा राखिएको छ ।

भविष्यमा पनि भारत लगाएत अन्य ठाउँबाट आउनेहरुलाई कम्तिमा १४ दिन क्वारेन्टाईनमा राखिने छ । समुदायमा कोरोना नफैलियोस भनेर भारतबाट आएरहरुलाई क्वारन्टाइनमा राखेका हौं । उहाँहरुकको प्रारम्भिक जाँच अर्थात आरडिटी परिक्षण गरिन्छ । जाँच गरिसकेपछि उहाँहरुको रिपोर्ट पोजेटिभ आयो भने उपचारको लागि आईसोलेसनमा राखिन्छ र उपचार प्रक्रिया अघि बढाईन्छ । यस्तै उहाँहरुको रिर्पोट नेगेटिभ आयो भने घरमा पठाईन्छ । परिवारसँग घुलमिल नहुँने गरि केही समयको लागि अलग बस्ने गरि शिक्षा दिएर घर पठाउने काम गरिएको छ । त्यस्ले गर्दा पनि जिल्लामा भयावह अवस्था सिर्जना हुँदैन भन्ने मेरो विश्लेषण हो । भारतबाट आएर क्वारन्टाइनमा बसेकाहरुमा थप संक्रमण देखिन सक्छ । मेरो अनुमानमा १०० देखि २०० को हारहारीमा संक्रमण देखिन सक्छ । यदी हामिले सोचेभन्दा बढी भयावहको अवस्था आयो भने भाइरससँग लड्न नयाँ उपाय निकाल्नुपर्छ ।

जिल्लाका कोरोना रोकथामको लागि प्रदेश सरकारबाट पहल भइरहेको छ । क्वारेन्टाईनमा बसेकाहरुको आरडिटी तथा पिसीआर परिक्षणको लागि किटहरु पठाउने काम भईरहेको छ । स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने पिपिई लगाएतका स्वास्थ्य सामग्रीहरु पनि प्रदेश सरकारले पठाएको छ । स्थानीय तहलाई आवश्यक पर्ने बजेट पठाई क्वारेन्टाईनलाई व्यवस्थित गर्ने काममा पनि प्रदेश सरकार लागेको छ । यस्तै प्रदेश सरकारको बजेट र योजनामा अहिले जिल्लाको एकमात्र आईसोलन सेन्टर हटारीमा स्थापना भएको छ ।

पछिल्लो समय आरडिटी परिक्षण भरपर्दो मानिएको छैन । किन पिसीआरलाई प्राथमिकता दिन सकिएन ?
- आरडिटी गरिसकेपछि जसलाई नेगेटिभ देखिन्छ, त्यसलाई पिसीआर जाँच गर्नु पर्दैन् । जसलाई आरडिटी पोजेटिभ देखिन्छ, त्यसलाई पिसीआर जाँच गर्ने काम भईरहेको छ । अर्को कुरा, कुनै व्यक्तिलाई कोरोना संक्रमण भएको छ भने, अन्त संक्रमण फैलाउन सक्ने भएकोले जहाँजहाँ संक्रमणको सम्भावना छ ती सबैलाई पिसीआर जाँच गर्ने काम भईरहेको छ ।

अर्घाखाँचीमा ३८ जना संक्रमितहरु भेटिसकेका छन् । आईसोलेशन सेन्टर जम्मा ४५ बेडको छ । यसरी संक्रमितहरु बढ्दै जाने अवस्था छ, कसरी व्यवस्थापन गर्नु हुन्छ ?
- जुनबेला समस्या आउन्छ , आउने सम्भावना देखिन्छ त्यसको पूवार्धमा त्यसको तयारीको काममा लाग्नुपर्छ, लागिन्छ र सरकार लागिरहेको छ । कोरोनाको संक्रमण नदेखिँदा सम्म क्वारेन्टाईमै राखेका थियौं । अब जिल्लाका संक्रमण देखिसकेपछि,, संक्रमण भएका व्यक्तिहरु जो स्वस्थ हुनुहुन्छ, उहाँलाई आईसोलेसनमा राखेर स्वास्थ्य लाभको अवसर दिने हो र उपचार पनि गर्ने हो, त्यो काम आईसोलन सेन्टरबाट हुन्छ । यस्तै संक्रमणको लक्षण साथसाथै स्वास्थ्यमा समस्या देखियो भने कोभिड हस्पिटलमा पठाएर थप उपचार गराउने काम सरकारले गरिरहेको छ । जिल्लाका बढीमा २०० संक्रमितहरु भेटिन सक्ने अनुमान गरेछौं,, त्यही अनुरुप हामी थप व्यवस्थापनको काममा अगाडी बढिका छौं ।

जिल्लामा कोरोना विरुद्धको अभियान के–कसरी सञ्चालन गर्दा प्रभावकारी होला ?
- जिल्लामा कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि अहिले सम्म जेजस्ता उपायहरु अबलम्बन गरिएको छ यी अहिलेसम्म गरिएका प्रभावकारी कामहरु नै हुन्, यो तरिकालाई कमजोर भन्न मिल्दैन् । भविष्यमा पनि जिल्लाका कोरोनाको रोकथाम, नियन्त्रण र संक्रमितको उपचारको निम्ति अब लाग्नुपर्ने हुन्छ । जिल्लाभित्र संक्रमण देखिईसकेपछि नागरिकहरुले पनि यसको असर समुदायमा पनि जान सक्छ भनेर स्वयं सचेत हुनुपर्छ, जागरुक हुनुपर्छ त्यसैअनुसार आफ्ना व्यवहारमा परिमार्जन गर्नुपर्छ । लकडाउनमा लामो समयदेखि सर्वसाधारणहरु बस्नुभएको छ । लकडाउनमा बस्ने कुराचाँही अझैपनि निरन्तरता दिनुपर्छ । व्यक्तिगत तथा पारिवारीक सरसफाईमा विशेष ध्यान दिनुपर्छ । अत्यावश्क काममा हिड्दा पनि दुरी कायम गरि हिड्नुपर्छ । मास्कको प्रयोग गर्नुपर्छ । यही किसिमको सजगतालाई अपनाउँदै आम मानिसहरु आफ्नो जिवनपक्रियामा अगाडी बढनुपर्छ ।

कोरोनाले आर्थिक तथा सामाजिक क्षेत्रमा पार्ने क्षतिलाई कसरी पूर्ति गर्न सकिएला ?
- आर्थिक तथा सामाजिक क्षेत्रमा कोरोनाले पारेको जुन क्षती छ त्यसलाई न्यूनिकरण गर्नको लागि हाम्रो विगतमा जुन खालको कडा लकडाउनको व्यवस्था चाँही सरकारले गर्यो, यसलाई आम जनताले साथ दिने, समर्थन गर्ने, लकडाउनका निर्देशनलाई अनुशासित तरिकाले पालन गर्ने काम भएको छ ।

सरकारले पनि लकडाउनलाई अलिकती खुकुलो बनाएको छ, नयाँ माेडेलमा अगाडी बढाएको छ, यसको तात्पर्य के हो भने अब हाम्रा गतिविधीहरुलाई विस्तारै सुचारु गर्नुपर्छ, सजगताका साथ मापडण्डहरु निर्माण गरेर त्यसलाई पालना गरेर आर्थिक क्षेत्रका गतिविधीहरुलाई विस्तारै अगाडी बढाउँदै जानुपर्छ । विकास निर्माणकाहरुलाई धेरै पहिले देखि नै अगाडी बढायौं, सूचारु छन् । मलाई लाग्छ अर्घाखाँची जिल्लामा प्रदेश ५ कै धैरे विकासका बजेटहरु खर्च हुन्छ । काम पनि धेरै भईसकेको छ, यो सबैलाई जानकारी भएको विषय पनि हो । त्यसले गर्दा विकासका कार्यहरु साथै आर्थिक गतिविधीलाई विस्तारै अगाडी बढाउनुपर्छ । त्यसो गर्दा देशले जुन आर्थिक क्षेत्रमा नोक्सानी व्यहोरेको छ , विकास निर्माणका कार्यहरु अवरुद्ध छन् । ती सबै कुराहरुलाई भविष्यको दिनमा हामीहरुले माथि उठाउन सक्छौं, अगाडी बढाउन सक्छौं ।

तपाईं तथा तपाईको दलको तर्फबाट जिल्लामा कोरोना न्यूनिकरणका लागि के-कस्ता अभियानहरु सञ्चालन गर्नुभयो त ?
- मेरो तर्फबाट खासगरि जनताहरुलाई सचेत बनाउने, सजग बनाउने, लकडाउनमा जारी राज्यका नियमहरुलाई पालना गर्न अनुरोध गर्ने, सरसफाईमा ध्यान दिन लगाउने जस्ता काममा निरन्तर लागेको छु । पछिल्लो समय भारतबाट आएर गाउँका विद्यालयहरुमा बसिरहनु भएको छ ती ठाउँहरुमा गएर अवलोकन गरेको छु । डाक्टरहरु तथा आयुर्वेदका चिकीत्सकहरुलाई लिएर गएर स्वास्थ्य शिक्षा दिने काममा लागेको छु । आयुर्वेदकका औषधीहरु वितरण गर्ने कामका लागेको छु । साथै रोजगारी गुमाएर आएका दाजुभाई दिदीबहिनीहरुलाई आफ्नै देश भित्र पसिना बगाउने, आफ्नै देश भित्र मेहेनत गर्ने, कृषि पशुपालनलाई व्यवसायीक ढङ्गले अगाडी बढाउने तीनै तहका सरकारहरुले बजेट ल्याएका छन् । ५ नम्बर सरकारले ५१ करोडको कोभिड- १९ कृषि विशेष कार्यक्रम भनेर अगाडी ल्याएको छ । खास गरी रोजगारी गुमाएर आएका दाजुभाई दिदीबहिनीहरुले त्यो कार्यक्रममा सहभागिता हुनसक्नुहुन्छ । बाँझो खेतबारीमा कृषि गर्ने, पशुपालन गर्ने, मासु उत्पादन गर्ने, रोजगारी गुमीरहेको सन्दर्भमा त्यसलाई आर्यआजनको मुख्य पेशा बनाएर आफ्नो परिवारको खर्चको व्यवस्थापन गर्ने र बढी उत्पादन गरेर समाज लगाएत सिंगो प्रदेशलाई आत्मनिर्भर बनाउने साथै व्यवसायिक ढंगले अगाडी बढ्दै जानुपर्छ भनेर प्रशिक्षित तथा मार्गदर्शन गरेको छु ।

राजनीतिक दलको तर्फबाट पनि बेलाबेलामा सर्वदलीय बैठकहरु गर्ने, कोभिड– १९ को संक्रमणलाई जिल्ला भर फैलिन नदिन सचेतनाका कामहरु गर्ने, क्वारेन्टाईको व्यवस्थापनमा पार्टीको तर्फबाट सहयोग गर्ने, स्वयंसेवकहरु परिचालन गर्ने यसैगरी स्थानीय तहहरुलाई मागएदर्शन गर्ने, जिल्लास्थित विपद् व्यवस्थापन समितिलाई आवश्यक सुझाव दिने, सल्लाह दिने लगाएतका काममा राजनीतिक दल पनि आफ्नो ठाउँबाट क्रियाशील भईरहेको छ ।

कोरोना रोकथाम र नियन्त्रणमा प्रदेश सरकारको व्यवस्थापन कमजोर भयो भन्ने सुनिन्छ नि ? प्रदेश सरकारको अबको तयारी के- कस्तो छ ?
- प्रदेश सरकार कोरोना रोकथाम र नियन्त्रणको व्यवस्थापनमा कमजोर सावित भयो भन्नु निराधार हो । तीनै तहका सरकारहरु मध्ये कोरोना रोकथाममा प्रदेश सरकार अगाडी छ । प्रदेश सरकारले प्रदेशभित्रका १२ जिल्लाहरुमध्ये पहाडका जिल्लाहरुमा ५० बेडका आईसोलेसन स्थापना गरेको छ भने तराईका जिल्लाहरुमा कम्तीमा २०० बेड क्षमताको आईसोलेसन सेन्टरहरु निर्माण गरेको छ काम चलिरहेको छ । । यसैगरि प्रदेशका ४ वटा मुख्य ठाउँहरु भैरहवा, बुटवल, दाङ र नेपालगञ्जमा कोरोना विशेष अस्पतालहरु सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले भैरहवा, दाङ र नेपालगञ्जमा कोरोना जाँचको लागि ल्याबहरु सञ्चालनमा ल्याएको छ ।

नगरपालिकालाई १५ लाख र गाउँपालिकालाई १० लाखका दरले आर्थिक सहायता दिईराखेको छ । आगामी दिनमा प्रदेश सरकारले खासगरी चाँही ल्याबको क्षमता वृद्धी गर्नेतीर लागिरहेको छ । सम्भाव्य संक्रमितहरुको स्वाब परीक्षण गर्न सञ्चालनमा भएका ३ वटा ल्याबहरु पर्याप्त नभएको जस्तो लागेपछि ल्याबको क्षमता वृद्धि गर्ने कार्यमा लागिरहेको छ । संक्रमितहरुको संख्या बढिरहेको अवस्थामा प्रदेश सरकारले पहाडीका जिल्लाहरुका ५० बेडका आईसोलेसन सेन्टरहरुलाई थप विस्तार गर्ने र तराईका जिल्लाहरुमा पनि त्यही ढंगबाट आईसोलेसन बेडहरु विस्तार गर्ने कार्यमा लागिपरेको छ ।

साथै कोभिड हस्पिटलहरुको क्षमता वृद्धि गर्ने काममा प्रदेश सरकार लागिरहेको छ । दीर्घकालिन रुपमा प्रदेशका प्रयोगशालाहरुमा सबै किसिमको रोगको उपचार हुने गरि क्षमता बढाउने काममा लागिरहेको छ । यसैगरि जिल्ला हस्पतालहरुको पनि क्षमता वृद्धि गर्ने, विशेषज्ञ सेवा प्रदान गर्ने, आधारभूत स्वास्थ्य सेवा दिन आवश्यक पर्ने उपकरणहरु, ल्याबको स्तरोन्ती गर्ने कार्यमा प्रदेश सरकार अगाडी बढेको छ । विदेशबाट आउने जनशक्तिलाई स्वरोजगार गराउने गरि बजेटको ठुलो हिस्सा कृषिमा विनीयोजन गरेको छ । समग्रमा रुपमा प्रदेश सरकार कोभिड १९ र यसका चुनौतीलाई सामना गर्नको निम्ती सम्भाव्य सबै तयारी पुरा गरिसकेको छ । यो सबै हेर्दाखेरी अरु प्रदेश सरकारभन्दा हाम्रो पाँच नम्बर सरकार कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि अगाडी छ ।

कोरोनाको महामारीले आमनागरिक त्रसित छन् । उनीहरुको मनोबल उच्च बनाउन तपाईंको सुझाव केही छ ?
- कोरोना भाइरस डराउनु पर्ने रोग हैन्, यो रोगबाट त्रसित बन्नु पर्दैन् । आतंकित बन्नु पर्दैन । यसको क्षमता छिटो संक्रमण हुने खालको छ यसबाट बच्न सर्तह हुनुपर्छ, सजग हुनुपर्छ । विगतका कुरा हेर्ने हो यो भाइरस भन्दा ठुला रोगहरु पनि लागेको थिए, जस्ले करोडौंको ज्यान लिएको थियो र पनि विश्व उही आकारमा परिवर्तन भईसकेको छ । कोरोना भाईरसले विश्वभर आतंक मच्चाईरहेको छ यसबाट बच्न सजग हुनुपर्छ । यो रोग संक्रमण देखियो भन्दैमा त्रसित हुनुपर्ने, आत्मबल गिराईहाल्नुपर्ने, मनोबल गुमाईहाल्नु पर्ने आवश्यकता छैन् । यसको मृत्युदर ज्यादै कम छ ।

नेपालको सन्दर्भमा यसबाट मृत्युदर ०.५ प्रतिशत भन्दा कम छ । विश्वमा पनि २–३ प्रतिशत भन्दा बढी मृत्युदर छैन् । लाखौं संक्रमितहरु उपचारपछि निको भएका छन् । संक्रमितहरुपनि आत्मबल बढाउन हुनुहोस् । लकडाउनको पालना गर्दै मास्कको प्रयोग गर्नुहोला, साबुन पानीले पटक–पटक हात धुनुहोला । कोरोना संक्रमणबाट जिल्ला साथै देशलाई बचाउन यहाँहरुको साथ र सहयोगको खाँचो छ । कृपया घरमै सुरक्षित बस्नुहोस् । आफू बचौँ र अरुलाई पनि बचाऔँ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।