ताजा अपडेट »

सांसद र स्वास्थ्यकर्मीहरुद्वारा आइसोलेशन र क्वारेन्टिनको अनुगमन

सोमबार, २६ जेठ २०७७, १९ : ५९
4 Shares

फ्रन्टलाइनमा खटिएकालाई आत्मबल बढाउन आग्रह

बुटवल । महामारी विरुद्धको अभियानमा फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन आमसञ्चार र समुदायले पनि सकारात्मक सन्देश प्रवाह गर्न जरुरी रहेको हालैको एक अनुगमन टोलीले ठहर गरेको छ । प्रतिनिधिसभा र प्रदेश सभाका सांसदसहित यसक्षेत्रमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले तराईका जिल्लाका विभिन्न ठाउँमा सञ्चालित आइसोलेशन सेन्टर र क्वारेन्टिनहरुको अनुगमन गरेको थियो । रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाका सीमावर्ती क्षेत्रसहितका विभिन्न ठाउँमा सञ्चालन गरिएका क्वारेन्टिन र आइसोलेशन सेन्टरको अनुगमन गरेको थियो ।

प्रतिनिधिसभाका सदस्य तथा महिला नेतृ सुजिता शाक्यको नेतृत्वमा प्रदेशसभाका सांसद, राष्ट्रिय चिकित्सक संघ नेपालको टोली र लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीहरु सहभागी थिए ।सोही अनुगमनका क्रममा आइसोलेशन तथा क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल बढाउन सबैको भूमिका अपरिहार्य गरेको ठहर गरिएको अनुगमनमा सहभागी नेपाल चिकित्सक संघका लुम्बिनीका सचीव एवं लुम्बिनी प्रादेशिक अस्पताल मेडिसिन विभागमा कार्यरत डा.सागर न्यौपानेले जानकारी दिए ।

फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र प्राविधिकहरुलाई मनोबल उच्च राख्नेखालका कार्यक्रम सञ्चालन गर्न जरुरी रहेको पाइएको डा.न्यौपानेले बताए । सामाजिक सञ्जाल र कतिपय संचारमाध्यममा प्रचार गरिएको जस्तो अव्यवस्थित र अमानवीय व्यवहार गरिएको कहीँ कतै नपाइएको डा न्यौपानेको भनाइ छ । केही मिडियामा क्वारेन्टिन र आइसोलेशनमा मानवीय व्यवहार नभएको लगायतका समाचार आएपछि सांसदले विशेष चासो लिएर सोधी खोजी गरेकको तर, त्यस्तो कतै नपाइएको डा.न्यौपानेले बताए । बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, तिलोत्तमा नगरपालिकासहित रुपन्देहीका लुम्बिनी सांस्कृतिक नगरपालिका, मायादेवी गाउँपालिकामा सञ्चालित क्वारेन्टिन र आइसोलेशन सेन्टरको अनुगमन गरिएको थियो ।

बुटवल, तिलोत्तमा र सैनामैनामा रहेका आइसोलेशन र क्वारेन्टिनको व्यवस्थापन उत्कृष्ट पाइएको टोलीका सदस्य तथा नेपाल राष्ट्रिय चिकित्सक संघका केन्द्रीय सदस्य डा.सम्राट पराजुलीले बताए। सुनवल नगरपालिका, देवदह नगरपालिका, रामग्राम नगरपालिका, रोहिणी गाउँपालिका, सिद्धार्थनगर नगरपालिका भित्र सञ्चालित क्वारेन्टाइन र आइसोलेशन केन्द्रको अवलोकन भ्रमण गरेको थियो । सोही टोलीले कपिलवस्तुको बाणगंगा नगरपालिका, वुद्धभूूमि नगरपालिका, शिवनगर गाउँपालिकालगायतका पालिकाहरुको पनि अनुगमन गरिएको र त्यहाँ खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमा उच्च मनोबल बढाउने खालका कार्यक्रम सञ्चालन गर्न जरुरी देखिएको संघका केन्द्रीय सदस्य डा.पराजुलीको भनाइ छ ।

कतिपय स्थानीय पालिकामा क्वारेन्टिन र आइसोलेशन केन्द्रलाई थप व्यवस्थित गर्नुपर्ने र संगसंगै त्यहाँका समुदायमा पनि सकारात्मक सन्देश प्रवाह गर्न जरुरी देखिएको अनुगमनमा गएका अर्का चिकित्सक तथा नेपाल राष्ट्रिय चिकित्सक संघ केन्द्रीय सदस्य डा.प्रशान्त आचार्यले बताए । उक्त प्रतिनिधि मण्डलले अवलोकन र अनुगमन गरेका क्वारेन्टाइन र आइसोलेशनस्थलहरुमा कुल पाँच सय ४० जना कोभिड सन्क्रमित रहेका छन् । उनीहरु स्वस्थ्य रहेको र सबैलाई योगा अभ्यासलगायतका मनोबल बढाउने खालका कार्यक्रममा सहभागी गराउने गरेको पाइएको अनुगमन टोलीले बताएको छ ।

क्वारेन्टिन र आइसोलेशनको अवलोकन तथा अनुगमना गएको टोलिमा संघीय सांसद शाक्यसहित, प्रदेश सरकारको सामाजिक विकास समितीका सभापति, लुम्बिनी प्रादेशिक अस्पताल बालरोग विभागका अध्यक्ष डा.नेत्र राना, लुम्बिनी प्रादेशिक अस्पताल स्त्रीरोग विभाग नर्सिङ इन्चार्ज जमुना पन्थी, मुख्यमन्त्री कार्यालयका कृष्ण केसी, प्राविधिक संघ महासचिव भाष्कर आत्रेय, वरिष्ठ प्रादेशिक जनस्वास्थ्य प्रशासक टिकाराम अधिकार साथै वरिष्ठ प्रादेशिक र जिल्ला जनस्वास्थ्य प्रशासकहरु सहभागी थिए। उक्त टोलीले लुम्बिनी संस्कृतिक नगरपालिकामा अनुगमनपछि लुम्बिनी विकास कोषमा पनि छलफल गरेको थियो । त्यहाँ कोषका उपाध्यक्ष भन्ते मेत्तेय शाक्यपुत्रसहितको टोलीले लुम्बिनी गुरुयोजना लगाएतका विषयमा जानकारी गराएको थियो ।

तिलोत्तमा र सुनवलमा उत्कृष्ट व्यवस्थापान
बुटवल । क्वारेन्टिन तथा आइसोलेशनको अवलोकन एवम् अनुमगनमा गएको सांसद र स्वास्थ्यकर्मीको टोलीले बुटवल र तिलोत्तमामा सञ्चालित क्वारेन्टाइन तथा आइसोलेशन सेन्टरमा उत्कृष्ट व्यवस्थापन रहेको पाइएको बताएको छ ।

बुटवलको वडा नं. १२ तामनगरमा क्वारेन्टिन र वडा नं. ११ योगीकुटीस्थित एन्फा एकेडेमीमा आइसोलेशन सेन्टर निर्माण गरेको छ भने र तिलोत्तमाको शंकरनगरस्थित स्वास्थ्य चौकीलाई हाल आइसोलेशन सेन्टरका रुपमा विकास गर्दै व्यवस्थित गरिएको छ । ‘रुपन्देहीका बुटवलको र तिलोत्तमाका तथा नवलपरासीको महाकावी देवकोटा क्याम्पसमा सञ्चालित क्वारेन्टिन र आइसोलेशन केन्द्रलाई व्यवस्थित र उत्कृष्ट दर्जाको मुल्यांकन गरिएको छ’ डा न्यौपानेले बताए । अरु जिल्लाका क्वारेन्टाइन र आइसोलेशन स्थलहरुको समग्र व्यवस्थापन सन्तोषजनक नै पाइएको अनुगमन टोलीले बताएको छ ।


रुपन्देही जिल्लाको भिम अस्पताल (जिल्ला अस्पताल) र लुम्बिनी प्रादेशिक अस्पतालको बुटवलको धागो कारखानामा निर्माण भएको कोरोना विशेष अस्पतालमा कोरोना आइसोलेशन वार्ड मात्र नभई सुविधासम्पन्न अस्पतालका रुपमा विकास गरिएको छ । उक्त टोलीले यस्तै अस्पताल अरु जिल्लामा पनि कम्तिमा एउटा बनाउन जरुरी रहेको ठहर गरेको नेपार राष्ट्रिय चिकित्सक संघका केन्द्रीय सदस्य डा सम्राट पराजुलीले बताए ।

उक्त टोलीले प्रादेशिक प्रयोगशालाको पनि अवलोकन गरेको थियो । प्रयोगशालामा जनशक्तिको अभाव रहेकाले परीक्षणका लागि पालो कुरेका स्वाब धेरै रहेको पाइएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।