ताजा अपडेट »

नियमितको रोग : रोपाईको बेला मल अभावले कृषक चिन्तित

सोमबार, २६ जेठ २०७७, १८ : ००
16 Shares

बुटवल । हरेक वर्ष खेती गर्ने समयमा बिउ तथा मलखाद अभाव हुने कृषकहरुको नियमित जस्तै बनेको समस्याले यो वर्ष पनि पिरोलेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमणबाट बँच्नका लागि आह्वान गरिएको लकडाउनले यो वर्ष कृषकहरु थप मारमा परे । बजारमा कृषि औजार, इन्धन तथा विउ विजनको अभावका बीच धान खेतीका लागि आवश्यक पर्ने डिएपी मल तथा यूरियाको अभावले कृषकहरु चिन्तित छन् ।

प्रदेश नम्बर ५ मा तराईका जिल्लाहरु रुपन्देही, कपिलवस्तु, दाङ, नवलपरासी, बाँके र बर्दियाका अधिकांश कृषक धानखेतीमा निर्भर छन् । तराईका जिल्लाहरुमा ७०/८० प्रतिशत कृषकहरुले धानको विऊ राखीसकेका छन् । कतिय स्थानहरुमा रोपाई समेत सुरु भएका छन् । अवको एक दुई हप्ताभित्रमा अधिकांश स्थानमा रोपाई सुरु हुने भए पनि मल अभावका कारण कृषकहरु चिन्तित बनेको कृषक संघर्ष समिति नेपालका अध्यक्ष देव धवलले बताए । कृषकले मल पाएका स्थानहरुमा विभिन्न कृषि सहकारी तथा सरकारी निकायहरुले कोटा प्रणालीबाट मल वितरण गर्दा प्रयाप्त मात्रामा मल नपाउने गरेको गुनासो उनले गरे । यसैगरी सहकारीमा सदस्य नभएका तथा पहुँच नभएका साना किसानहरुका लागि पनि मल पाउन समस्या हुने गरेको उनले उल्लेख गरे ।

नेपाल भारत सिमा जोडिएका जिल्लाहरुमा कृषकले विगतमा वर्षहरुमा भातरबाट आफैले मल ल्याउने गरे पनि यो वर्ष दुबै देशमा भएको लकडाउनका कारण मलको अभाव थप बढेको हो । रुपन्देहीको रोहिणी गाउँपालिका-१ का सागर यादवले रोपाई सुरु गरेका छन् । आफ्नो दुई विगाह क्षेत्रफलमा धान खेती गर्ने उनलाई हरेक वर्ष जस्तै यो वर्ष पनि मल अभावले चिन्ता सुरु भएको छ । समयमा प्रयाप्त विउ तथा मल नपाउने समस्याबाट हरेक वर्ष दुःख पाउनु परेको उनको गुनासो छ । समयमा मल नपाएपछि कृषकले मलखाद विनानै विउ राख्नु परेको कपिलवस्तुका कृषक हरिसंकर मल्लाहले गुनासो गरे । धानको ब्याड राख्दा तथा रोपाई गर्ने समयमा आवश्यक पर्ने डिएपी तथा यूरिया मलको अभावका कारण कृषकले दुःख पाउनु पर्ने नियमितको रोग नै भएको छ । कपिलवस्तुमा यो वर्ष ६० प्रतिशत बढी कृषकले धानको विउ राखीसकेको कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख राम गोविन्द आर्यले बताए ।

अवको एक दुई साताभित्र रोपाई सुरु हुने भए पनि समयमा मल नपाउँदा कृषकहरु चिन्तित बनेका हुन् । कृषि सामाग्री केन्द्र भैरहवाका सूचना अधिकारी घणेश घिमिरेले भने केही मात्रामा मलको अभाव भए पनि हाहाकारको अवस्था नरहेको बताए । नेपाल आउँदै गरेको साढे १२ सय टन मल लकडाउनका कारण लेबर अभावले भारतको कलकत्तामा रोकिँदा थप समस्या भएको उनले बताए । कम्पनीले यो वर्ष लक्ष्यभन्दा बढी नै मल वितरण गरेको बताउँदै उनले कलकत्तामा रोकिएको मलखाद बोकेका केही ट्रकहरु त्यहाँबाट हिँडी सकेकाले अवको दुई तीन दिनभित्रै रक्सौल नाकामा आइपुग्ने बताए ।

विगत वर्षमा कृषकहरुले भारतीय बजारबाट विभिन्न नाका हुँदै मल ल्याउने गरे पनि लकडाउनका कारण त्यो रोकिएपछि मलको माग थप बढेको घिमिरेले बताए । लकडाउनका कारण बजारमा मल अभावहुने हल्लाका कारण कृषकले आवश्यकता भन्दा बढी मल घरमा स्टोर गरेर राख्नाले पनि मलको अभाव थप देखिएको हुन सक्ने उनको अनुमान छ । सरकारले वार्षिक ७ लाख ५० हजार टन मलखाद ल्याउनका लागि व्यवस्था गरे पनि मूल्य वृद्धि लगायतका कारणले ४ लाख ५० हजार टन मात्रै मल आउने सम्भावना भएको उनले बताए । मागभन्दा ३ लाख टन मल कम आयात हुनाले बजारमा मलखादको अभाव देखिने उनले उल्लेख गरे । बजारमा अहिले यूरिया मल प्रयाप्त भए पनि डिएपी मलको अभाव देखिएको हो । धानको विउ राख्नुभन्दा पहिले तथा धान रोप्ने समयमा प्रयोग गरिने भएको हुँदा डिएपी मलको अभाव देखिएको उनले बताए । यस्तै असारको अन्तिम सातादेखि भदौसम्म यूरिया मलको माग बढ्ने गर्दछ ।

प्रदेश ५ का सबै जिल्ला तथा प्रदेश ६ र ७ का केही जिल्लाहरुमा समेत मलखाद वितरण गर्ने भैरहवा कार्यालयले यस आर्थिक वर्षमा रुपन्देहीका लागि ११ हजार २ सय ५१ टन यूरिया वितरण गरेको छ । जुन लक्ष्य भन्दा ३ हजार २ सय ५१ टनले बढी हो । जिल्लामा ८ हजार टन यूरिया मल वितरण गर्ने लक्ष्य राखिएको थियो भने ७ हजार टन डिएपी मल वितरणको लक्ष्य रहेको थियो । यो वर्ष रुपन्देहीमा ५ हजार ७ सय ४० टन डिएपी मल वितरण गरिसकेको कार्यालयको तथ्याङ्कमा छ । यो तथ्याङ्क गत जेठ १३ गतेसम्मको मात्रै भएको र त्यस पछि पनि थप मल वितरण गरिएको कार्यालयका सूचना अधिकारी गणेश घिमिरेले बताए ।

यसैगरी कपिलवस्तुको तौलिहवाबाट ५ हजार टन यूरिया मल वितरण गर्ने लक्ष्य रहेकामा ४ हजार ६ सय ९ टन वितरण भैसकेको छ । ३ हजार ६ सय टन डिएपी मल वितरण गर्ने लक्ष्य रहेकामा ३ हजार २ सय ८७ टन मल वितरण भैसकेको छ । यस्तै जिल्लाको बहादुरगञ्जबाट १ हजार ५ सय टन लक्ष्य रहेकोमा १ हजार ७ सय ७ टन यूरिया मल वितरण गरिएको छ । १ हजार २ सय टन डिएपी मल वितरण गर्ने लक्ष्य लिएको कार्यालयले ८ सय ३८ टन मल वितरण गरिसकेको छ । यस्तै अनूपातमा कृषि सामाग्री केन्द्र भैरहवाले सबै जिल्लाहरुमा लक्ष्यभन्दा बढी मल वितरण गरे पनि लकडाउनले भारतीय सिमा बन्द भएपछि मलखादको थप अभाव देखिएको सूचना अधिकृत घिमिरेले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।