ताजा अपडेट »

व्यवसायीको चिन्ता : ‘पसल खोलेर के गर्नु ग्राहक छैनन्’

आइतबार, २५ जेठ २०७७, १७ : २५
2 Shares

बुटवल । लकडाउनलाई केही खुकुलो बनाउँदै बुटवल उपमहानगरपालिकाले आंशिक रुपमा पसल तथा व्यापार व्यवसायहरु सञ्चालनमा ल्याउन दिएपनि कोरोना त्रासले ग्राहक नआएपछि व्यवसायीहरुको चिन्ता भने अझै हटेको छैन । उद्योगी ब्यवसायीहरुको मागलाई ध्यानमा राख्दै बुटवल उपमहानगरपालिकाले लकडाउनलाई आंशिकरुपमा खुकुलो बनाए हो । उपमहागरपालिकाले अत्यावश्यक सामाग्री खरिद गर्न साताभरी नै पसल तथा व्यापार व्यवसाय खोल्न पाउने गरी ब्यवस्था गरेको छ । पसलमा भएका सामाग्रीहरु म्याद गुज्रिएर काम नलाग्ने अवस्थामा पुग्नुका साथै व्यापार व्यवसाय ठप्प भएपछि घर भाडासमेत तिर्न नसकिने अवस्थामा पुगेको व्यवसायीहरुले गुनासो गरेका छन् ।

व्यापार व्यवसाय सञ्चालनमा आउन दिइए पनि ग्राहक नपाएपछि पसल खोलेर बस्नु र बन्द गर्नुको कुनै अर्थ नभएको गुनासो आउने गरेको बताउछन् रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी । विशेषगरी प्रदेश नम्बर ५ मा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा जनतामा त्रास पैदा भएका कारण उनिहरु घरबाहिर ननिस्कने तथा यातायात ठप्प हुनाले व्यवसाय सञ्चालनमा ल्याउन दिइएपनि ग्राहक नपाएपछि व्यवसायीहरुले गुनासो गर्न थालेको उनले बताए । सटर उठाएर पसल कुर्दै गरेका बुटवल-११ कालिकानगर अवस्थित गुल्मेली किराना पसलका सञ्चालक यमबहादुर बलालले गुनासो व्यक्त गर्दै भने –‘पसल खोल्नु र नखोल्नुमा कुनै फरक भएन, कोरोना त्रासका कारण ग्राहकहरु पसलमा आएका छैनन् ।’-बलालले भने ‘घरभाडा तिर्न पुग्नेसम्म पनि व्यापार भएको छैन, दैनिक गुजारा चलाउँनै गाह्रो हुने भयो ।’

लकडाउनको अवधि लम्बिंदै जांदा दैनिक गुजारा चलाउन भाडामा रहेका ब्यवसायीहरुलाई मर्का परेपछि ब्यवसायिक संघ-संगठनहरुले लकडाउन खुकुलो बनाउन आग्रह गरेअनुसार उपमहानगरपालिकाले समय निर्धारण गरी दैनिक रुपमा पसल तथा व्यापार व्यवसाय सञ्चालनमा ल्याउन दिने निर्णय गरेको थियो । पसलमा ग्राहकको पर्खाइमा रहेका बुटवलकै अर्का व्यापारी मिनप्रसाद पौडेललाई पनि दिन काट्नै मुस्किल हुने गरेको छ । ‘सडक सुनसान् छन्, ग्राहक आउन मुस्किल छ ।’–व्यापार नभएपछि कसरी गुजारा चलाउने भन्ने चिन्ता व्यक्त गर्दै, प्रतिक भाडा पसलका पौडेलले भने । लकडाउन अघि आफ्नो पहाड घर गएका उनी पसल चल्ने आशमा नै बुटवल फर्किएको बताउँछन् । व्यापार व्यवसाय सञ्चालनमा आउन दिएपनि ग्राहक नभएपछि सुनसान पसल कुर्ने बाहेक विकल्प नभएको व्यापारीहरुले बताउने गरेका छन् ।

विभिन्न व्यवसायिक संघ संस्था तथा रुपन्देहीका बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका तथा सैनामैना नगरपालिका बीचको सहमति पछि सबैठाउँ एकै सयममा व्यापार व्यवसाय सञ्चालनमा ल्याउन पाउने सहमती भएको थियो । उपमहानगरले सार्वजानिक गरेको नयाँ ब्यवस्था अनुसार खाद्यान्न, तरकारी तथा कृषि कार्यसँग सम्बन्धित मल बिउ, बिषादी जस्ता अत्यावश्यक सामाग्रीका पसलहरु हरेक दिन बिहान ७ बजेबाट २ बजे सम्म खुल्न पाउने ब्यवस्था छ । प्रत्यक्ष उपभोक्ताको सम्पर्क नहुने अत्यावश्यक माल वस्तुको थोक बिक्रिका लागि प्रत्यक दिन १० बजे देखि ३ बजे सम्म खोल्न पाउने ब्यवस्था गरिएको छ ।

मिलनचोकको तिनकुनेमा रहेको ओमेन्सक्लोथिङ्गकी सञ्चालिका सरिता ढुङ्गानाले आंशिक रुपमा पसल खोल्ने गरे पनि ग्राहक आउन मुस्किल हुने गरेको गुनासो व्यक्त गरिन् । कोरोना महामारी पहिले सामान्य दिनहरुमा व्यवसाय गर्दै भाडा तिर्दै गरेपनि अहिले कोरोनाको भन्दापनि भाडा थपिँदा एकातर्फ भाडा तिर्नुुपर्ने तनाव र अर्कोतर्फ व्यवसाय नचलेको तनाव बढी रहेको उनले बताइन् ।
दैनिक रुपमा पसल व्यवसाय खोल्न पाएपछि केही राहत हुने आशा गरेपनि ग्राहक नआएपछि व्यवसायीहरुको चिन्ता अझै हटेको छैन । बुटवल उपमहानगरले पसलहरु संचालन गर्दा संघीय सरकारले तोकेको माल वस्तु र सामाजिक दूूरी कायम गर्न अनिर्वाय हुने जनाएको छ ।

त्यसैगरि दुध तथा दुग्धजन्य पदार्थ, डेरी जस्ता पसलहरु हरेक दिन बिहान र साँझ ३ घण्टा खुल्ने व्यवस्था गरेको छ । यसैगरी कृषि औजार, मेसनरि तथा निर्माण समाग्रीका पसलका लागि हरेक दिन बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्मको समय निर्धारण गरिएको छ । बैंक तथा बित्तीय संस्थाहरुले सार्वजानिक बिदाका दिन बाहेक पूूर्वतः संचालन गर्ने ब्यवस्था गरिएको छ । स्थानीय कृषि उत्पादनहरुले हरेक दिन बिहान ३ घण्टा घरघरमा डुलाएर आफ्नो उत्पादनहरु बेच्न पाउने छन् । यसरी बिक्रि हुने तरकारीहरुको स्थानीय पालिकाहरुले स्विकृति दिएको हुनुपर्ने व्यवस्था छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।