ताजा अपडेट »

स्थानीय तहले खरिद गरे भिटिएम

आइतबार, २५ जेठ २०७७, १५ : १४
2 Shares

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका विभिन्न स्थानीय तहले आफ्नै आर्थिक स्रोतबाट क्वारेन्टिनमा बसेकालाई पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गर्न भिटिएम खरिद गरेका छन् । सङ्घीय सरकार र प्रदेश सरकारबाट पठाएको भिटिएम पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गर्न अपुग भएपछि स्थानीय तहले आवश्यकतानुसार भिटिएम खरिद गरेका हुन् ।सुनवल नगरपालिकाले ५०० र सुस्ता गाउँपालिकाले ४५० भिटिएम खरिद गरेका हुन् ।

खरिद गरिएको भिटिएमलाई क्यारेन्टिनमा बसेकाको स्वाबको नमूना सङ्कलन गरी पिसिआर परीक्षणका लागि प्रयोगशालामा पठाइने छ । जिल्लाका अन्य स्थानीय तहले समेत भिटिएम खरिदका लागि आवश्यक प्रक्रिया अघि बढाएको जनाएका छन् । यस जिल्लामा तीन नगरपालिका र ४ गाउँपालिका गरी सात स्थानीय तह छन् । यस जिल्लामा १५ वर्षीय किशोरीसहित १९ कोरोना सङ्क्रमित रहेका छन् । चार आइसोलेशन सेन्टर नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा हालसम्म विभिन्न चार स्थानमा आइसोलेशन सेन्टर स्थापना भएका छन् । पछिल्लोपटक सुस्ता गाउँपालिकाको वेलवानीस्थित स्वास्थ्य चौकीमा १० श्ययाको र रामग्राम नगरपालिकाको पाल्ही बहुमुखी क्याम्पसको भवनमा ५० श्ययाको आइसोलेशन सेन्टर स्थापना गरिएको हो ।

यसअघि सुनवल नगरपालिकाको सुनवलस्थित सामुदायिक सिकाइ केन्द्रको भवनमा २५ श्ययाको आइसोलेशन र बर्दघाटस्थित शहीदस्मृति सामुदायिक अस्पतालमा चार श्ययाको आइसोलेशन रहेको छ । यद्यपि यस स्थानको आइसोलेशनको श्यया क्षमता विस्तार गर्ने योजना रहेको बर्दघाट नगरपालिकाले जनाएको छ । जिल्लामा हालसम्म एकजना १५ वर्षीय किशोरीसहित १९ कोरोना सङ्क्रमित फेला परिसकेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।