ताजा अपडेट »

धुर्कोट गाउँपालिका अध्यक्षको दोस्रो स्वाब रिपोर्ट नेगेटिभ

शनिबार, २४ जेठ २०७७, २० : ०५
8 Shares

गुल्मी । कोरोना संक्रमणबाट सेल्फ आइसोलेसनमा बसेका गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलको कोरोना टेष्टको दोस्रो रिपोर्ट नगेटिभ आएको छ । जेठ १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अक्ष्यक्ष पोखरेलको २ पटकसम्म लिइएको स्वाब रिर्पोट कोरोना संक्रमण नभएको पुष्टि भएको हो ।

पुन जेठ १८ गते पुन स्वाब संकलन गरी पिसिआर् को लागि पठाइएको थियो । छ दिनपछि आएको उक्त रिपोर्टमा कोरोना नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । जेठ ८ गते स्वाब संकलन गरी पठाएकोमा चार दिनपछि आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै चौतर्फि रुपमा चासो भएपछि उनले विज्ञप्ति नै जारी गरी आफ्नो स्वास्थ्य अवस्थाबारे दिएका थिए । उच्च आत्मबल राखेमा कोरोनालाई सहजै जित्न सकिने अध्यक्ष पोखरेलको भनाई छ । आफु सेल्फ आइसोलेशनमा रहेको र नियमित डाक्टरको सम्पर्कमा रहेकोले पनि धेरै समस्या नभएको पोखरेलले बताए ।
गुल्मीमा पहिलोपटक मदाने गाउँपालिकामा जेठ ५ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । त्यसपछि धुर्कोट गाउँपालिकाका सुरक्षाकर्मी, गाउँपालिकाका सवारी चालक र स्थानीय प्रहरीको आर.डि.टी. गरिएको थियो ।

जसमध्ये एकजना पदाधिकारीको रिपोर्ट पोजेटिभ देखिएको थियो । त्यसपछि अध्यक्ष पोखरेल र उक्त पदाधिकारीको स्वाब संकलन गरी पठाइएकोमा स्वयम् अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणको संख्या ५ पुगेको छ ।

जिल्लामा १५५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

गुल्मीबाट पठाइएका १५५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिका अध्यक्षको सम्पर्कमा आएका सबैको स्वाब १८ गते संकलन गरी पठाइएको थियो । जसमध्ये धुर्कोट गाउँपालिकाका स्वास्थ्यकर्मी, वडाध्यक्ष लगायत गरी कुल ८९ जना रहेका थिए । भने जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि लगायत गरी ५६ जना रहेका थिए ।

शनिबार आएको रिपोर्टमा सबैको पिसिआर् नेगेटिभ देखिएको आचार्यले बताए । गुल्मीमा हालसम्म कुल पाचँ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा दुई जना निको भएका छन् । दुई जनाको तम्घासस्थित आइसोलेशनमा उपचार भइरहेको छ भने एक जनाको मृत्यु भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।