ताजा अपडेट »

कोरोना कहर र एमसीसी बहस

शनिबार, २४ जेठ २०७७, १८ : ३७
8 Shares


विश्वमा भएके कोरोनाको कहरसँगै नेपाली राजनीति एमसीसी बहसले फेरि तातिएको छ । एमसीसीलाई दुई थरी कोणबाट ब्याख्या, विश्लेषण गरिएको छ । एकथरीले एमसीसी सम्झौता अमेरिकाबाट इतिहासकै ठूलो रकम झन्डै ५५ अर्व विद्युत सेवा प्रशारण तथा सडक संरचना निर्माणको लागि अनुदानको रुपमा प्राप्त हुने जसबाट २ करोड नागरिकले सुधारिएको विद्युत लगाएत सडक संरचनाको विकास पाउनेछन् । यो प्रसारण लाइनमार्फत नेपालले भविष्यमा अरबौ रुपैयाँको बिजुली विदेशमा बेच्न सक्नेछ । विगतमा नेपालले ठूला परियोजनाहरु जस्तै चमेलिया जलविद्युत परियोजना, मेलम्ची खानेपानी आयोजना जस्ता परियोजनाहरु समयमा सम्पन्न गर्न नसकेको परिपेक्ष्यमा एमसीसी परियोजनाले ५ वर्षमा उक्त कार्य सम्पन्न गरि नेपालको कमजोर अर्थब्यवस्थालाई उकास्न ठूलो टेवा दिने हुनाले यसलाई कुनै हालतमा संसदबाट पास गर्नुपर्छ भन्ने देखिन्छ ।

अर्कोतिर राष्ट्रिय स्वाभिमान भन्दा पैसा ठूलो हुँदैन, नेपालको सार्वभौम माथि नै हवाला गर्ने गरि गरिएको सम्झौता किमार्थ स्विकार्य हुँदैन भन्ने ठूलो तप्का पनि देखिएको छ । सत्तारुढ दल नेकपाद्वारा वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा प्रदिप ज्ञवाली, भिम रावल सहितको गठित अध्ययन कार्यदलले नेपाल र अमेरिकी सहयोग नियोगबीच भएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसिसी) यथास्थितिमा अनुमोदन गर्न नहुने सुझाव समेत दिएको छ । कार्यदलले १६ बुँदामा दिएको सुझावमा सदस्य तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले १५ बुँदाको फरक मत पनि राखेका छन् । नेपालका साना कम्यूनिष्ट पार्टीहरुले पनि सभामुख समक्ष उक्त सम्झौता संसदबाट पास गराउनु हुँदैन भनेर ज्ञापनपत्र पेश गरिसकेको अवस्था छ । सामाजिक सञ्जालहरु, अनलाइन,प्रिन्ट तथा अन्य मिडियाहरु लगाएत सडकहरुमा पनि एमसीसीको ब्यापक रुपमा विरोधभ इरहेको अवस्था छ।

के हो त एमसीसी ?
अमेरिकाका दुुबै वटा सदनहरुले पारित गरेको सहयोग गर्ने संस्था हो । यस Millenium Challenge Corporation (एमसीसी) सन् २००४ औपचारिक रुपमा स्थापना भएको थियो । यसको मुख्य उद्देश्य आर्थिक विकासको माध्यमद्वारा गरिबी न्यूनिकरण गर्ने भनिएको छ । एमसीसीले लगानी गर्नको लागि विभिन्न किसिमका शर्तहरु जस्तै : नागरिकमा सरकारले अधिकतम लगानी गरेको हुनुपर्ने, पारदर्शी हुनुपर्ने, महिला तथा बालबालिकामा लगानी तथा उनिहरुको हकको संरक्षण,लगानीको उपयुक्त वातावरण लगाएतका २० वटा शर्तहरु पूरा गरेका राष्ट्रहरुमा मात्र लगानी गर्दछ । यसले कृषि तथा सिञ्चाई, शिक्षा, विद्युत (उत्पादन प्रशारण वितरण),स्वास्थ्य, यातायात,खानेपानी लगाएतका ९ वटा क्षेत्रहरुमा लगानी गर्दै आइरहेको छ ।

एमसीसी संझौतामा नेपालले कहिले हस्ताक्षर गर्यो ?
शेर बहादुर देउवा प्रधानमन्त्री भएको बेलामा वि.स. २०७४ साल भदौ २९ मा तत्कालीन सहसचिव बैकुण्ंठ अर्याल र एमसीसी कार्यकारी प्रमुख जोनाथन नेशल,े तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र वाशिंगटनमा अमेरिकी उप–विदेश सचिव जोन जे सुलिवानको उपस्थितिमा एमसीसी सम्झौतामा हस्ताक्षर गरेका थिए । जसमा नेपालको उर्जा तथा सडक मार्गलाई प्राथामिकता दिने गरि अमेरिकी सरकारले ५०० मिलियन डलर अनुदान दिने र नेपालले पनि १३० मिलियन डलर लगानी गर्ने गरि सम्झौता भएको थियो।

असन्तुष्टि किन ?
१. यद्यपि मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संझौतामाइण्डो–प्यासिफिक रणनितिको अङ्ग भएको शब्दावली उल्लेख छैन । तर,निम्न उल्लेखित तथ्यहरुबाट एमसिसी अमेरिकाले अघि सारेको इण्डो–प्यासिफिक अवधारणाको भाग अथवा अङ्ग भन्न सकिने स्थिति देखिन्छ

इण्डो–प्यासिफिक अवधारणा भनेको के हो ?
एसिया–प्यासिफिकको रुपमा चिनिँदै आएको यस क्षेत्रलाई सन् २०१७ को नोभेम्बरमा भियतनाममा आयोजित दक्षिणपूर्वी देशका कार्यकारी प्रमुखहरुको सम्मलेनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इण्डो–प्यासिफिक अवधारणा र दृष्टिकोण अघि सारेका थिए। पछि उनले यो दृष्टिकोणलाई अमेरिकी सुरक्षा रणनीतिको अङ्गको रुपमा कायम गरे। यसले अमेरिकाको पश्चिम तटदेखि भारतको पश्चिम तटसम्मको भूभाग, अर्थतन्त्र, प्रशासन, सुरक्षालाई समेटेको छ।सन् २०१९ मै अमेरिकी रक्षा विभागबाट प्रकाशित मिसाइल डिफेन्स रिभ्यूका अनुसार पनि चीन अमेरिकालाई इन्डो प्यासिफिक क्षेत्रबाट विस्थापित गर्दै उक्त क्षेत्रमा आफ्नो प्रभुत्व स्थापना गर्न चाहन्छ भनिएको छ।

यसबाट पनि के प्रमाणीत हुन्छ भने यसको उद्देश्य प्यासिफिक क्षेत्रमा चीनको पानीजहाजलाई सर्वत्र फैलनबाट रोक्नु हो । विश्वमा बढ्दै गइरहेको चीनको आर्थिक शक्ति र चिनियाँ आर्थिक पक्षहरुलाई रोक लगाउँदै अमेरिकाले आफ्नो शक्तिलाई यथास्थितीमा राख्नु हो । विश्व अर्थतन्त्रमा भारत पनि उदयमान शक्तिको रुपमा आउन सक्ने सम्भाव्यतालाई मध्यनजर राखि भारतलाई समेत आफ्नो पकडमा लिई चीनको शक्तिशाली बन्ने दाउलाई कम गराउने रणनीति देखिन्छ । जुन १ मा सार्वजनिक गरिएको इन्डो–प्यासिफिक रणनीतिमा नेपाल उल्लेख भएको प्रसङ्गले पनि एमसीसी यसैको अङ्ग भएको देखिन्छ । यस बाहेकविभिन्न समयमा ब्यक्त भएका निम्न कथनहरुले पनि यो तथ्यलाई अझ छर्लङ्ग पारेको छ ।
# अफ्रिकामा चीनको प्रभावलाई कम गर्न अमेरिकाले एमसीसी परियोजना अफ्रिकाबाट शुरु गर्यो र अहिले पनि अफ्रीकाका धेरै मुलुकहरुमा यसको लगानी रहेको देखिन्छ । अतः चीनको प्रभाव कम गर्नु नै एमसीसीको स्थापनाको मूल उद्देश्य देखिन्छ ।
#अमेरिकी विदेश राज्यमन्त्रीले भियतनामको भम्रणमा एमसीसी इन्डो–प्यासिफिक रणनीतिको प्रमुख पाटो भन्नु ।
# अमेरिकी दक्षिण एशियाली निमित्त सहायक विदेश मन्त्री डेभिड जेरानले नेपालमा
(14 May2019)भम्रणमा एमसीसी इन्डो प्यासिफिक रणनितिकोमहत्वपूर्ण थालनी भएको भन्नु ।
# नेपाल स्थित अमेरिकन राजदूतावासले पनि एमसीसी अन्तर्गत नेपाललाई दिइएको अनुदान इन्डो प्यासिफिक रणनीतिको हिस्सा हो भन्नु ।
# ०७५ साल पौषमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको अमेरिका भम्रणको क्रममा नेपाल इन्डोप्यासिफिक रणनीतिको साझेदार भएको घोषणा गर्नु।

यसप्रकार अमेरिकाले एमसीसी परियोजनालाई अमेरिकी सुरक्षा रणनीतिको अङ्गको रुपमा लिनु नेपाल जस्तो असंलग्न परराष्ट्रनीति भएको राष्ट्रलाई स्विकार्य हुँदैन। असंलग्न परराष्ट्र नीतिका मूल्य मान्यताहरुलाई अंगिकार गरेको एउटा स्वतन्त्र राज्यलाई सैनिक गठबन्धन स्विकार्य हुँदैन । नेपाल सबै मित्र राष्ट्रहरुसँग मित्रवत ब्यवहार चाहन्छ । अतः यस परियोजनाको बहानामा अमेरिकाले आफ्नो सैन्य रणनीतिसँग जोडन खोज्नु यस परियोजनाको असन्तुष्टिको प्रमुख कारक मानिएको छ । कम्प्याक्टको सम्झौतामा उल्लेख नभएको तर, अन्तर बस्तुमा इन्डो–प्यासिफिक रणनीतिको अङ्ग देखिएको तथ्यलाई वर्तमान सरकारले प्रष्ट पार्नु पर्ने हुन्छ । अमेरिकी सरकारले पनि एमसीसी मिलिटेरी एलाइन्स होइन केवल नेपालसँग गरिएको आर्थिक सहकार्य (Economic Collaboration) हो भन्ने कुरा नेपाल सरकारलाई विश्वस्त गराउनु पर्ने देखिन्छ ।

२. सम्झौताको धारा ५ को दफा ७ (क) प्रस्तुत सम्झौता लागू भएपछि प्रस्तुत सम्झौतामा उल्लेखित र नेपालको राष्ट्रिय कानून बाझिएमा प्रस्तुत सम्झौता लागू हुनेछ । यो शर्तले नेपालको संविधान नेपालको मूल कानून होस्, संविधानसँग बाँझिने कानून बाँझिने हदसम्म अमान्य हुनेछन् भन्ने प्रावधानलाई आक्रमण गरेको छ । नेपालको संविधान नै मूल कानून हो । यो भन्दामाथि कुनैपनि कानूनहरु हुँदैनन् । अतः यस सम्झौताले परियोजना नेपालमा सञ्चालित भएतापनि नेपालको संविधान कानून र ऐन लागू गर्न बाध्यकारी छैन भन्ने देखिन्छ । जसले नेपालको संविधान र नेपालको सर्वोच्च अदालतको ब्याख्या र सन्धी ऐनको दफा ९ को विपरित हुन जाने संविधानका ब्याख्याकारहरु समेत बताउँछन ।

३. एमसीसीलाई संसदबाटै पास गराउनु पर्ने प्रावधान जसले नेपालको संविधान २०७२ को धारा २७९ मा ‘शान्ति र मैत्री सन्धि’ तथा ‘प्राकृतिक स्रोत तथा त्यसको उपयोगको बाँडफाँड’को विषय संसदको दुईतिहाई बहुमतले पारित गर्नुपर्ने प्रावधान हुँदा–हुँदै सरकारले सम्झौता गरेर यो धाराको आक्रमण गरेको पनि यस सम्बन्धित जानकारहरु बताउँछन् ।

४. सम्झौताको धारा ३ को दफा ३.२ (च ) सम्पूर्ण बौद्धिक सम्पतिमा अमेरिकाको पूर्ण अधिकार हुनेछ जस अनुरुप यो परियोजनामा कार्यहरु गर्दा नविन बस्तुको विकास भएमा या उत्खनन् भएमा अमेरिकाको पूर्ण अधिकार रहनेछ । उक्त परियोजनामा नेपालले पनि १३ अर्ब लगानी गर्ने हुनाले यस अन्तर्गत कुनै नविन कुरा विकास भएमा नेपालको पनि अधिकार हुनुपर्छ । एकलौटी रुपमा अमेरिकाको मात्र बौद्धिक अधिकार स्थापित गराउने कुरामा पनि आम रुपमा असहमति देखिन्छ । बौद्धिक सम्पत्तिमा अधिकारको सम्बन्धमा पनि सम्बन्धित पक्षसँग बसेर नेपालको अधिकार सुनिश्चित गर्नुपर्ने देखिन्छ ।

५. सम्झौताको धारा ३ को दफा ३ (८) (क) परियोजना लेखापरीक्षण अमेरिकाको कम्पनीले मात्र गर्न सक्नेछ ।नेपालले १३ अर्ब लगानी गर्ने तर, त्यसको अडिट गर्ने अधिकार अमेरिकी सरकारलाई मात्र हुनुले सरकारी लगानी भएको काममा सरकारले अडिट गर्छ भन्ने कानूनी व्यवस्थालाई समेत पन्छाएको जानकारहरु बताउँछन् ।

६. अनुसूची १ (ग) को २ ( यस परियोजनामा ‘नेपाल सरकारले राज्यका कुनै निकायलाई खटाउनु पर्दा एमसीसीको स्वीकृति लिनु पर्ने छ ।’ भन्नुले यो परियोजना राज्यको मातहत नरहेर राज्य भन्दा पनि सर्वोपरि रहने देखिन्छ । यसको अन्तरबस्तुले राज्य भन्दा पनि अर्को ठूलो निकायको उपस्थिति हुने देखिन्छ । जसले नेपालको आत्म निर्णयको अधिकारलाई हनन् गर्दछ ।

७. अनुसूची ४ (क) ‘नेपाल सरकारले एमसीसीलाई चित्त बुझ्ने योजना तयार पारि पठाउनु पर्नेछ र त्यस्तो योजना भारत सरकारले समेत समर्थन गरेको हुनुपर्छ ।’ नेपालको भूभागमा परियोजनाका कार्य हुने भएतापनि भारतको समर्थन लिनुपर्ने प्रावधान नेपालको स्वाधिनता, सार्वभौमिकताको विपक्षमा छ ।

८. अनुसूची १ (क) (२) (ख) (१) (क) को (१) मा : एमसीसीले निर्माण गर्ने भनिएको ४०० किलो भोल्टको लगभग ३०० किलोमिटर प्रसारण लाइनको रुट ‘काठमाडौंको उत्तरपूर्वमा पर्ने लप्सिफेदीदेखि काठमाडौंको पश्चिममा पर्ने राटामाटेसम्म, रातामाटेदेखि काठमाण्डौंको दक्षिणमा पर्ने हेटौंडासम्म, रातामाटेदेखि पश्चिममा दमौलीसम्म, दमौली देखि दक्षिण बुटवलसम्म र बुटवल देखि भारतीय सीमासम्म’ निर्धारण गरिएको छ जुन आवश्यकता दुरि लागतको हिसाबले उपर्युक्त नदेखिएको यस सम्बन्धि जानकारहरु बताउँछन् ।

यो रुट भन्दा उत्तम सुनकोशी, कालिगण्डकी, त्रिसुली,मस्र्याङदी करीडोरबाट चितवनमा बिजुली जम्मा गरी पूर्व पश्चिम प्रशारण लाइनमा जोड्ने र नारायणी करिडोरबाट गोरखपुर सम्म लैजान दूूरी र भूगोलको हिसावले उत्तम भएको कुरा यससँग सम्बन्धित जानकार बताउँछन् । परियोजनाले निर्माण गर्ने लाइन बिआरआई अन्तर्गत चीनले बनाउने भनिएको रेल मार्गको रुट हो र यसलाई रोक्न वा नियन्त्रणमा राखेर चलाउनका लागि नै अमेरिकाले यहि रुट छानेको भन्ने पनि आशंका गरिएको छ ।
यस प्रकार सम्झौताका उपरोक्त शर्तहरु लगाएत अन्य केही शर्तहरुमा पनि असहमति देखिन्छ । मूलतः राष्ट्रको स्वाभिमानसँग प्रत्यक्ष जोडीएका शर्तहरुमा अलि ब्यापक असहमति देखिन्

निष्कर्ष : नेपाल निकट भविष्यमा छिट्टै विद्युतमा आत्मनिर्भर हुन लागेको अवस्था र विद्युतको प्रयाप्त आपूर्तिलाई सम्वोधन गर्नको लागि प्रशारण लाइनको अति नै जरुरी छ । अतः विद्युत प्रशारण लाइनको काम अहिलेदेखि नै शुरु गरिएन भने नेपालले उत्पादन गरेको बिजुली खेर जाने निश्चित छ । नेपालले राष्ट्रिय गौरवका ठूला परियोजनाहरु समयमा सम्पन्न नगरेका तितो उदाहरण २२ वर्ष लगाएर पनि सम्पन्न हुन नसकेको मेलम्ची खानेपानी परियोजनाले प्रत्यक्ष देखाइरहेको छ ।
राष्ट्रिय गौरवका योजनाहरु नेपालले समयमा सम्पन्न गर्न नसकेको र बिद्युत प्रशारणलाइन जस्तो अलि जटिल प्रकृतिको परियोजना बिद्यमान संयन्त्तबाट पनि समयमा सम्पन्न हुनेमा आशा गर्ने ठाउँ देखिँदैन ।

एमसीसी कम्प्याक्ट नेपालको आर्थिक विकास गर्ने नियतले नै ल्याइएको हो भने निश्चित समयमा विद्युतको प्रशारण पूर्वाधार तथा सडक निर्माणका कार्यहरु सम्पन्न हुनेमा सकारात्मक हुनुपर्ने देखिन्छ । यद्यपि यस सम्झौतामा रहेका राष्ट्रिय स्वाभिमान,परराष्ट्र नीति, संविधान जस्ता मूल बिषयहरुमा आँच आउने लगाएत,राष्ट्रलाई नै तल पार्ने गरि गरिएका शर्तहरु किमार्थ स्विकार्य छैनन ।जहाँसम्म कम्प्याक्टबाट प्राप्त हुने ५५ अर्ब रकम नेपालले गुमाउने भनिरहँदा नेपालको करछली, भष्ट्राचारजन्य कार्यहरु मात्रै राज्यले नियन्त्रण गर्यो भने उक्त रकम एक वर्षमा संकलन गर्न सकिन्छ । राज्यले यस्ता परियोजनालाई विशेष रुपमा उच्च प्रथामिकतामा राखेर प्रधानमन्त्री स्तरबाट आवधिक सुपरिवेक्षण गर्दै समयमा सम्पन्न गर्न नसक्ने भन्ने पनि होइन ।

यसको अर्थ कम्प्याक्ट नै आवश्यक छैन भन्न खोजिएको होइन । तर, यसमा उल्लेखित राष्ट्रिय स्वाभिमान, परराष्ट्रनीति, संविधान, अधिकारसँग जोडिएका शर्तहरुको सम्बन्धमा समयमै सम्वन्धित निकायसँग वार्ताको माध्मयबाट संशोधन गरि परियोजनालाई संसदबाट पास गराउँदा नेपालको विद्युत तथा सडकको पूर्वाधार विकास लगाएत कोरोनाले खुम्चिएको अर्थतन्त्रमा कोशेढुङ्गा सावित हुनेमा दुइमत देखिँदैन । दक्षिण एसियामा नेपाल पछि उक्त सम्झौता गर्ने राष्ट श्रीलङ्काले पनि हालसालै एमसीसीले राष्ट्रलाई पार्ने प्रभावबारे विस्तृत अध्ययन भई सुझाव नआएसम्मका लागि क्याबिनेटले सम्झौता प्रस्तावमा हस्ताक्षर गर्ने कार्य स्थगित गर्ने निर्णय गर्नुले पनि नेपाल सरकार यसमा हतारिनु भन्दा अझ विस्तृत अध्ययन गरी चित्त नबुझेका कुराहरुको चित्तबुझ्दो आश्वास्त सम्बन्धित देशबाट प्राप्त गरेपश्चात् अनुमोदन गर्नुपर्ने देखिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।