ताजा अपडेट »

एम्बुलेन्सबाट लागुऔषध ओसारपसार

शुक्रबार, २३ जेठ २०७७, ११ : २१
4 Shares

तुलसीपुर । दाङमा एम्बुलेन्समा लागुऔषध ओसारपसार गरेको फेला परेको छ । कोहलपुरबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ च ३८९ नम्बरको एम्बुलेन्सलाई तुलसीपुर–अमिलिया सडकको दमारगाउँमा बिहिबार राती सवा आठ बजे चेकजाँच गर्ने क्रममा १६ ग्राम ४०० मिलिग्राम ब्राउनसुगर फेला पारेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले जानकारी दिए ।

एम्बुलेन्समा ब्राउनसुगर फेला परेपछि एम्बुलेन्स चालकसहित तीन जनालाई नियन्त्रणमा डिएसपी सिंहले बताए । पक्राउ पर्नेहरुमा एम्बुलेन्स चालक दंगीशरण गाउँपालिका ६ श्रीगाउँ तिलक विक, घोराही उपमहानगरपालिका १३ बडहरा २३ बर्षका शंकर पुन र तुलसीपुर उपमहागनरपालिका ५ निबासी १७ बर्षकी दिपा थापा रहेका छन् । नक्कली बिरामी बनेका युवायुवतीले करिब ३ वर्षअघिदेखि कारोबार गर्दै आएको खुलेको डिएसपी सिंहले बताए । उनीहरुले यसअघि सार्वजनिक सवारी साधनमा ओसोरपसार गर्ने गरेको र लकडाउनको अवधीमा एम्बुलेन्सलाई प्रयोग गर्ने गरेको खुलेको छ ।

तुलसीपुर उद्योग वाणिज्य संघको एम्बुलेन्समा पहिलो पटक प्रयोग भएको प्रारम्भिक अनुमानमा खुलेको उनको भनाई छ । घटनामा अरु पनि संलग्न भएको आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई आजै लागुऔषध कारोबार ऐन अन्तर्गत मुद्धा चलाइने डिएसपी सिंहले बताए । तुलसीपुर उद्योग वाणिज्य संघको एम्बुलेन्स लागुऔषध सहित पक्राउ परेको घटनाप्रति संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावतले संस्थाले जिम्मा दिएको व्यक्तिले गलत ढँगले एम्बुलेन्स प्रयोग गर्दा संस्थाको वदनामी भएकोप्रति दुःख समेत व्यक्त गरेका छन् ।
“जनताको सेवा र सुविधाका लागि हामीले एम्बुलेन्स सञ्चालन गरेका हौं यसमा कसैले गलत प्रयोग गरेर हाम्रो वदनामी गरेको छ ” रावतले भने । उनले घटनाको सत्य तथ्य पत्ता लगाएर सार्वजनिक गर्नका लागि प्रशासन समक्ष अनुरोध गरेका छन् ।

संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालनमा रहेको एम्बुलेन्समा नक्कली बिरामी वनेर लागुऔषध ओसारपसार गरिएको घटनाले संस्थाको गरीमामा आँच आएको प्रति उनले गम्भिर ध्यानाकर्षण भएको समेत जनाएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।