ताजा अपडेट »

जलवायू परिवर्तन र हिड्नुपर्ने बाटो

शुक्रबार, २३ जेठ २०७७, ०७ : १३
40 Shares

हरितगृह ग्याँसको उत्सर्जनमा वृद्धि भैे वायूमण्डल तातिँदै जानाले पृथ्वीको सबै ठाउँमा जलवायू पनि परिवर्तन हुंँदै गएको छ । जलवायू परिवर्तन नियमित प्राकृतिक प्रक्रिया भएतापनि औद्योगिकीकरण तथा यातायात क्षेत्रमा खनिज इन्धनको व्यापक प्रयोग एवम् वन विनाशको कारण हरितगृह ग्याँसको अत्यधिक उत्सर्जनबाट जलवायू परिवर्तनमा तीव्रता आएको छ । जलवायू परिवर्तनको कारण वर्षा प्रकृया (अतिवृष्टि, अनावृष्टि, सघन वृष्टि) तथा ऋतुकालमा समेत परिवर्तन आएको छ । यसबाट जलस्रोत, कृषि, वन तथा जैविक विविधता, स्वास्थ्य, प्रकोप, पूर्वाधार विकास, पर्यटन तथा जिविकोपार्जनसँग सम्बन्धित विभिन्न क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव परेको छ ।

जलवायु परिवर्तनका प्रभाव विशेष गरेर नेपाल जस्ता गरिब, विकासोन्मुख, भूपरिवेष्ठित तथा पर्वतीय मुलुकहरुमा बढी देखिएको छ । नेपालले न्यून मात्रामा हरितगृह ग्याँस उत्सर्जन गरेपनि वायुमण्डलीय तापक्रम वृद्धिका कारण प्रभावित हुँदै गएको छ । कमजोर भू–वनोट,र खोला नदीहरु धेरै भएको कारणले गर्दा पनि नेपालमा जलवायु परिवर्तनको कारणले प्रतिकूल प्रभाव धेरै देखिन थालेको छ । बाढी, पहिरो र खडेरी जस्ता प्राकृतिक प्रकोपहरू वर्षेनी बढिरहेका छन् । यी कारणबाट नेपालमा अत्यधिक मात्रामा धनजनको क्षति हुनुको साथै कृषि तथा खाद्यान्न, जलस्रोत, वन जङ्गल तथा जैविक विविधता, स्वास्थ्य, पर्यटन तथा पूर्वाधार र जीविकोपार्जनमा असर पारेको देखिन्छ ।

नेपाल जलवायू परिवर्तनको जिम्मेवार देश नभएपनि जोखिममा परेको देश हो । नेपालीहरुले कार्वन उत्सर्जन कम गरेपनि विकसित र औद्योगिक राष्ट्रहरुको कारणले गर्दा भएको तापमान बृद्धि र जलवायु परिवर्तनको घातक असरहरु बेहोर्न बाध्य छन् । अहिलेको अवस्थामा नेपालले जलवायू परिवर्तनलाई रोक्न सक्दैन । तर, धेरै मात्रामा हरितगृह ग्याँस उत्सर्जन गर्ने राष्ट्रहरुलाई जलवायू परिवर्तनको असरमा भागीदार बनाउन भने सक्छ । नेपालका वनजंगल ,वायोग्याँस प्लान्ट र नवीकरणीय उर्जा श्रोतहरुले कार्वन संचिति गरेर विश्वव्यापी ऊष्नीकरण न्यून गर्न सघाउ पुर्याएको छ । त्यसैले कार्वन ब्यापारको पक्षमा दरिलो आवाज उठाएर जिम्मेवार राष्ट्रहरुबाट रकम प्राप्त गर्नु पर्छ र त्यो रकमलाई जलवायू परिवर्तनको असरबाट बच्न पूर्वतयारी, असर न्यूनिकरण र पीडित पक्षलाई क्षतिपूर्ति दिने काममा खर्च गर्नु पर्छ।

समुदायलाई जलवायु परिवर्तनबाट जोगाउन जलवायू परिवर्तनबाट प्रभावित जनता, समुदाय एवम् जोखिम क्षेत्रहरुको पहिचान गरी स्थानीय ज्ञान, सिप तथा प्रविधि अनुरुप अनुकूलन तथा प्रतिकूल प्रभावको न्यूनीकरणका उपायहरुको अवलम्बन गर्ने, दिगो सामाजिक–आर्थिक वृद्धिका लागि न्यून कार्वन उत्र्सजन तथा जलवायु समानुकूलन विकास पथ अवलम्वन गर्ने , वन क्षेत्रको वैज्ञानिक व्यवस्थापन, भू–उपयोग योजनाको तर्जुमा तथा कार्यान्वयन एवम् वन विनाश रोक्दै कार्वन संचितीकरणको दायरा फराकिलो वनाउने र हरितगृह ग्याँसको उत्सर्जन न्यून गर्न विद्यमान स्वच्छ तथा नवीकरणीय एवम् वैकल्पिक ऊर्जाका क्षेत्रमा उपयुक्त प्रविधिको थप विकास र उपयोगलाई विस्तार गर्ने जस्ता कार्यहरु गर्नु पर्छ ।

वायुमण्डलीय तापक्रम वृद्धि गर्ने खालका वायू प्रदूषकको उत्सर्जन स्रोतमा नै न्यून गर्न उपयुक्त प्रविधिको विकास, हस्तान्तरण र उपयोगमा आर्थिक तथा प्राविधिक सहुलियत प्रदान गरी प्रोत्साहन गर्नुपर्छ । देशले राष्ट्रिय कोषबाट मात्र जलवायू परिवर्तनका असरहरु न्यूनिकरण गर्न नसक्ने भएकोले स्वच्छ विकास संयन्त्रको प्रवद्र्धन मार्फत कार्वन व्यापारलाई प्रोत्साहन गरेर तथा प्रदूषकले तिर्ने (Polluter Pays) सिद्धान्त, तथा सःशुल्क पर्यावरण सेवा (Payment for Environmental Services) को अवधारणालाई कार्यान्वयन गरी आर्थिक स्रोत जुटाउने खालका योजनाहरु बनाएर प्रभावकारी ढङ्गले लागू गर्नुपर्छ । त्यसैगरी हरितगृह ग्याँसको उत्सर्जन न्यून गर्ने स्वच्छ तथा हरित ऊर्जा दक्षता प्रविधिको विकास तथा तिनको दिगो प्रयोगलाई बढावा दिने र स्वच्छ ऊर्जा स्रोतका रुपमा रहेको जल विद्युत उत्पादनमा प्राथमिकताका साथ राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्रााष्ट्रिय लगानी प्रोत्साहित गर्ने कार्यको पहल राज्यले नै गर्नुपर्छ

नेपालमा जलवायु परिवर्तनका असरहरु देखापरि सकेपनि समुदायले त्यसको बारेमा त्यति चासो राखेको देखिदैन । राज्यले जलवायू परिवर्तन सम्बन्धि थुप्रै नीति तथा कार्यक्रमहरु बनाएपनि ती नीति तथा कार्यक्रमहरु स्थानीय स्तरसम्म पुग्न सकेका छैनन् । न त हरित गृह ग्याँस उत्सर्जकहरु दण्डित भएका छन्, न त कार्बन उत्सर्जन कम गरेर र विभिन्न उपायहरुबाट कार्वन संचिति गरेर वातावरणीय सेवा पुर्याएकाहरुले लाभ नै प्राप्त गर्न सकेका छन् । राज्यले उचित योजनाहरु बनाएर यो स्थितिको अन्त्य गर्नुपर्छ र समुदाय पनि जलवायू परिवर्तनमा हामी जिम्मेवार छैनौ भनेर चुप लागेर बस्न छोडेर जलवायू परिवर्तनबाट हामी नै पहिले पिडित हुनेछौं भन्ने कुरालाई आत्मसात् गरि हरितगृह ग्याँस उत्सर्जन कम गर्न र जलवायू परिवर्तनका असरहरु न्यूनिकरण गर्न अग्रसर हुनुपर्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।