ताजा अपडेट »

बाँकेमा पसल सञ्चालन हुने

विहीबार, २२ जेठ २०७७, २० : ००

बाँके । स्थानीय प्रशासनले बाँकेमा अब बारअनुसार पसल व्यवसाय सञ्चालन गर्न दिने भएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि दुई महिनादेखि जारी बन्दाबन्दीले व्यापार व्यवसाय ठप्प भइरहेकाले बाँकेमा भीडभाड हुन नदिन सामाजिक दूरी कायम गर्दै बारअनुसार पसल व्यवसाय सञ्चालन गर्न दिइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।

उनका अनुसार जिल्ला प्रशासन कार्यालय बाँकेमा बुधबार बसेको सर्वदलीय बैठकले दिन तोकेर विभिन्न पसल, व्यवसाय खोल्न दिने निर्णय गरेको हो । निर्णयमा आइतबार र बुधबार मोबाइल, इलेक्ट्रोनिक, स्टेशनरी, पुस्तक, फोटो स्टुडियो, छापाखाना, फर्निचर र भाँडा पसल खोल्न पाउने निर्णय भएको छ । यसैगरी सोमबार र बिहीबार कपडा, फेन्सी, जुत्ता, कास्मेटिक, चश्मा र गरगहना पसल, मङ्गलबार र शुक्रबार अटो मोबाइल, कोल्डस्टोर, जुस, मोटरसाइकल, साइकल र अन्य पसल खोल्न दिइने छ । औषधि पसल, दैनिक उपभोग्य सामग्री, निर्माण सामग्री, मलखाद र बीउबिजन दैनिकरूपमा खुल्ने बताइएको छ ।

बैंकहरु सार्वजनिक बिदाको दिनबाहेक सबै दिन खोल्ने, अत्यावश्यक कामबाहेक इ–रिक्सा, अटो र मोटरसाइकलको प्रयोगलाई नियन्त्रण गर्ने, सामाजिक दूरी कायम गर्दै, मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्नेलगायत सर्वदलीय बैठकबाट निर्णय भएको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले जानकारी दिए ।
     
निजी क्षेत्रलाई सहुलियत घोषणा गर्न माग

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले सरकारले कर तिर्न थप गरेको समय अपर्याप्त भएको भन्दै  निजी क्षेत्रलाई तत्काल सहुलियत घोषणा गर्न माग गरेको छ ।  जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत अर्थमन्त्री युवराज खतिवडालाई ज्ञापनपत्र बुझाएर सङ्घले आफ्नो मागका बारेमा जानकारी गराएको हो । आफ्ना माग कार्यान्वयन गराउन आज बिहान ९ देखि १० बजेसम्म एक घण्टा उद्योगी, व्यवसायीले कर तिर्न नसक्ने ब्यहोरासहितका प्लेकार्ड राखेर आ–आफ्नो प्रतिष्ठान वा घरबाटै विरोध प्रदर्शन गरेको सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।
 
उनका अनुसार माग सम्बोधन गराउन उद्योगी, व्यवसायीसँग छलफल गरी आवश्यक रणनीति तय गर्ने निर्णय भएको छ । सङ्घले नेपाल राष्ट्र बैंकको मौद्रिक तथा वित्तीय नीतिमार्पmत बैंक ब्याज मिनाहा, सहुलियत तथा छुट सम्बोधन गर्न माग गरेको छ । बन्दाबन्दी अवधिभरलाई शून्य समय मानी तिर्नुपर्ने सम्पूर्ण कर बन्दाबन्दी खुलेको कम्तीमा तीन महिनापछि तिर्ने व्यवस्था गर्नुपर्ने माग गरेको महासचिव चिरञ्जीवी ओलीले बताए ।

बन्दाबन्दीमा सडक निर्माणको काम निरन्तर

बाँकेको जानकी गाउँपालिकालाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने लिङ्करोड निर्माणकार्य बन्दाबन्दीमा पनि सञ्चालन भएको छ । जानकी गाउँपालिका–६ गनापुरस्थित पिप्रहवा चोकदेखि वडा नं ४ खजुराखुर्दको नहरचोक जोड्ने निर्माणाधीन लिङ्करोडमा अहिले धमाधम माटो पटानको काम भइरहेको छ । 
     
सात मिटर फराकिलो र सात किलोमिटर लम्बाइ रहने निर्माणाधीन यो सडकमा निर्माण कम्पनीले निरन्तर काम गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिए । “गनापुरको भित्रसम्म उद्योग खुलेका छन्, साँघुरो र कच्ची सडक भएका कारण मालवाहक सवारी साधन हिँड्न कठिनाइ हुँदै आएको छ”, खत्रीले भने, “यो सडक निर्माणले गाउँपालिकामा रहेका उद्योगका सवारी साधन आवागमनमा सजिलो हुनेछ ।” गनापुरको पूर्वीक्षेत्रमा रहेका उद्योगले नेपालगञ्ज–कोहलपुर सडक प्रयोग गर्दै आए पनि पश्चिमतर्फ भित्री भागमा रहेका उद्योगलाई यो सडक निर्माणपछि सवारी साधन आवागमनमा सहज हुनेछ । बन्दाबन्दीको समयमा पनि कच्चा सामग्रीको व्यवस्था मिलाउँदै सडक निर्माणको कामलाई निरन्तरता दिएको ठेकेदार कम्पनी खड्का निर्माण सेवाका सञ्चालक टेकबहादुर खड्काले बताए । उनले वर्षात् अगाडि नै सडकमा ग्राभेलिङको काम सम्पन्न गर्ने गरी काम अघि बढाइएको जानकारी दिए ।
 
सिक्टा सिँचाइको नहरसमेत यही सडकको किनारबाट निर्माण हुँदैछ । सिक्टाको नहरबाट तीन मिटर र स्थानीय जग्गधनीबाट चार मिटर जमिन प्राप्त गरी सात मिटर चौडाइको लिङ्करोड निर्माणकार्य भएको गाउँपालिका अध्यक्ष रामनिवास यादवले जानकारी दिए । “हामीले यो सडकलाई गाउँपालिकाको रिङरोडका रूपमा प्रस्ताव गरेका थियौँ, तर रिङरोडको मापदण्डमा १२ मिटर चौडाइको सडक हुनुपर्ने भएकाले अहिलेलाई लिङ्करोडका रुपमा निर्माण शुरु गरेका छौँ”, उनले भने, “हाम्रो अनुरोधमा सिक्टा सिँचाइ र स्थानीय जग्गाधनीले सडक निर्माण गर्न सात मिटर छोड्न सहमत हुनुभएको छ यो भन्दा फराकिलो बनाउन सकेनौँ ।”

गाउँपालिकाको करिब रु डेढ करोड र सङ्घीय सरकार सांसद विकास कोषको रु डेढ करोड गरी कूल रु तीन करोडको लागतमा सात किलोमिटर लम्बाइको यो सडक निर्माण शुरु भएको प्रमुख प्रशासकीय अधिकृत खत्रीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।