ताजा अपडेट »

टनेल नै क्वारेन्टिन

विहीबार, २२ जेठ २०७७, १३ : ५५
8 Shares

दैलेख । जिल्लाको पश्चिमतिर पर्ने ठाँटीकाँध गाउँपालिकाभरि निर्माण गरिएका विद्यालय भरिएपछि गाउँभन्दा केही पर जङ्गलमा तरकारी लगाउन प्रयोग गरिने टनेल नै क्वारेन्टिन बनाउन थालिएको छ । तरकारी लगाइने जग्गामा प्लाष्टिक राखेर आपत्कालीन क्वारेन्टिन निर्माण गरेर काम शुरु गरिएको छ ।

सबै स्थान भरिएपछि बाध्य भएर आज मात्रै तीन पोलिहाउसमा पाल राखिएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले बताए । उनले भने, “कि त जनतालाई जहाँ जान्छौ जाऊ भन्नुपर्छ, हैन भने जहाँ जे भेटिन्छ त्यसैले व्यवस्थापन गर्नुपर्छ ।” अहिलेसम्म गाउँपालिकामा एक हजारभन्दा बढी मानिस भारतबाट प्रवेश गरिसकेका छन् । कसैको पनि स्वास्थ्य जाँच गरिएको छैन । जाँच गर्ने टोली बल्ल आउन लागेको जानकारी पाएको अध्यक्ष शाहीले बताए ।

क्वारेन्टिनमा बसेकाले मैलाई छोइदिए : शाही
प्रदेश सरकारले धमाधम जनता गाउँ पठाएर क्वारेन्टिनमा राख्न आदेश दिएकाले आफूहरुले बाध्य भएर काम गर्नुपरेको अध्यक्ष शाहीले बताए । “पालिकामा क्षमता कति छ भनेर कसैले मूल्याङ्कन गरेनन् । हामीले जसोतसो व्यवस्थापन गरेका थियौँ । भारतबाट आएका दाजुभाइहरु दुःखसुख गरेर १४ दिनसम्म बसिदिएको भए राम्रै हुन्थ्यो । कतिपय क्वारेन्टिनमा बस्नेहरुको शैली पनि अराजक देखियो ।

मैले सबै जनतालाई सम्झाउँदै गएँ, एक अर्कासँग दूरी कायम गर्नुपर्दछ, कहीँ कतै कसैसँग छुनु हुुँदैन रोगको संक्रमण बढ्छ भनेर भन्दै थिएँ, एक जना आउनुभयो र मलाई छोइदिनुभयो अनि भने अब तपाईँलाई कोरोना सर्छ, मैले सारिदिएँ ।” यतिसम्मको मानसिकताले संक्रमण झनै फैलिन सक्ने अध्यक्ष शाहीले गुनासो गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।