ताजा अपडेट »

बुटवलका क्वारेन्टाइनमा योगा अभ्यास र आयूर्वेद ओखती

विहीबार, २२ जेठ २०७७, १२ : ५२
4 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाले क्वारेन्टाइनमा रहेकाको शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भन्दै नियमित योगा अभ्यास सिकाएको छ । बुटवलका क्वारेन्टाइनमा हाल १२ जिल्लाका एक सय ५६ जना रहेका छन् । आइसोलेशन सेन्टरमा भने विभिन ठाउँका २१ जना रहेका छन् । साथै रोगप्रतिरोधी क्षमता बढाउने खालका आयुर्वेद ओखतीसमेत प्रदान गरेको छ । आयुर्वेद ओखतीका लागि बुटवल उपमहानगरसँग प्रदेश सरकारको सहकार्य छ । योगाका जानकार तथा योगा गुरुले क्वारेन्टाइन र आइसोलेशन सेन्टरमा नियमित योगा सिकाइरहेका छन् ।

बुटवल–१२, तामनगर, बुटवल–४, कान्ति माविमा रहेका कोरोना बिशेष क्वारेन्टाइन र बुटवल–११, योगीकुटीमा रहेको आइसोलेशन सेन्टरमा योगा सिकाइएको छ । आइसोलेशन सेन्टरमा कोरोना संक्रमण पोजेटिभ देखिएकालाई राखिएको छ । त्यहाँ उनीहरुलाई आयूर्वेदओखतीसमेत प्रदान गरिएको छ । क्वारेन्टाइनमा रहेकाहरुको रोगप्रतिरोधक क्षमता बढाउन आयुर्वेद चिकित्साको महत्व र स्थानीय जडिबुटीको यथोचित प्रयोगका साथै योगा अभ्यान सिकाइएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । क्वारेन्टाइनमा राखिएकाहरुलाई तनावबाट मुक्त पार्न र संक्रमण पोजेटिभ देखिएकालाई आयूर्वेद ओखतीमार्फत रोगप्रतिरोधी क्षमता बढाउन यो अभियान जारी राखिएको प्रमुख सुवेदीको भनाइ छ । योगालाई शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त राख्ने उपयुक्त विधिका रुपमा लिइन्छ।

योगालाई रोगी व्यक्तिहरुको महत्वपूर्ण चिकित्सा पद्दति पनि मानिन्छ । योगको माध्यमबाट रोगी व्यक्तिले आफूलाई निरोगी, स्वस्थ्य तुल्याउन सक्छन् । स्वस्थ्य व्यक्तिहरुका लागि जीवन पद्दति र योगीरुका लागि साधना पद्धति मानिन्छ । योगाका याम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि र त्याग जस्ता आठ प्रकारका आसनमध्येको योगाको ध्यान विधि अहिलेको महामारीमा जोसुकैले पनि गर्न जरुरी र आवश्यक देखिएको योगगुरु विष्णुहरि आचार्य (योगीराज) को भनाई छ।

क्वारेन्टाइन सूरु भएयता बिहानको समयमा योगाका गुरु र स्वास्थ्यकर्मीसहित प्रमुख, उपप्रमुख र वडाअध्यक्षहरु सामाजिक दुरि कायम गर्दै योगा अभ्यासमा सरिक भएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । मस्तिष्कको स्वास्थ्यका लागि योगा एक प्राकृत्तिक औषधी मानिने भएकाले अहिले मनसँग शरीरको जोड कायम राख्ने र त्यसैका आधारमा शारीरिक तथा मानसिक स्वास्थ्यलाई बलियो बनाउने काम भइरहेको प्रवक्ता रेग्मीको भनाइ छ।

आयूर्वेद ओखती प्रदान
बुटवल उपमहानगरपालिका अन्र्तगत रहेका क्वारेन्टाइन तथा आइसोलेसनहरुमा स्थानीय ओखती युक्त जडिबुटीको यथोचित प्रयोग गर्न समेत सिकाइएको छ । आइसोलेशन सेन्टरमा रहेका संक्रमितका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र लुम्बिनी आयुर्वेद चिकित्सालयको सहकार्यमा आयुर्वेद र वैकल्पिक चिकित्साका सामग्री प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।

आइसोलेशन सेन्टरमा रहेका २१ जना संक्रमितलाई योगाका अभ्यासका साथै आयुर्वेद ओखती प्रदान गरिएको शर्माले बताए । आयूूर्वेद तथा बैकल्पिक चिकित्सा पद्धतिबाट कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा ब्यबस्थापन निर्देसिका अनुसार अश्वगन्धा पाउडर, गुडुची चिया, त्रिकटु चुण तथा च्यवनप्रास अवलेह प्रयोग गराउन सुरु गरिएको हो ।

नृत्य पनि एउटा विधि हो
केही दिन अघि धागो काराखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचारका लागि आएका कोरोना संक्रमित रुपन्देहीको कोटहीमाइका युवा करिब एक सातापछि निको भएर घर फर्किए । ती युवा अस्पतालमा नाच्ने र ध्यान गर्ने गर्दै आएको भिडियोसमेत सार्वजनिक भएको थियो । नृत्यलाई पनि उपचारको एउटा विधि मानिन्छ र यो योगा अन्तर्गत नै पर्ने योगा गुरु आचार्यले जानकारी दिए । कोरोना महामारीका बेलामा सबैतिर तनाव उत्पन्न भइरहेका बेलामा बुटवलले तनाव व्यवस्थापनको प्रभावकारी र उपयुक्त विधिको शुभारम्भ गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।