ताजा अपडेट »

जनप्रतिनिधि नै कृषिमा रमाउन थाले

सोमबार, १२ जेठ २०७७, १५ : १८
34 Shares

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाका वडाअध्यक्षहरु कृषि पेशामा जोडिएका छन् । पछिल्लो समय उनीहरु समाजसेवा गर्दै व्यावसायिक कृषि तथा नगदेबाली लगाउन सम्लग्न भएका हुन् ।

सदरमुकामको बसाइँ छोडेर गाउँ फर्केका कृषि कार्ममा लागेका हुन् । स्थानीय तहको निर्वाचनका समयमा सो गाउँपालिकाका वडामा उम्मेदवार बनेका अधिकांश सदरमुकाममा बस्थे । निर्वाचनमा विभिन्न दलबाट मत माग्दै गाउँघर चहारेका उनीहरुलाई विपक्षी दलले भने ‘भिजिटर’ उम्मेदवारको सङ्ज्ञा समेत दिएका थिए । तर, तिनै उम्मेदवारमध्ये अधिकांशले चुनाव पनि जिते । अहिले उनीहरुले कार्यभार सम्हालेको तीन वर्ष बित्यो । जनप्रतिनिधि चुनिएपछि उनीहरुले जनताको जीविकासँग जोडिएका काम के कति भए भनी खोज्ने हो भने केही वडाका काम प्रशंसनीय छन् । केहीले कनिकुथी सुधारको प्रयास थालेका छन् । कतिपय ठाउँमा खेतबारी मासेरै भए पनि सडक बनेका छन् । विद्यालयका भवन तथा खानेपानी तथा सिँचाइका काम सफलताको सूचीमा छन् । त्योबाहेक उनीहरु आफँैमा आएको परिवर्तन भने तारिफयोग्य छन् ।

विसं २०४६ देखि सो गाउँपालिका–५ बिहुँ कर्लिमबाट बागलुङ बजार झरेर व्यवसायमा लाग्नुभएका शिवप्रसाद कँडेल स्थानीय तहको निर्वाचनमा वडाका उम्मेदवार थिए । गाउँको जग्गा बाँझाएर बजारमा होटल व्यवसायमा लाग्नुभएका उनी नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षको उम्मेदवार थिए । चुनावी प्रचारमा विपक्षीले लगाएको तिखो वचनलाई गलत सावित गर्दै उनले गाउँघरको बाँझो जमिनमा खेती गर्न थाले । केही जमिनमा तरकारी र फलफूल लगाउनुभएको छ भने ३० रोपनीमा धान रोप्न उनले ब्याड राखे ।

विसं २०६० मा बुबाआमा बजार झरेपछि बाँझो जग्गामा फैलिएको घाँस पन्छाउँदै गर्दा भेटिएका उनले भने, “४० मुरी धान फल्छ, खेती गर्न अहिले परिवारसहित गाउँमै छु ।” पछिल्लो समय उनी बजारमा कम र गाउँमा धेरै समय बिताउन्छ्न ।

बागलुङ बजारमा बसेर सामुदायिक वन र राजनीतिमा सक्रिय काठेखोला–७ रेशका वडा अध्यक्ष प्रेम लामिछाने पनि त्यहाँका लागि उम्मेदवार थिए । लामो समय बजारमै बिताउनुभएका उनलाई पनि चुनावका बेला ‘टुरिस्ट’ उम्मेदवारको आरोप लाग्यो । उनले आफुलाई लागेको आरोपले पोलेरै कृषि कर्म थालेका छन् । नगदेबाली र फलफूल बालीबाट आम्दानी गर्न सकिन्छ भन्दै वडावासीलाई सिकाउने उनीले दुई रोपनी बारीमा अलैँची खेती गरे ।

नमूनाका रुपमा किबीको खेती गरेर वडाका किसानलाई उत्साहित गर्ने पनि उनको योजना छ । उनको घरछेउमा अहिले किबीका बिरुवाले नयाँ पालुवा हाल्दैछन् । बागलुङ बजारको घरमा लामो समय बिताउनुभएका काठेखोला–६ बिहुँका अध्यक्ष युक्तप्रसाद कँडेल पनि उम्मेवार नै थिए । उनको गाउँमा घर र कृषिबाली त थियो तर अधिकांश बसाइ बजारमै । उहाँ अहिले बजारको घर बेचेर गाउँ फर्केका छन् । बारीभरि सुन्तला बगान बनाउनुभएका उहाँले वडाको कामपछिको समय सुन्तला बगानमा बिताउन्छ्न।

उनीहरुजस्ता काठेखोलाका अधिकांश जनप्रतिनिधि समय र राजनीतिले फेरो मारेपछि गाउँ फर्किएर बाँझो जमिनमा कृषि कर्म गरेर वडावासीलाई प्रेरित गर्ने ध्याउन्नमा हुनुहुन्छ । गाउँमै सामाजिक परिचालकको काम गर्दै आएकी काठेखोला–८ लेखानीकी चित्रकला छन्त्यालले चुनावमा लड्ने हुटहुटीपछि खाइपाइ आएको जागिर छोडे । चुनाव जिते । केही समय वडा र घरको काममा समय बिताएका उनले अहिले भने कृषि कर्म थाल्नुभएको छ । एक लाख २० हजार खर्चेर उहाँले घरअघि प्लाष्टिक टनेल बनाएका छन् ।

अब त्यही टनेलमा तरकारी फलाएर नमूना तरकारी फार्म बनाउने उनको धोको छ । “वडाध्यक्षको तरकारीखेतीले धेरैलाई सिकाउँछ”, काठेखोला–८ कि अगुवा किसान लालकुमारी पुनले भन्नुभयो, “काम त सबैका हुन्छन् तर कृषिलाई भुल्न भएन नि १” तत्काल उद्योग र व्यवसायको सम्भावना नरहेकाले गाउँमा आयआर्जनसँग जोडिने माध्यम कृषि भएको वडाध्यक्ष बताउँछन् । “हामी किसान नै हो, काम गर्नुपर्छ, फुर्सद त कहाँ छ र १”, उनले भने।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।