ताजा अपडेट »

यूनिभर्सल मेडिकल कलेजलाई चेतावनी

शनिबार, १० जेठ २०७७, १९ : ३५
2 Shares

अटेर गरेर जनशक्ति पठाएनः मन्त्रालय, तत्काल आवश्यकता देखिएन : कलेज

बुटवल । प्रदेश ५ का सबै मेडिकल कलेजहरुलाई कोभिड-१९ को व्यवस्थापनमा सहयोग गर्न भने अनुसार अटेर गरेपछि युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवालाई मन्त्रालयले चेतावनीयूक्त पत्र काटेको छ । कोभिड-१९ को व्यवस्थापनमा सहयोगका लागि प्रदेशका मेडिकल कलेजहरुलाई सहयोग माग अनुसार यूनिभर्सल कलेजबाट ३ जना मेडिकल फिजिसियन कन्सल्ट्यान, ६ जना मेडिकल अधिकृत तथा ९ जना स्टाफ नर्स माग गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय महाशाखा प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले बताए । यसका साथै विरामीको उपचारका लागि २० वटा आइसोलेशन बेडको व्यवस्था गर्न भनिए पनि अटेर गरेपछि कार्यान्वयनका लागि कारबनहि गर्ने चेतावनी सहितको पत्र काटिएको उनले बताए ।

सरकारले अघि सारेको योजनाहरु कार्यान्वयनमा सो कलेजले वेवास्ता गरेको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । उक्त मेडिकल कलेजले अहिलेसम्म आइसोलेसन बेडमा बिरामी राख्न नचाहेको र जनशक्ति पनि नपठाएको डा. चौधरीले बताए । मन्त्रालयले शुक्रबार काटेको पत्रमा निर्देशन अटेर गरेको हुँदा युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजलाई प्रचलित कानूनका आधारमा कारबाही प्रकृया अघि बढाउने चेतावनी दिइएको उल्लेख छ । मेडिकल कलेजले चैत्र महिनामा मन्त्रालयले पत्राचार गर्दा कोभिड–१९ मा कलेजमै २० बेड छुट्याउने र जनशक्ति पनि पठाउने प्रतिबद्धता जनाएको थियो ।

यूनिभर्सल मेडिकल कलेजका प्रबन्धक कमलराज ढकालले भने तत्कालका लागि आवश्यकता नदेखिएका कारण विशेष अस्पतालमा जनशक्ति नपठाएको बताए । आवश्यकताको मूल्याङ्कन गरि जनशक्ति उपलब्ध गराउने तयारीमा रहेको बताउँदै उनले यसअघि अस्पतालबाट २ जना फिजिसपयन कन्सल्ट्यान्स र ६ जना स्टाफ नर्स पठाउने प्रतिवद्धता भएको जनाए । अस्पतालले दैनिक २ सय बढी ज्वरोसँग सम्बन्धित विरामीको उपचार गरिरहेको दाबी गर्दै ढकालले मन्त्रालयको निर्देशन अटेर गरेको भन्दा पनि विशेष अस्पतालमा विरामीको चाप अनुसार तत्कालका लागि थप स्वास्थ्यकर्मी आवश्यकता नदेखेर जनशक्ति नपठाएको जवाफ दिए ।

मन्त्रालयको पत्र बारे उनले आईतबार बैठक बसी निर्णय लिने तयारीमा रहेको जानकारी गराउँदै उनले स्रोत साधन उपलब्ध नगराएर नै सरकारले एकोहोरो प्रेसरमा पारेको बताए । आइसोलेसनमा राख्नु पर्ने विरामीका लागि स्वाव संकलन गर्न आवश्यक पर्ने भिटिएम समेत उपलब्ध नगराइको उनले उल्लेख गरे । बजारमा जहाँत्यही उपलब्ध नहुने र प्रदेशको विशेष अस्पतालमा भएर पनि उपलब्ध नगराउने तथा क्वारेन्टाइनका विरामीहरुलाई स्वाव परिक्षण बिनानै अस्पतालमा ल्याउने गरिएको उनले बताए ।

सामाजिक विकास मन्त्रालयले कोरोना विशेष अस्पतालमा जनशक्ति खटाउन प्रदेशमा रहेका देवदह मेडिकल कलेज रुपन्देही, लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा, कोहलपुर मेडिकल कलेज बाँके र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज गरी ४ वटा नीजि क्षेत्रको मेडिकल कलेजसँग जनशक्ति माग गरेको थियो । नीजि क्षेत्रको उक्त स्वास्थ्य संस्थाले जनशक्ति परिचालन नगर्दा सेवा प्रवाहमा असहजता भएको मन्त्रालयको भनाइ छ । अहिले प्रदेश नं ५ मा ४ वटा कोरोना विशेष अस्पतालमा संचालन गरिएको छ । त्यसैगरी आईसोलेसन अस्पताल वेड भएको ५० वटा अस्पताल रहेका छन । अहिलेसम्म ४ वटा विशेष अस्पतालका अलवा केही निजी सहित विभिन्न अस्पतालहरुमा कोरोना संक्रमित राखिएको छ ।

प्रदेशमा करिव ७ सय स्वास्थ्यकर्मीहरु रहेका छन् । उक्त जनशक्तिले सेवा प्रवाह गर्न समस्या भएपछि निजी अस्पतालसँग सहयोग लिने निर्णय प्रदेश सरकारले गरेको हो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।