ताजा अपडेट »

बुटवलमा ५० बेडको अर्को आइसोलेशन सेन्टर

शुक्रबार, ०९ जेठ २०७७, १४ : २४
8 Shares

बुटवल । कोरोना संक्रमितलाई लक्षित गरेर बुटवलमा अर्को आइसोलेशन सेन्टर निर्माण भएको छ । उपमहानगरपालिकाले केही दिन यता ५० वेडको आइसोलेशन सेन्टर तयार पारेको हो । वडा नं. ११ देविनगरस्थित एन्फा एकेडेमीको भवनमा ५० वेडको आइसोलेशन सेन्टर तयार पारिएको हो ।धागो कारखानामा आइसीयूसहितको कोरोना विशेष अस्पतालपछि यहाँ अर्को थप सेन्टर निर्माण भएको हो । एन्फा एकेडेमीको भवनमा उपयुक्त आइसोलेशन सेन्टर निर्माण गरिएको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

विदेशबाट आउनेलाई क्वारेन्टाइनमा राख्न बेड थप्ने कामसंगै अर्को आइसोलेशन सेन्टर निर्माण गरिएको प्रमुख सुवेदीको भनाइ छ । सेन्टरमा हाल ५० वटा वेड राखिएका छन् भने आवश्यक परेमा अरु थप गर्न सकिने उपमहानगरपालिकाले जनाएको छ । खुला मैदान समेत त्यहीँ भएकाले व्यायामका लागि पनि उपयुक्त हुने विश्वास गरिएको प्रमुख सुवेदीले बताए । हाल बुटवल- १२, तामनगर क्वारेन्टाइनमा रहेका करिब एक सय २० जनाको आरडीटी परीक्षण भइरहेको छ । त्यसमा पोजेटिभ देखिनेको पीसीआर परीक्षण गरिनेछ । त्यसमा पनि पोजेटिभ देखिनेलाई सम्भवतः यहीँ आइसोलेशन सेन्टरमा लगिनेछ । लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीले निगरानी गर्नेछन् ।

प्रदेश सरकारको समन्वयमा आइसोलेशन सेन्टर निर्मण गरिएको बुटवलका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । क्वारेन्टाइनमा योगा अभ्यास पनि चलिरहेको छ । योगिराज विष्णुहरि आचार्यले योगा अभ्यास गराइरहेका छन् । बुटवलको तामनगर र कान्ति स्कुलमा क्वारेन्टाइन सञ्चालन गरिएको छ । तिनै स्थलमा पुगेर योगा अभ्यास गराएको बुटवलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।