ताजा अपडेट »

तपाईंको टोल-छेउमा आउने तरकारी कहाँको हो ?

विहीबार, ०८ जेठ २०७७, १३ : ५६
8 Shares

बुटवल । लकडाउनको बेलामा घरटोलमा आउने तरकारी कहाँको हो र त्यसरी तरकारी बेच्ने मान्छे को हो ? भन्ने जस्ता आशंका समुदायमा भइरहेका बेलामा बुटवलले भने स्थानीय ताजा र प्रमाणित गरिएका तरकारीलाई मात्रै बेचविखन गर्न पाउने नियम बनाएको छ । स्थानीय किसानले उत्पादन गरेका ताजा कृषि उपजलाई संक्रमण फैलिन नदिने उपायसहित उपभोक्तासम्म पुर्याउन पाउने भन्दै बुटवलले सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । बुटवलका १९ वटै वडामा उत्पादन हुने तरकारी तथा फलफुल र बुटवलसँग जोडिएका छिमेकका पालिकाहरुमा उत्पादन भएका र त्यहीँका पालिकाबाट ताजा तरकारीको प्रमाणपत्र लिएर किसानले नै उपभोक्ताका घर टोलसम्म विक्रीवितरण गर्न पाउने छन् । उपभोक्ताको जिउधन र स्वास्थ्यलाई मध्यनजर गर्दै स्थानीय उत्पादनलाई समेत प्रबद्र्धन गर्नेगरि बुटवलले बनाएको नयाँ नियमले तरकारी उत्पदक देखि आमउपभोक्ताको संक्रमण जोखिमलाई समेत कम गराउने छ ।

बुटवलका १९ वटै वडामा त्यहाँका वडा अध्यक्ष र छिमेकका पालिकाबाट सम्बन्धित पालिका प्रमुख, वडा अध्यक्ष वा सम्बन्धित अधिकारीले सिफारिस गरेपछि त्यो तरकारी विक्री वितरण गर्न पाइने छ । स्थानीय किसानलाई हौसला, सुरक्षा संवेदनशिलता र उनीहरुको उत्पादनलाई बजारिकरण गर्ने काममा आफुहरु केन्द्रित रहेको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताए । टोलटोलमा असुरक्षित तरिकाले तरकारी बोकेर हिंड्ने जोकोही पनि अब त्यसरी हिंडन पाउने छैनन् । आफुले उत्पादन गरेको र सम्बन्धित पालिकाले प्रमाणिकरण गरेका ताजा उत्पादनलाई मात्रै सामाजिक दुरी कायम गराउँदै विक्री वितरण गर्ने व्यवस्था गर्दा त्यसको सकारात्मक लाभ किसान र उपभोक्ता दुबैलाई पुग्ने प्रमुख सुवेदीको विश्वास छ । आम उपभोक्ताको जिउधन र स्वास्थ्यलाई समेत मध्यनजर गर्दै गरिएको यसखालको निर्णय सकारात्मक रहेको उपभोक्ता हीत संरक्षण मञ्च प्रदेश ५ का अध्यक्ष तेजकुमार पाठकको प्रतिक्रिया छ ।

कोभिड–१९ को महामारीका बेलाम सुरक्षाको उपाय अपनाउँदै उपभोक्ताको स्वास्थ्यलाई प्राथिमकतामा राख्नु स्वागतयोग्य रहेको बताउँदै अध्यक्ष पाठकले यसलाई अरु पालिकाले पनि अनुसरण गर्नुपर्ने सुझाव दिए । हरियो ताजा तरकारी र फलफुल स्थानीय पालिकामार्फत जाँच गरेर सिफारिस गरेपछि विक्री वितरण गर्न पाउनेगरि जारी गरिएको नयाँ नियमले विचौलिया रोक्ने र आम कृषक तथा उपभोक्तालाई हीत गर्ने खालको पाइएको पत्रकार महासंघ रुपन्देहीका सचिव आरपी आचार्यको भनाइ छ ।

बुटवल उपमहानगरभित्रको भए सम्बन्धित वडा कार्यालयले सिफारिस गरेको आधारमा र छिमेकका पालिकाको भए त्यहाँको पालिकाले चेकजाँच गरेर योग्य छ भनि दिएको सिफारिसको आधारमा मात्र बुटवलमा टोल–टोलमा र उपभोक्ताको घरघरमा डुलाएर विहान ७ बजेदेखि १० बजेसम्म विक्री वितरण गर्न पाइने नियम बनाइएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए । बुटवलका किसानलाई पहिलो प्राथिमकतामा राखिएपनि सार्वजनिक सूचनाले अरु कुनै पालिकाले विक्री वितरण गर्न नपाउने भन्ने नियम नबनाइएको बरु सबैलाई उपभोक्ताको स्वास्थ्यमा थप जिम्मेवार एवम् संवेदनशिल बनाउने काम गरेको बुटवलका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।