फागुन २३
काठमाण्डौं ।
नेपाल कम्युनिष्ट पार्टीका महामन्त्री मोहनविक्रम सिंहले आफ्ना पार्टीका समर्थक विभिन्न गाउँपालिकाहरूमा जबर्जस्ती चन्दा असुली र उनीहरूका कार्यक्रमहरूमा सहभागि हुन धम्की दिने गरेको भन्दै त्यसको विरोध गरेका छन् ।
महामन्त्री सिंहले बिहीबार एक वक्तव्य जारी गर्दै विप्लव समुहलाई त्यस्तो धम्की नदोहोर्याउन चेतावनी दिएका हुन् ।
‘यस्तो गतिविधिलाई हामी गलत मान्दछौँ र विरोध गर्दछौँ ’ वक्तव्यमा भनिएको छ । महामन्त्री सिंहले नेकपा विप्लब पक्षलाई आफ्नो मित्र शक्ति मानेपनि उनीहरूले आफूप्रति शत्रुतापूर्ण व्यवहार अपनाउँदै गइरहेको जनाएका छन् ।
‘उनीहरू र हाम्रा बीचमा भएका कतिपय राजनीतिक मतभिन्नताका कारणले उनीहरूका आन्दोलनका सबै कार्यक्रमहरूलाई हामीले समर्थन गर्न नसक्ने कुरा प्रष्ट छ । त्यो अवस्थामा उनीहरूले आफ्ना आन्दोलनको समर्थनका लागि कुनै पनि प्रकारको दवाव दिने वा जबर्जस्ती गर्ने कार्य हाम्रा लागि सह्य हुन सक्दैन । उनीहरूले त्यस प्रकारको कुनै कारवाही गरेमा त्यसको हामीले सशक्त प्रतिरोध गर्ने कुराको पनि जानकारी गराउन चाहन्छौँ,’ सिंहले चेतावनी शैलीमा भनेका छन् ।
प्रतिक्रिया