ताजा अपडेट »

आज ग्याल्पो ल्होसार : शेर्पा सुमदायले मनाउँदै

विहीबार, २३ फागुन २०७५, १० : ३८
12 Shares

फागुन २३,

काठमाडौं । आज शेर्पा समूदायले ग्याल्पो ल्होसार पर्व मनाउँदैछन् । नेपालका आदिवासी शेर्पा लगायत हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायले आज बिहीवार ग्याल्पो ल्होसार मनाउँदैछन्
।  भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात नयाँ वर्ष शुरु हुन्छ । जसअनुसार बाँदर वर्ष पूरा भई आजदेखि चरा वर्ष शुरु भएको हो । 

आजैबाट बुद्धले ऋद्धि शक्तिमाथि विजयी प्राप्त गरेको सम्झनामा बौद्ध धर्मावलम्बीले १५ दिनसम्म विशेष कार्यक्रम गरी मनाउने समेत गर्छन् । ग्याल्पो ल्होसारका अवसरमा हिमालयन शेर्पा सांस्कृतिक केन्द्र लगायत सरोकारवाला संघसंस्थाले विशेष कार्यक्रम आयोजना गर्दैछन् ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै विविधताले भरिएको नेपाली समाजका चाडपर्व साझा सम्पत्ति भएको उल्लेख गरेकी छिन् । राष्ट्रपति भण्डारीले शेर्पालगायत बौद्ध धर्मावलम्बीले मनाउने महान् पर्व नयाँ वर्ष ‘ग्याल्बो ल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण महायानी बौद्ध धर्मावलम्बी समुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी हुन् ।

यस्ता चाडपर्वले नेपाल र नेपालीबीच बन्धुत्व र पारस्परिक सम्बन्ध बढाउनका साथै आपसी संस्कृतिको सम्मानसहित आपसी एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्न सघाउ पुग्ने उनले विश्वास व्यक्त गरेकी छिन् । राष्ट्रपतिको सन्देशमा यस पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षाेल्लास, शान्ति र भ्रातृत्वको सन्देश फैलाउन सकोस् भन्ने शुभेच्छा पनि प्रकट गरिएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।