ताजा अपडेट »

करोड लगानीमा ‘एग्रो रिसोर्ट’

बुधबार, ०७ जेठ २०७७, ११ : ४९
12 Shares

बागलुङ । एक युवाले ‘एग्रो रिसोर्ट’मा रु एक करोड लगानी गरेका छन् । गलकोट नगरपालिका–७ मल्मका हुम थापाले ‘दरमखोला रेम्बो ट्राउट एग्रो रिसोर्ट’ खोलेका हुन् । सोही नगरपालिका–३ चिसापानीमा निर्माण गरिएको रिसोर्ट बन्दाबन्दीलगत्तै सञ्चालनमा आउँदैछ । “संरचना निर्माण सकिएको छ, छिटपुट काम बाँकी छ”, थापाले भने, “बन्दाबन्दी नभएको भए अहिले सञ्चालनमा आइसक्थ्यो ।” रिसोर्टका लागि स्तरीय कोठा, रेष्टुराँ, रेम्बो ट्राउटका लागि १०, स्थानीय जातको माछाका लागि एक पोखरी, पौडीपोखरीजस्ता संरचना तयार छन् । माछासँगै कुखुरा र हाँसपालनको समेत योजना छ ।

एउटा पोखरीमा स्थानीय दरमखोलाका असला माछाका एक हजार ५०० भुरा छाडिएको छ । “ट्राउट माछाका लागि १० पोखरी छन्, बन्दाबन्दीले दाना ढुवानीमा समस्या हुने देखिएकाले तत्कालै भुरा नराखिएको हो”, पानी परीक्षणपछि उपयुक्त देखिएकाले ट्राउट पाल्ने योजना बनाएको थापाको भनाइ छ । ट्राउट १२ देखि १८ डिग्रीको तापक्रममा पाल्न सकिने प्राविधिक बताउँछन् । जापानी प्रजातिको ट्राउट माछा स्वाद र स्वास्थ्य दुवै हिसाबले उत्कृष्ट मानिन्छ । बजारमा पनि ट्राउटको माग बढी छ । स्थानीय दरमखोलाको असला माछा पनि यस क्षेत्रमा प्रख्यात छ । उक्त माछाको सुकुटी देश विदेशमा कोशेलीको रुपमा जान्छ । होटल, रेष्टुराँमा पनि असला माछाको रोजाइ अत्यधिक छ । मुख्यरूपमा माछापालन गर्ने र सोही ठाउँलाई एग्रो रिसोर्टका रूपमा विकास गर्ने लक्ष्यसहित काम थालेको थापाले बताए । रिसोर्ट परिसरमा वनभोजस्थल बनाउने, स्थानीय गुरुङ जातिको परिकार खुवाउने, कला, संस्कृति देखाउनेसम्मको योजना छ ।

एग्रो रिसोर्ट करिब २७ रोपनी क्षेत्रफलमा फैलिएको छ । रेम्बो ट्राउटका ३० हजार भुरा छाड्न मिल्ने गरी बनाइएका १० पोखरीले ठूलो क्षेत्रफल ओगटेका छन् । आराम र पारिवारिक खानपानका लागि छुट्टै ‘कटेज’हरु पनि बनाइएको छ । साजसज्जा र रिसोर्ट सञ्चालनमा ल्याउँदासम्म लगानी थप बढ्ने देखिएको छ । रिसोर्टमा थापाको एकल लगानी छ । रिसोर्टको जग्गा भने उनको आफ्नै हो । “धेरै युवाले गाउँघर छाडिरहेका बेला मैले भने गलकोटमै सम्भावना देखेर लगानी गरेँ”, थापाले भने । रिसोर्टमा कम्तीमा १० जनाले रोजगारी पाउनेछन् । आन्तरिक पर्यटकलाई लक्षित गरी रिसोर्ट खोलेको उनको भनाइ छ । रिसोर्टमा जाने पाहुना/पर्यटकले आफैँ माछाको शिकार गर्न पाउनेछन् । घुमफिर, मौलिक खानपान, संस्कृतिमा रमाउन चाहनेलाई रिसोर्ट उपयुक्त गन्तव्य बन्ने देखिन्छ । रिसोर्टलाई हटियाबजार र मल्मको आँगाखेत दुवैतर्फबाट सडकले जोडेको छ । मध्यपहाडी लोकमार्गदेखि पैदलै हिँडे ३० मिनेटमा पुगिन्छ ।

गलकोटको पर्यटकीय गतिविधिमा रिसोर्टले टेवा पु¥याउने गलकोट घुम्ने पर्यटन विकास केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताए । गलकोटको पर्यटन प्रवद्र्धनसँगै स्तरीय होटल, रिसोर्टजस्ता पर्यटकीय पूर्वाधारमा लगानी बढाउनुपर्ने उनको भनाइ छ । ऐतिहासिक गलकोट दरबार, कोतघर, घुम्टेको लेक, गाईघाट झरना, राम्चेढुङ्गा, निलुवा, टेउवामा निर्माणाधीन अन्तर्राष्ट्रिय मूर्तिकला सङ्ग्रहालय आदि त्यहाँका पर्यटकीय गन्तव्य हुन् । ती क्षेत्रको घुमफिरमा आउने पर्यटकलाई रिसोर्टले आकर्षित गर्ने थापाको विश्वास छ । उनको गलकोट नगरपालिका–३ हटियाबजारमा हार्डवेयर व्यवसाय पनि छ । गलकोटमा उद्यम गरेर छोटो समयमै सफलता पाउने युवामा थापा गनिन्छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।