ताजा अपडेट »

नगरका संचारकर्मीको बिमा गर्दै सैनामैना

मंगलबार, ०६ जेठ २०७७, २१ : ०९
4 Shares

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले नगरमा रहेका संचारकर्मीहरुको कोरोना बीमा गर्ने भएको छ । नगर कार्यपालिका तथा विपद् व्यवस्थापन समितिको बैठकले नगरमा रहेर काम गर्ने संचारकर्मीहरुका लागि एक एक लाखको बीमा गर्ने निर्णय गरेको हो । कोरोना भाइरस ( कोभिड- १९ ) संक्रमणका बेला जोखिमपूर्ण अवस्थामा समाचार संकलन , प्रशारण र प्रकाशित गरिरहेका संचारकर्मीहरुका लागि एक एक लाखको बीमा गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले बताए ।। कार्कीले भने- ‘विपत्तिको समयमा खटिरहेका संचारकर्मीहरुको मनोवल उच्च बनाउन र सुरक्षा समेत प्रदान गर्ने उदेश्यले यो निर्णय गरेका हौँ । ’

नगरपालिकामा संचार क्षेत्रमा कार्यरत सूचना विभागबाट जारी भएको प्रेस पासका आधारमा कोरोना विशेष बीमा गरिने नगरप्रमुख कार्कीको भनाइ छ । बीमाको लागी लाग्ने शुल्क नगरपालिकाले तिर्नेछ । त्यस्तै विपद् व्यवस्थापन समितिको बैठकले नगरपालिका क्षेत्रभित्र फोहोरमैला व्यवस्थापन अन्तर्गत फोहोरमैला उठाउने कार्यमा संलग्न सवारी चालक तथा श्रमिक, एम्बुलेन्स चालक, नगरपालिका अन्तर्गत दमकल चालक र सहयोगी सहितका सवारी चालकहरुको पनि एक एक लाख बराबरको कोरोना बीमा गरिदिने निर्णय गरेको छ ।

भारत तथा तेस्रो मुलकमा रहेका नागरिकको तथ्याङ्क संकलन

नगरपालिकाले रोजगारीको शिलशिलामा भारत तथा तेस्रो मुलकमा गएका नेपालीहरुको तथ्याङ्क संकलन गर्दै घर आउन इच्छुकहरु नागरिकहरुको समेत तथ्याङ्क संकलन गरेको छ । बैठकले पून: कोही छुटेको अवस्थामा २ दिन भित्र अद्यावधिक गरी नगरपालिकामा पेश गर्न वडा कार्यालयहरुलाई निर्देशन दिने समेत निर्णय गरेको छ ।

क्वारेन्टिन थप गर्ने योजना

नगरपालिकाले तिन ठाउँमा क्वारेन्टिन अस्पताल थप गर्ने योजना बनाएको छ । सैनामैना नगरपालिकाले भारत तथा तेस्रो मुलकमा गएका नेपालीहरुको फर्कने क्रम बढ्दै गएकोले हाल संचालनमा रहेको सैनामैना १ बनकट्टा स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयको क्वारेन्टिनमा स्थान अभाव हुने भन्दै थप ३ ठाउँमा क्वारेन्टिन अस्पताल थप गर्ने योजना बनाइएको हो । जस अनुसार क्वारेन्टिनको व्यवस्थापनका लागि वडा नं.१ देखी ४ सम्म वडा नं ३ का वडाध्यक्ष एवम् नगर प्रबक्ता रत्न बहादुर पौडेललाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै वडा नं ५ देखी ८ नं सम्मका लागि वडा नं ६ का वडाध्यक्ष बसन्त पाण्डे र वडा नं ९ देखी ११ सम्मका लागि वडा नं ११ का सुनिल प्रसाद मरासिनीलाई व्यवस्थापन गर्ने जिम्मेवारी तोकिएको छ । क्वारेन्टिन व्यवस्थापन गरी जेठ ८ गते सम्म संचालनमा ल्याउन विपद् व्यवस्थापन समितिले निर्देशन समेत दिएको छ । साथै पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयको क्वारेन्टिनमा आइसोलेसन सेन्टर सञ्चालन गर्न जिल्ला तथा प्रदेश स्तरबाट माग भई आएमा नगर प्रमुखले अर्थात् नगरले स्वीकृत गर्ने निर्णय समेत गरिएको हो । यसैगरी नगरपािलकाले लकडाउनलाई थप कडाइ गर्दै प्रभावकारी बनाउने भएको छ । पालिकाले जेठ २० गतेसम्म एक्सकुलसिभ मोडल निजी गर्ने र सो अवधिभर स्वास्थ्य सुरक्षा अपनाई सामाजिक दुरी कायम हुने गरी कृषि कार्य, सार्वजनिक विकास निर्माण, खाद्य सामाग्रीको व्यवस्थापन तथा तरकारी तथा दूधजन्य लगायतका अत्यावश्यक सेवा सञ्चालन गर्ने भएको छ ।

यसैगरी निर्माण व्यवसायीहरुले सार्वजनिक निर्माणमा आवसीय श्रमिकहरुको व्यवस्थापन गरी योजना कार्यान्वयन गर्ने, मजदुरहरुको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउने र साविकमा गठित वडास्तरीय र टोल स्तरीय लकडाउन अनुगमन तथा गस्ति टोलीबाट नियमित अनुगमन गर्ने निर्णय पनि गरेको छ । बैठकले बैंक तथा वित्तीय संस्था, विमा र लघुवित्त वित्तीय संस्थाहरु साविक बमोजिमको तालिका अनुसार सञ्चालन गर्ने र नगरपालिका अन्तर्गतका सहकारीहरुले तालिका मिलाई नियमित सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

पाठ्य पुस्तक विक्री वितरण सम्बन्धमा जेठ ६ देखी तयारी गर्ने र पुस्तक व्यवसायीहरुले परीक्षणको रुपमा जेष्ठ ७, ८ र ९ गते सामाजिक दुरी कायम गरी विक्री वितरण गर्न दिने निर्णय समेत भएको छ । विपद् व्यवस्थापन बैठकले यस वर्ष पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयहरुलाई निर्देशन दिने र बाध्यताबस् पाठ्यपुस्तक परिवर्तन गर्नुपर्ने भएमा नगर शिक्षा शाखाको अनुमति लिनुपर्ने छ । पुस्तक बिक्री वितरणका सम्बन्धमा अवस्था हेरिकन पूनः निर्णय गर्ने भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।