ताजा अपडेट »

नेपालमा महिला अधिकार : नीति राम्राे,कार्यान्वयन फितलो !

विहीबार, २३ फागुन २०७५, ११ : ३६
4 Shares

फागुन २३
बुटवल ।

१०९ औं अन्तराष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लव प्रदेश ५ बुटवलद्वारा आयोजित महिला आन्दोलन र अधिकार विषयक साक्षात्कारमा बोल्ने वक्ताहरुले नीतिगत रुपमा केहि अधिकार प्राप्त भएपनि व्यवहारिक रुपमा अधिकार पाएको अनुभूति नभएको बताएका छन् ।

प्रदेश ५ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश ५ सरकार अन्य प्रदेशको तुलनामा महिला मैत्री भएको दाबि गरिन् । ‘ अरु प्रदेशको तुलनामा हाम्रो प्रदेश नमुना बनेको छ,मैले महिला भएपनि पुरुषले पनि यहा महिलाका अधिकारका कुरा उठाइरहनुहुन्छ ।’ उनले भनिन् ।

पौडेलले सबैको सहकार्यबाट मात्र महिलाका अधिकार प्राप्त हुने बताइन् । सबैलाइ समान दृष्टि र व्यवहार हुने कानुन बनाएको उनको भनाइ छ । मन्त्री पौडेलले महिला अधिकारका लागि ककस बनाउनुपरेपनि आफु तयार रहेको समेत प्रष्ट पारिन् । प्रदेश ५ नेपाली कांग्रेस संसदीय दलका सचेतक निर्मला क्षेत्रीले नेपालमा महिलाहरुलाइ यो वा त्यो बहानामा यातना दिनेक्रम नरोकिएको बताइन् । उनले अधिकार दिनुपर्छ भनेपछि धेरै स्थानमा महिला हिंसा ,हत्या र आतंक नै फैलिएको बताइन् ।
तराइमा बालबिबाह, दाइजोप्रथा, पहाडमा बोक्सीप्रथा, छाउपडी लगायतका कुरिती अन्त्यका लागि सबैले साझा पहल गर्नुपर्ने धारणा राखिन् ।
बुटवल उप–महानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले बुटवल उप–महानगरलाइ सबैप्रकारको हिंसामुक्त शहर बनाउने प्रकृया शुरु भइसकेको बताइन् । आचार्यले श्रमबजारलाइ व्यवस्थित गर्नका लागि नयाँ योजना बनाइरहेको जानकारी दिइन् ।
त्यस्तै दलित मुक्ती मोर्चाकी नेता तथा अधिकारकर्मी गोमती सुनार र अमृता अधिकारीले नीति बनेपनि व्यवहार नसुध्रेको बताइन् ।

समाज उस्तै भएकाले बदल्न सबै एक हुनुपर्ने उनको धारणा छ । राष्ट्रिय लोकतथा दोहोरी गीत प्रतिष्ठानकी सचिव राधिका हमालले नेपालका महिलाहरुले धेरै अधिकार पाएको भन्दै पाएको अधिकारलाइ उच्चतम प्रयोग गर्न आग्रह गरिन् ।

हमालले विश्वका महिलाहरु अधिकारका लडाइमा रहिरहेको भन्दै नेपालमा अधिकार पाएकाले धेरै कुण्ठामात्रै गरेर बस्न नहुने बताइन् । सञ्चारिका समुह प्रदेश ५ का महासचिव अमृता अनमोलले अधिकारका नाममा समाज विभाजित बन्न थालेको भन्दै लक्षित वर्गलाइ छुट्टाइएको बजेट र अधिकार स्थानिय तहले कटौती गरेको गुनासो गरिन् ।

उनले लक्षित वर्गका कार्यक्रम अभियान मुखी नभएर परियोजना मुखी बन्दा ठोस परिणाम निस्कन नसकेको उनको निचोड थियो ।

महिला हिंसा न्युनिकरणका लागि सबैले घरबाटै सार्थक अभियान थाल्नुपर्ने बताइन् । रिपोर्टर्स क्लव नेपाल ५ नम्बर प्रदेशका प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा प्रदेश सदस्य तथा कपिल ज्ञवालीको संचालनमा कार्यक्रम भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।