ताजा अपडेट »

लकडाउनमा पनि होटल सञ्चालन, कसैलाई टेर्दैनन् सञ्चालक

सोमबार, ०५ जेठ २०७७, १९ : ३९
6 Shares

नवलपरासी । प्रदेश नम्बर ५ को पूर्वी प्रवेशद्धारको रुपमा रहेको पश्चिम नवलपरासीको बर्दघाट टिसियन चोकमा लामा खाजा घर लकडाउनको समयमा पनि निर्वाध रुपमा संचालन भैरहेको छ । उक्त स्थानमा गण्डकी प्रदेशबाट आउने सवारीसाधन, पैदल यात्रुको चेकजाँचका लागि प्रदेश सरकारले खटाएको शसस्त्र प्रहरीको हेल्थ डेस्क संगै नेपाल प्रहरी पनि २४ सै घण्टा तैनाथ रहेकै छन् ।

खाजा घर संचालनमै रहेको र पूर्व पश्चिम राजमार्गमा संचालन भैरहेका सवारीसाधनका चालक, सहचालक, पैदल यात्रुले चिया खाजा खाने र भिडभाड गर्ने गर्दा कोरोनाको संक्रमण फैलिन सक्ने जोखिम निकै बढेको भन्दै स्थानीयवासी त्रसित बनेका छन् । प्रदेशको प्रवेशद्धारमै सुरक्षाकर्मीकै अगाडि खाजाघर निर्वाध रुपमा संचालन भैरहँदा लकडाउनको भने मज्जालेनै उल्लङ्घन भैरहेको छ । लकडाउन उल्लङ्घन गरी खाजाघर संचालन गरेको गुनासो आएपछि अनुगमनमा पुगेको टोलीलाई समेत होटल सञ्चालक सानु प्रेम बहादुर लामाले टेरेनन् ।

बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रविन्द्र विक्रम हमाल, बर्दघाट बजार विकास समितिका अध्यक्ष सोभाकान्त कोईराला, हरियाली टोल विकास समितिका अध्यक्ष तारा गौतम र पत्रकारसहितको टोली अनुगमनमा पुगेको थियो ।अनुगमन टोलीसंगै गएका दौतरी एफ एम का पत्रकार नारायण भण्डारीलाई फोटो नखिच्नु भन्दै सञ्चालक लामा धम्काए । उनले पत्रकार भण्डारी तर्फ औला ठड्याउँदै भने “तपाई फोटो खिच्नुभाछ यसलाई फ्ल्यास भ्वाईस गर्न पर्दैन ख्याल गर्नुस ।” उनि निकै आक्रोसित मुद्रामा देखिएका थिए । उनले वडाअध्यक्ष हमाललाई समेत पत्रकार बोलाएर ल्याएको भन्दै आक्रोस पोखेका थिए ।

हमालले कोरोनाले कसैलाई पनि नचिन्ने भएकोले यो महामारीको समयमा सवै गम्भिर हुनुपर्ने र खाजाघर बन्द गर्न आग्रह गर्र्दा लामाले उल्टै राजनितिक पुर्वाग्रह राखेको आरोप लगाएका थिए । उक्त खाजाघरमा मदिरा समेत विक्रि हुनेगरेको पाईएको छ । प्रहरीलेनै पटक पटक लकडाउनको पालना गरी पसल बन्द गर्न निर्देशन दिए पनि लामाले भने अटेरी गर्दै आएको प्रहरीको भनाई छ । उल्टै आफुलाई फोर्स लगाएर सरुवा गराईदिने भन्दै धम्की दिएको बर्दघाट ईलाका प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक भवानी प्रसाद धमलाले बताए । उनले पसलमा लकडाउनकै समयमा समेत मदिरा विक्रि हुनेगरेको बताए ।

प्रहरीलाई त धम्याउने हैसियत राख्ने लामाले अव पत्रकारलाई धम्क्याउन के बाँकी राख्थे र । लामा आफै पनि विभिन्न सामाजिक संघसंस्थामा काम गरेका व्यक्ति हुन । बर्दघाटमा रहेको दाउन्नेदेवी माध्यामिक विद्यालयका पूर्व विद्यालय ब्यबस्थापन समिति अध्यक्ष समेत भईसकेका हुन् । टिसियन चोकमा लामाले बनाएको घरको जग्गा बन क्षेत्रमा पर्दछ । बन क्षेत्रकै जग्गामा लामाले ठुलै पक्कीघर ठडाएका छन् ।

उनले पहुँचको दम्भ देखाएर बन क्षेत्रको जग्गा अतिक्रमण गरेको स्थानीयको भनाई छ । लामाले पारिजात सामुदायिक बनको जग्गा अतिक्रमण गरेपछि सामुदायिक बनले अतिक्रमण गरीएको जग्गा खालि गरिदिन दुई पटक सम्म पत्राचार गरेको छ । तर लामाले भने टेरपुच्छर लगाएका छैनन् । सामुदायिक बनका अध्यक्ष चुडामणी भण्डारीले लामाले बनाएको घर बन क्षेत्रमा पर्ने र उनले घरसंग संगै बनाएको ट्रष्ट भने पारिजात सामुदायक बनमा पर्ने भएकोले हटाउनका लागि ताकेता गरे पनि नटेरेको बताएका छन् ।

भण्डारीले अव तेश्रो पटक अतिक्रमण हटाउनका लागि पत्राचार गर्ने त्यति गर्दा पनि नहटाए डिभिजन बन कार्यालय मार्फत टोली बोलाएर सवै सामान जफत गरिने बताएका छन् । लामा टिम्बर कर्पोरेसन नेपालका कर्मचारी हुँदा देखि नै तत्कालिन राजनैतिक दलका नेतृत्व, ईलाका बन कार्यालयका कर्मचारीहरुलाई प्रलोभनमा पारेर बनकै जग्गामा घर बनाएको जानकारहरु बताउँछन् । लामाले २०६७ तिर पक्किघर निर्माण गरेका हुन् ।

तत्कालिन समयमा टिसिएनको जग्गामा झुपडि बनाएर बसेका १४ घर परिवारलाई तत्कालिन ग्रामिण आवासले घडेरी दिलाएर त्यहाँ बाट उठाउँदा १३ घर परिवार कम्पनीले दिएको घडेरीमा गएर बसेको तर लामा भने घडेरी लिएर पनि बनकै जग्गा हडपेर बसेको स्थानीय अगुवाको भनाई छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।