ताजा अपडेट »

अर्घाखाँचीमा उच्च सतर्कता अपनाएका छौं : प्रजिअ पौडेल

बुधबार, ३१ बैशाख २०७७, २० : ०८
12 Shares

चीनको वुहानबाट महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट यतिबेला विश्व नै त्रसित बनिरहेको छ । कोरोना भाइरसबाट हालसम्म विश्वमा २ लाख ९५ हजार ३ सय २३ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै ४३ लाख ६५हजार ७सय ४४ जना संक्रमित भएका छन् भने १६ लाख १६ हजार २सय १२ जना उपचारपछि निको भएका छन् । नेपालमा पनि कोरोना संक्रमित बिरामीहरु दिन–प्रतिदिन बढिरहेका छन् । नेपालमा हालसम्म २४३ जना संक्रमित र ३४ जना उपचारपछि निको भइसकेका छन् । कोरोना भाइरसबाट पछिल्लो समय नेपाली जनताहरु पनि त्रसित बनिरहेका छन् । नेपाल सरकारले कोरोनाबाट बँच्न उच्च सर्तकता अपनाएको छ । त्यसैगरी पहाडी जिल्ला अर्घाखाँचीले पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न कार्यहरु गरिरहेको छ । यसै सन्दर्भमा रहेर जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रमुख (प्रमुख जिल्ला अधिकारी) विजयराज पौडेलसँग ग्लोबल आवाजका लागि सुरज घिमिरेले गरेको कुराकानी :

कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि अर्घाखाँची जिल्लाले के–कस्ता कार्यहरु गरिरहेको छ ?
–विश्वजगतमा महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस कोभिड–१९ का संक्रमितहरु नेपालमा दिनप्रतिदिन बढिरहेका छन् । यसको रोकथामका लागि अर्घाखाँचीले पनि विशेष योजना बनाएर अगाडी बढेको छ । नेपालमा लकडाउन लागूू भएपछि अर्घाखाँची जिल्लाले जिल्लालाई कोरोना भाइरसको संक्रमणबाट बचाउनका लागि विभिन्न निर्णयहरु गर्यो र लकडाउनलाई प्रभावकारी बनाउनका लागि कार्यान्वयन गरेको छ । अर्को कुरा, केहि दिन यता छिमेकी जिल्लाहरुमा देखिएको कोरोना संक्रमणको स्थितिलाई हेरेर पछिल्ला दिनहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सीमाबाट अति जरुरी काम भएका र पास भएका (बुधबारसम्म) मान्छेहरु मात्र आउने जाने गरेका छन् । अरु मान्छेलाई जिल्लामा प्रवेश गर्न दिइएको छैन् । जिल्ला बाहिर वा देशबाहिरबाट आउनेहरुको क्वारेन्टाइनमा राखी आरडिटी, पिसिआर जाँचगरी नेगेटिभ आएका सबैलाई घर पठाएका छौं । सम्रगमा भन्नुपर्दा अहिलेसम्म अर्घाखाँची सुरक्षित छ । हामिले भन्नुपर्दा राम्रो संँग व्यवस्थापन गरिएको छ ।

सदरमुकाम सहित विभिन्न ठाउँमा चहल–पहल देखिन्छ, सर्वसाधारणले नियम पालना नगरेका हुन् या प्रशासनको कमजोरी हो ? लकडाउन प्रभावकारी बन्न नसकेको देखिन्छ नि ?
–लकडाउन कार्यान्वयनका लागि हाम्रा सुरक्षाकर्मीहरु खटिरहनु भएको छ । केन्दीय सरकारले जनतालाई पिरमर्का परेको हुन सक्छ, साथमा पैसा नहुन सक्छ, दैनिक गुजारा चलाउन गाह्रो पर्छ भनेर बैंकिङ सेवाहरु सञ्चालन चलाउन निर्देशन दिएको छ । जनताहरुसमान सक्किदा किन्न आउनै पर्यो, यी विविध कारणहरुले गर्दा जनता दैनिक गुजारा चलाउन बाहिर निस्किनुपर्ने भएकोले केहि मानिसहरु हिडेको देखिएको हुन सक्छ । तर। लकडाउनको नीति कार्यान्वयन भइराखेको छ ।

कोरोना नियन्त्रणका लागि अहिले अर्घाखाँची जिल्ला भर कति बेडका क्वारेण्टाइन छन् ? संकास्पद विरामी त्यहाँ बसेका छन् ? कतिको ¥यापिड टेस्ट गरियो ? कति नागरिक बाहिरबाट आए ?
–अर्घाखाँचीमा विभिन्न जिल्ला तथा विभिन्न देशहरुबाट आउनेहरुलाई पहिचान गरेर क्वारेन्टाइनमा राखिएको छ । अहिलेसम्म ५ सय ५७ बेड सहितका क्वारेन्टाइन स्थापना गरेका छौं । हालसम्म हामीले १ सय २० जनाको आरडिटी जाँच गरेका छौं । ती सबैको नतिजा नेगेटिभ आएको छ । १ सय ३६ जनाको पिसिआर नेगेटिभ आएको छ । २५देखि ३० जनाको रिपोर्ट आउन बाँकी छ । भैरहवामा परिक्षण भइरहेको छ । क्वारेन्टाइनमा आउने–जाने भइरहन्छ । हाल ३५ जना जति क्वारेन्टाइनमा रहेका छन् । भारतबाट अहिलेसम्म अर्घाखाँची आउनेको संख्या करिब १ सय ६० रहेको छ । साथै भारत सहित अन्य राष्ट्रबाट आउने संख्या ३५ सय रहेको छ।

कोरोना रोकथामको लागि जिल्ला भर कति स्वयंमसेवक, सुरक्षाकर्मी र स्वास्थकर्मी परिचालन गरिएको छ ?
–जिल्लामा साविकका सबै सुरक्षाकर्मी खट्नु भएको छ। नो स्थानीय तहमो दरबन्दी अनुसार स्वास्थ चौकीहरु,जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालयमा रहेका सबै स्वास्थ्यकर्मीहरु पनि अहिले कोरोना नियन्त्रणमा खटिरहनु भएको छ ।

जिल्लामा खाद्यान्न, पेट्रोलियम पदार्थ लगाएत अत्यावश्यक सामग्रीको आपूर्ति कसरी भएको छ ? लकडाउनका कारण जिल्लामा असहज परिस्थिती सृजना हुने त होइन ?
–जिल्लामा खाद्यान्न, पेटोलियम पदार्थको आपूर्ति व्यवस्था राम्रो छ । अझैपनि करिब एक महिना जिल्लामा खाद्यान्न नभित्रिएपनि पुग्ने व्यवस्था छ ।

स्वास्थ्य सामग्री, सञ्चार माध्यम(रिचार्ज कार्ड)खाद्यान्न साम्रगीहरु लगाएतमा तोकिएको मूल्यभन्दा बढी वा कालोबजारी बढेको गुनासो सुनिन्छ । नियन्त्रणका लागि के गर्नुभएको छ ?
–हामीले बेला–बेलामा अनुगमन गर्छौ । मेरो साथै जिल्ला प्रशासन कार्यालयको जानकारीमा अहिलेसम्म यहाँनिर, यसरी कालोबजारी भयो भनेर कसैलेपनि जानकारी दिनुभएको छैन । अनुगमनमा जाने सचेत गराउने, उहाँहरुलाई मूल्यको बारेमा टाँस गर्न लगाउने यी कामहरु नियमित तरिकाले भइराखेका छन् ।

कोरोनाको महामारीका कारण यतिबेला जिल्लावासी त्रसित छन् ? अर्घाखाँचीवासीहरुको मनोबल उच्च बनाउन तपाईंको सुझाव तथा के–कस्ता सन्देश छन् ?
–लकडाउनको नीति कार्यान्वयन गरिएको छ । लकडाउनलाई कडाई गरिएको छ। हामीले बिदेश तथा बाहिरी जिल्लाबाट आउनेहरुलाई नियन्त्रणमा राखेका छौं । सम्पूर्ण जिल्लाबासी ढुक्क भएर बस्नुहोस् । अर्घाखाँचीबासी सम्पूर्णमा लकडाउनको पालना गर्दै मास्कको प्रयोग गर्नुहोला, साबुन पानीले पटक–पटक हात धुनुहोला । कोरोना संक्रमणबाट जिल्ला साथै देशलाई बचाउन यहाँहरुको साथ र सहयोगको खाँचो छ । कृपया जिल्लाबासीहरु घरमै सुरक्षित बस्नुहोस् । आफू बचौँ र अरुलाई पनि बचाऔँ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।