ताजा अपडेट »

चितवनमा दुई लाखले स्वास्थ्य बिमा गरे

आइतबार, १९ फागुन २०७५, २३ : ३२
4 Shares


फागुन १९ ,

भरतपुर, । चितवनमा साढे दुई लाख नागरिकले स्वास्थ्य बिमा गरेका छन् । स्वास्थ्य बिमा लागू भएपछिको अवधिमा सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत स्वास्थ्य बिमा गर्ने नागरिकको सहभागिता उत्साहजनक देखिएको छ । अठ्तीस जिल्लामा लागू भएको यो कार्यक्रम चितवनमा सबैभन्दा बढी प्रभावकारी भएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम चितवनका समन्वयकर्ता नारायण सापकोटाले बताउनुभयो । ‘‘देशभर १६ लाख नागरिकले स्वास्थ्य बिमा गरेका छन्’’, सापकोटाले भन्नुभयो “त्यसमध्ये साढे दुई लाख चितवनका मात्रै छन् ।” बिमा गर्ने र सेवा लिने दुबैमा चितवन अगाडि रहेको उहाँले बताउनुभयो ।

गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न सरकारले बिमा कार्यक्रम लागू गरेको थियो । दिन प्रतिदिन बिमाप्रति नागरिकको आकर्षण बढेको सापकोटाले बताउनुभयो । ‘‘वार्षिक रुपमा बिमा नवीकरण गर्नेको सङ्ख्या पनि राम्रो छ’’, उहाँले भन्नुभयो’,“नवीकरण नगरेका पनि बिरामी भएपछि आफै बिमा गर्नका लागि खोज्दै आउने गरेका छन् ।” सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम गतवर्षको असार १ गतेबाट चितवनमा लागू गरिएको हो । चितवनको भरतपुर अस्पताल, भरतपुर आँखा अस्पताल, रत्ननगरको बकुलहर अस्पताल, माडीको बघांैडा अस्पताल तथा शिवनगर, जुटपानी र खैरहनी प्राथमिक स्वास्थ्य केन्द्रलाई मात्र स्वास्थ्य बिमा कार्यक्रमको प्रथम सेवा विन्दु तोकिएको छ ।

अस्पतालमा बिमा गरिसकेका सदस्यले सरकारले तोकेको अस्पतालबाट रु ५० हजारसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्नेछन् । क्यान्सर अस्पताल र चितवनका दुई मेडिकल कलेज रिफरल अस्पतालको रुपमा बिमा कार्यक्रम लागू हुनेछ । विशेषज्ञ चिकित्सक नभएका अस्पताल र स्वास्थ्य केन्द्रमा बिमा कार्यक्रम लागू हुँदैन् । चितवनमा शुरुमा दुई मेडिकल कलेजलाई पनि प्रथम केन्द्रविन्दुको स्वास्थ्य बिमाको कार्यक्रम दिइएको थियो । भदौ १ गतेदेखि निजी मेडिकल कलेजमा प्रथम विन्दुको सेवा हटाएर रिफरल मात्र तोकिएको छ । निजी अस्पतालमा बिमा कार्यक्रम सञ्चालन गर्दा नियमन गर्न समस्या भएको सापकोटाले बताउनुभयो ।

जिल्लामा १३५ जना अभिकर्तामार्फत बिमा गराउने काम भइरहेको छ । भरतपुर महानगरपालिकामा ५९ जना, रत्ननगर नगरपालिकामा २८ जना, खैरहनी नगरपालिकामा १२ जना, कालिका नगरपालिकामा १० जना, राप्ती नगरपालिकामा १२ जना, माडी नगरपालिकामा नौ जना र इच्छाकामना गाउँपालिकामा पाँचजना अभिकर्ता परिचालन गरिएको छ ।

परिचयपत्रको आधारमा बिमा गरिसकेका सदस्यले सरकारले तोकेको अस्पतालबाट रु ५० हजारसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सकिन्छ । पाँच जनाभन्दा माथिको परिवारको हकमा भने प्रतिव्यक्ति रु १० हजारका दरले क्षतिपूर्ति दिइने व्यवस्था रहेको छ । पाँच जनाको परिवारले बिमा शुल्कवापत प्रत्येक वर्ष रु दुई हजार ५०० का दरले शुल्क बुझाउनुपर्छ । अतिरिक्त सदस्यले भने रु ४२५ का दरले शुल्क बुझाउनुपर्छ । सरकारले अति विपन्न नागरिकलाई शतप्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीबीको रेखामुनि रहेका नागरिकलाई ५० प्रतिशतका दरले बिमा रकमवापतको शुल्क तिरिदिने व्यवस्था छ ।

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बिमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपिडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सकिन्छ । सरकारले तोकेको निःशुल्क औषधि प्राप्त गर्न सकिन्छ । तर, व्यक्तिगत झै–झगडाका कारण चोटपटक लागेमा, लागू तथा मादकपदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोटपटक लागेमा, गर्भपतन गरेमा, कस्मेटिक सर्जरी गरेमा भने यो सेवा पाइँदैन । डेढ वर्षमा एक लाखलाई सेवा स्वास्थ्य बिमा कार्यक्रममार्फत भरतपुर अस्पतालबाट डेढ वर्षको अवधिमा एक लाख जनाले सेवा लिएका छन् । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार बिमा प्रयोग गर्दै दैनिक पाँचदेखि ७०० बिरामी अस्पताल आउने गरेका छन् ।

‘‘दैनिक अस्पताल आउने बिरामीको आधा बिरामी बिमा प्रयोग गर्नेछन्’’, पौडेलले भन्नुभयो, “अस्पतालमा बिरामीको चापले यो कार्यक्रम निकै प्रभावकारी देखिएको छ ।” अस्पतालको फार्मेसीबाट ७० प्रतिशत बिमाको औषधि दिन सफल भएको उहाँले बताउनुभयो । बिमामार्फत सेवा लिन आउने बिरामीमा धेरै निम्न र मध्यम वर्गका नागरिक भएको पौडेलले बताउनुभयो । थोरै रकमबाट ढुक्कसँग रु ५० हजारसम्मको उपचार पाउने भएपछि यसको आकर्षण बढेको उहाँले बताउनुभयो । सरकारको सबै व्यक्तिको स्वास्थ्य बिमा गर्ने लक्ष्यका साथ कार्यक्रम लागू गरेको हो ।  -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।