ताजा अपडेट »

‘नेपाली मिडिया व्यवसायिक बन्नै सकेनन्’

बुधबार, २४ बैशाख २०७७, १४ : ५९
16 Shares

मुलुकमा राजनीतिक परिवर्तन, सामाजिक रुपान्तरण तथा विकासको अभियानमा मात्र नभई विभिन्न संकट र संक्रमणमा पनि सञ्चार माध्यम अंग्रपक्तिमा रहेर आफ्नो भूमिका निर्वाह गर्दै आएका छन् । इतिहासमा परिवर्तन र रुपान्तरणका यात्रामा सारथि बनेका सञ्चार माध्यम महाभूकम्प, नाकाबन्दी, तराइमा बाढी जस्ता प्रकोपमा पनि सरकार र जनताका लागि सूचना, सचेतना र समाचारका सारथि बनिरहे । ति भन्दा पनि अहिले भयावह वा त्रासपूर्ण अवस्था छ । अर्थात् कोरोना भाइरस(कोभिड–१९) को विश्वव्यापी त्रास र जोखिम नेपालमा पनि उच्च छ । र, यस अवस्थामा पनि सञ्चारको भूमिका सराहनीय छ भन्दा फरक पर्दैन ।

कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गर्दै सामाजिक दूरी कायम गर्न निर्देशन गरेको छ । यस्तो अवस्थामा रेडियो, टि.भि., पत्रिका, अनलाइन जस्ता सञ्चार माध्यम र सञ्चारकर्मी भने खटिरहेका छन् । स्वास्थ्य, सञ्चार क्षेत्र बाहेक अन्य क्षेत्र पूर्णतया बन्दछन् । विशेषगरी सञ्चारमाध्यम चल्ने आधार विज्ञापनका स्रोत उद्योग, व्यवसाय, व्यापार ठप्प छन् । यस्तो अवस्थामा सञ्चार माध्यमको स्रोत अर्थात् विज्ञापनमा कस्तो प्रभाव परेको छ, सञ्चारम माध्यमको अवस्था र भोलिको अनुमानित अवस्था तथा समाधानका विषयमा रहेर ग्लोबल आवाजका लागि नेपाल विज्ञापन संघ (आन)का अध्यक्ष रविन्द्र कुमार रिजाल (शशि) सँग ग्लोबल आवाजका लागि गौतम भुसालले गरेकोे कुराकानी :

लकडाउनको अवस्थामा सञ्चार माध्यममा विज्ञापनको प्रभाव कस्तो छ ?
–नेपालको सन्दर्भमा विज्ञापननको सवालमा ९० /९५ प्रतिशत गिरावट आएको छ । सरकारी टेलिभिजन तथा सञ्चार माध्यममा बाहेक निजी सञ्चार माध्यममा भने भारी मात्रामा प्रभाव परेको छ । तर, सञ्चार माध्यमहरु निरन्तर प्रकाशन÷प्रसारण भइरहेका छन् । बिज्ञापन एजेन्सीको हकमा लकडाउन भन्दा अगावै रिलिज गर्ने, प्रकाशन प्रसारण गर्ने अर्डरहरु आइसकेको हुनाले त्यसले एक डेढ महिना कभर गरेकोहुँदा त्यति असर नदेखिए पनि मिडियाहरुलाई प्रतक्ष्य असर परेको देखिन्छ ।
लकडाउन अघिका अधिकांश विज्ञापन निरन्तर छन् । उद्योग तथा प्रतिष्ठानको प्रतिक्रिया छ कि छैन ?
– अहिले लकडाउनका ४० भन्दा बढी दिन भए । नेपालको परिवेशमा एक/दुई दिन बन्द अथवा विषम परिस्थिति हुँदा बित्तिकै उद्योग/व्यवसायी वा विज्ञापनदाताले विज्ञापन बन्द गर्न निर्देशन तथा सूचित गर्ने परिपाटी छ । जसले गर्दा मिडिया यस अघि पनि मर्कामा पर्ने गरेका छन् ।

अहिले विज्ञापनको अभाव र कमीले सञ्चारगृहलाई कस्तो प्रभाव पारेको छ ?
– विज्ञापन छैनन् । भएका पनि व्यवस्थित छैनन् । तर,सञ्चारगृहलाई खासै फरक परेको छैन । नेपाली मिडियालाई विज्ञापन नै चाँहिदैन । विज्ञापनको लागि र विज्ञापनमा आधारित भएर सञ्चार गृह स्थापित भएकै छैनन् । लकडाउनको ४० दिन बढी भएँ । कुनैपनि सञ्चारगृहले यस विषयमा आवाज नै उठाएका छैनन् । हामी विज्ञापन एजेन्सीसँग सहकार्य नै छैन । अधिकांश मिडिया राजनीतिमा केन्द्रित छन् । व्यवसायिक भन्दापनि अरुनै एजेण्डामा चलेका छन् । एस्तो बेला भारतीय, पाकिस्तानी सञ्चार माध्यममा विज्ञापन निरन्तर छन् र झन् नयाँ विज्ञापन थपिएका छन् । विभिन्न कम्पनीका सचेनामूलक विज्ञापन प्रकाशन तथा प्रसारण भइरहेका छन्।

तपाइँले भनेजस्तै मिडियालाई विज्ञापन नचाहिने नै हो ? र,विज्ञापन बिनापनि मिडिया चलेकै हुन् ?
– नेपालमा विज्ञापन नभएर कुन मिडिया बन्द भएका छन् ? मेरो व्यक्तिगत र विज्ञापन संघको अध्यक्षको हैसिएतले भन्नुपर्दा मिडिया चलेका छन् । सान्दार तरिकाले चलेका छन् । अन्तैबाट स्रोत जुुटाएर मिडिया चलेका छन् । होइन भने बैंकहरु मर्जर हुँदा मिडिया मर्जर हुने आवश्यकता आउँदा पनि भएका छैनन् । उल्टै थपिने संख्या बढी छ । यदि मिडिया व्यवसायिक र सञ्चारकर्मीहरुलाई उचित तथा नियमित पारिश्रमिक प्रदान गरेर चलाउने हो भने मनपरी स्थापनालाई रोक्नु पर्दछ । निश्चित धरौटी राखेर मात्र मिडिया स्थापना तथा सञ्चालन गर्न आवश्यक छ । जसका कारण सजिलै मिडिया स्थापना र सुरु गर्ने तर, पछि अन्य उपाय अप्नाउने,कर्मचारीलाई दुःख दिने अवस्थाको अन्त्य हुन्छ।

कोरोना संक्रमणको जोखिम र लकडाउन खुलेपछिको तत्कालिन अवस्थामा सञ्चार क्षेत्रमा कस्तो असर पर्दछ ?
–कोरोना र यसको रोकथामको लागि गरिएको लकडाउनले सञ्चार क्षेत्र निकै जोखिममा छ । मैले सुरुमा भने तर, त्यो जोखिमलाई नजरअन्दाज गरिँदैछ । संकट, संक्रमण, सामान्य जस्तो अवस्थामा पनि सञ्चार चल्दै आएका छन् । जसोतसो मिडिया चलेकै छन् । अपठारोमा पूराना कर्मचारी हटाएर होस्, प्रशिक्षार्थी राखेर होस् । आन्तरिक अवस्था जस्तो भएपनि सञ्चार गृह बन्द भएका छैनन् । अर्कोतर्फ रहरले, अन्य उद्देश्यले सञ्चारमा आवद्ध हुनकै लागि काम गर्नेहरुको पनि कमी छैन ।

अब सञ्चार माध्यमले कस्तो नीति अप्नाउँदा उनीहरुलाई सहज होला ?
–नीति अनुसार त विज्ञापन र यससँग सरोकार राख्नेहरुसँग साथै मुख्यतया सरकारसँग नै सहकार्य गरेर अघि बढ्नु हुन्छ । संघीय संरचना अनुसार अहिले केन्द्र बाहिर स्थानीय तह र प्रदेश सरकार रहेका छन् । ७ सय बढी स्थानीय सरकार छन् । त्यसैगरी नेपाली बजारमा व्यवसायिक विज्ञापन सम्बन्धी प्रयासनै भएका छैनन् । लकडाउन पूर्वको अवस्थामा करिब २५ प्रतिशत मात्रै विज्ञापन बजार छ । करिब ७५ प्रतिशत विज्ञापन बजारीकरण हुनै सकेका छैनन् । विज्ञापनको आवश्यकता र महत्वबारे स्वयम् उत्पादक र सञ्चारगृहले पनि बुझेका छैनन्।

विज्ञापन एजेन्सीहरुको छाता संगठन, नेपाल विज्ञापन संघले कस्तो भूमिका निर्वाह गर्दै आएको छ । र, अब कस्तो रहनेछ ?

–पहिला हामी पनि संगठित हुन समय लाग्यो । पछिल्लो समय संघीय संरचना अनुसार सातै प्रदेशमा सहजकर्ताका रुपमा हाम्रा प्रदेश संयोजकहरु हुनुहुन्छ । हामीले व्यवसायिक विज्ञापनको लागि प्रयास गर्दै आएका छौं । उद्योगी व्यवसायी तथा उत्पादक र सञ्चार माध्यम बीच पुलका रुपमा समन्वय गर्दै दुबैका आवश्यकतासँगै व्यवस्थित बनाउन प्रयासरत छौं । तर, धेरैजसो सञ्चार गृह र व्यवसायिहरु आँफै सिँधै सम्पर्क गर्नुहुन्छ । बिज्ञापन ब्यावसायी नचाहिने जस्तो गर्नुहुन्छ । हाम्रो आवश्यकता महसुस नगरेर हो या अन्य कारणले हो हाम्रो सम्पर्कमा आउनु हुँदैन । अझै स्थानिय स्तरमा त झन मिडीयाहरुले बिज्ञपन एजेन्सीलाई बुझ्न सक्नुभएको छैन । बिज्ञापन एजेन्सी मिडीया र ब्यवसायी बिचको ब्यावसायीक सहजकर्ता हो भन्ने बुज्न जरुरी छ । नेपाल बिज्ञापन संघ, संघसंग सहकार्य गर्ने बिज्ञापन एजेन्सीहरु, प्रदेशमा प्रादेशिक सरकार तथा स्थानीय कर्पोरेटहरुसँग बिज्ञापनका लागि समन्वयकारी भूमिका विज्ञापन संघले नेै खेल्ने भएको हुँदा स्थानीय तथा राष्ट्रिय संचारमाध्याहरुले नेपाल बिज्ञापन संघसँग सहकार्य गरेर अघि बढेमात्रै विज्ञापन बजारको बिस्तारमा सहयोग पुग्दछ ।

पछिलो समयमा विज्ञापन व्यावसायीहरुले माग गर्दै आएको क्लिन फिड सम्बन्धी कानून राजपत्रमा प्रकाशित भई लागू भइसकेको अवस्था छ । उक्त कानून आएसँगै विज्ञापन बजारमा कत्तिको फरक परेको छ ?
–क्लिन फिड लागू भैसकेको छ । यो २०७६ कार्तिक ८ बाट लागू भएको हो । अहिले विदेशी विज्ञापनहरुलाई नेपाल सरकारले सेन्सर गर्दैन । त्यसैलाई हामीले आधार मान्नु पर्दछ, क्लिन फिड लागू भएको भनेर । आउने कार्तिक ८ गतेबाट नेपालका टेलिभिजनहरु बिदेशी विज्ञापनरहित प्रसारण हुन्छ नै । अब बिदेशी ब्राण्डले पनि नेपालमै विज्ञापन तयार गरेर मात्र प्रसारण गर्न पर्नै भएकोले पक्कै पनि विज्ञापनको बजार विस्तार हुन्छ ।

पछिल्लो समय सामाजिक सञ्जालका कारण सञ्चार माध्यममा असर परेको देखिन्छ नि ?
–केही प्रभाव होला तर, सामाजिक सञ्जालमा आउने सामग्री आवश्यक्ता अनुसारका कन्टेन्ट मात्रै हेरीने र क्षणिक समयका लागि मात्रै हेरिनेहुँदा यसमा बिज्ञापनको भुमीका खासै देखीदैन । यि बिज्ञापनहरु पहिलेनै सञ्चार माध्यममा आएका हुुन्छन् । अझैपनि टेलिभिजन, पत्रपत्रिका, रेडियो, अनलाइन नै प्राथमिकतामा पर्दछन् । ती माध्यमले उत्पादन गरेका तयार गरेर प्रकाशन÷प्रसारण गरेपछि मात्र यूूट्यूूब लगाएत सामाजिक सञ्जालमा आउने गर्दछन् । अर्कोतर्फ ती माध्यममा आउने विज्ञापन त देखिन्छन् । तर, हेरिदैनन् । स्किप गरिन्छ । अहिले सामाजिक सञ्जाल प्रयोगकर्ता बढेको हुनाले कम्पनीले त्यता खर्च गर्नु स्वभाविक नै हो । तर, प्रभावकारी भनेका सञ्चार माध्यम नै हुन् ।

व्यवसायिक र व्यवस्थित विज्ञापनसँगै सरोकारवालामा चेतनाको कमीको कुरा गर्नुभयो । समाधान के होला ?
– अहिले नै हेनुस् न । भारत तथा पाकिस्तान लगाएतका सञ्चार माध्यमहरुमा निरन्तर व्यसायिक विज्ञापन आएका छन् । उदाहरणको लागि विभिन्न चलेका सेलिब्रेटीहरुद्वारा विभिन्न उत्पादनले कोरोना र रोकथाम सम्बन्धी सचेतनाका सूचना तथा सन्देशमूलक विज्ञापनहरु पस्केका छन् । अर्कोतर्फ सकरात्मक तथा प्रेराणमूलक समचार तथा सामग्री प्रस्तुत गर्न आवश्यक छ । एक/दुई महिना बन्द हुँदा उद्योग, व्यसायी, व्यापारी धराशायी हुने बन्द हुने भन्दापनि अरु विकल्प फेरि थप योजनाका साथ अघि बढ्न सकिन्छ । नयाँ तवरले परिपूर्ति तथा व्यवस्थापन गर्न सकिन्छ भन्ने जस्ता सकारात्मक र सुझावमूलक सामग्री दिन आवश्यक छ । त्यसैगरी स्थानीय तह र सरोकारवालासँग सहकार्य गर्न आवश्यक छ । हालसम्म २५ प्रतिशत मात्रै विज्ञापनको पहुँच थियो । यति नै कायम गर्न सके वा थप केहि प्रयास गरे सहज हुन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।