ताजा अपडेट »

औद्योगिक हब बन्दै रुपन्देही

आइतबार, १९ फागुन २०७५, ११ : ०७
6 Shares


फागुन १९ ,

भैरहवा। चार वर्षअघि रूपन्देहीका १७ युवा उद्यमीले मक्रहरमा १६ करोड रुपियाँको लगानीमा आयुर्वेद औषधि उद्योग सञ्चालनमा ल्याउनुभयो । शुरुदेखि नै औषधि उत्पादन र बजारीकरणमा सफलता पाएको यो उद्योगले अहिले भारतबाट हुने आयात ७५ प्रतिशत घटाएको छ । अहिले देशैभर औषधि आपूर्ति गरिरहेको ग्रेस फर्मास्युटिकल्स प्रालिले सिङ्गो प्रदेश ५ को माग धान्ने क्षमता राख्दछ ।


उद्योगले आयुर्वेदिक फर्मुला अनुसार विभिन्न पद्धतिमा सिरप, ट्याब्लेट र मलहमलगायत ४४ प्रकारका औषधि उत्पादन गरिरहेको छ । यो औषधि उद्योग पूर्ण क्षमतामा सञ्चालन हुँदा वार्षिक एक अर्ब रुपियाँ बराबरको औषधि उत्पादन गर्ने क्षमता राख्छ । जुन उद्योगमा अहिले ७५ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । 


कम्पनीका प्रबन्ध निर्देशक सुरज भट्टराईका अनुसार यो औषधि उद्योग नेपालमा हालसम्म सञ्चालितमध्ये सबैभन्दा धेरै क्षमताको छ । नेपालमा प्रशस्त जडीबुटी रहेको भए पनि उचित व्यवस्थापन हुन नसक्दा त्यसै खेर गइरहेको छ । आयुर्वेदिक औषधि उद्योगले जडीबुटीले पनि बजार पाउने ठाउँ बनाएको मात्र छैन प्रदेश ५ लाई आत्मनिर्भरताको बाटोमा डो¥याउन उदाहरण प्रस्तुत गरेको छ । 


पछिल्लो समय लगानीमैत्री वातावरण बन्दै गएपछि उद्योगीहरूको रोजाइमा यो क्षेत्र परेको सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष रामकुमार शर्माले बताउनुभयो । भारतीय नाकाबन्दीका बेला पनि सुरक्षित ठानिएकाले रूपन्देहीमा औद्योगिक आकर्षण बढ्दो छ भने यहाँबाट उत्पादन भइरहेका वस्तुले प्रदेशको आर्थिक सबलीकरणमा ठूलो टेवा पु¥याएको छ । 
रूपन्देहीकै तिलोत्तमा नगरपालिकास्थित मधौलियामा स्थापना गरिएको यशोदा फुड्स प्रालिले अहिले ठूलै बजार ओगटेको छ । करिब एक वर्षदेखि चाउचाउ र चिजबल्स उत्पादन शुरु गरेको उद्योगको बजार विस्तार प्रदेश ५ का लागि अनुकरणीय मानिँदै आएको छ । 

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का सदस्य राष्ट्रमा व्यापार विस्तार गर्ने योजनासहित अगाडि बढेको यो उद्योगबाट लाली, करेन्ट, जुप्पी नामक चाउचाउ उत्पादन भइरहेको छ । एक अर्ब रुपियाँको लगानीमा सञ्चालित उक्त उद्योगबाट सात घन्टामा दस टन चाउचाउ उत्पादन हुन्छ । उक्त परिमाण प्रदेशको माग धान्ने मात्र नभई बाहिरी मुलुकमा निर्यात गर्ने बलियो आधार हो । योे उद्योगमा प्रत्यक्ष रूपमा ३५० जना र अप्रत्यक्ष रूपमा एक हजार २२५ जनाले रोजगारी पाएका छन् ।


आर्थिक, सामाजिक, पर्यटनलगायत अधिक सम्भावना बोकेको प्रदेश ५ को आर्थिक समुन्नतिका लागि यो उद्योगको सफलताले धेरै महìवपूर्ण अर्थ राख्ने तिलोत्तमा व्यापार सङ्घका अध्यक्ष झविन्द्रप्रसाद कँडेलले बताउनुभयो । रूपन्देहीले दाना उद्योगमा पनि आफूलाई अब्बल बनाउँदै लगेको छ । रूपन्देहीको अन्नपूर्ण एग्रो, दाउन्ने फिड्स र श्रीनगर एग्रो फार्म अत्याधुनिक र ठूलो क्षमताका दाना उद्योग हुन् ।

 
विकासका भौतिक पूर्वाधार धमाधम निर्माण भई राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्न थालेको भैरहवामा ऊर्जाको भने चर्को समस्या छ । विशेष आर्थिक क्षेत्र (सेज) मा २४ घण्टा विद्युत् उपलब्ध गराउन धकधईमा सब–स्टेसन बनाउने योजना अघि सारिए पनि सम्पन्न हुने समय यकिन छैन । न्यूनतम एक सय मेगावाट विद्युत् आवश्यक भए पनि ३०÷४० मेगावाट मात्रै उपलब्ध रहेको नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रले जनाएको छ । -गोरखापत्र

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।